+
+

विद्यालयको भौतिक संरचना निर्माणको लागि अवसर बन्यो भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते ९:३०
मकवानपुरको बकैया गाउँपालिका कालाभैरव आधारभूत विद्यालय पुनर्निमाण हुनु अघि र पुनर्निर्माण भएपछि । सौजन्य : प्रधानाध्यापक चेतबहादुर घले

१५ वैशाख, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–१२ धेत्रे दमारस्थित ढुंगा माटोले जस्ताको छाना भएको कालाभैरव आधारभूत विद्यालयको एक पाटो ०७२ सालको भूकम्पले भत्कायो ।

२०५३ सालमा प्लान नेपालले सिकाइ केन्द्र बनाएको भवन ०६१ सालमा सरकारको स्वामित्वमा आएपछि एक जना शिक्षक दरबन्दी दिएर पढाइ हुँदै आएको थियो । १ देखि ३ कक्षासम्म पढाइ हुने चार कोठे विद्यालयको भवन भूकम्प अघि नै जीर्ण थियो । भूकम्पको कारण एउटा कक्षा काम नलाग्ने गरी भत्किएपछि त्यो कोठा बाहेकका कक्षामा राखेर बालबालिकालाई पढाइन्थ्यो । सामान्य पानी पर्दा पनि चुहिने छाना, शौचालय झन् जीर्ण थियो ।

प्रधानाध्यापक चेतबहादुर घलेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भवन निर्माणका लागि फोटो सहित आवेदन दिए पनि कालाभैरव विद्यालय छनोटमा परेन । जोखिमपूर्ण भवनमा बालबालिका पढिरहेको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि ‘एस्थर बेञ्जामिन’ भन्ने गैरसरकारी संस्थाले दुई कोठे पक्की भवन, अपांगमैत्री शौचालय, बालमैत्री खानेपानीको धारा निर्माण गरिदिएको छ ।

प्रधानाध्यापक घलेले भूकम्प नआएको भए अझै कति वर्ष त्यस्तै जीर्ण भवनमा बालबालिका पढ्न बाध्य हुनुपर्ने बताउँछन् । भन्छन्, ‘भूकम्पले भत्काएको कारण त्यहि भत्किएको कक्षा देखाएर सहयोग पाइयो, नभए यस्तो सुविधासम्पन्न भवन बन्न कति वर्ष लाग्थ्यो थाहा छैन ।’

कक्षा तीनसम्म रहेको विद्यालयमा नयाँ भवनको कक्षा अभाव भए पनि सुरक्षित पढ्न पाउने भएकैले ढुक्क भएको प्रधानाध्यापक घले बताउँछन् । उनी भन्छन्, ‘दुई कोठालाई चार कोठा बनाएर भएपनि व्यवस्थापन गर्छौं मुख्य कुरा बालबालिका सुरक्षित हुने भए । शौचालय, बालमैत्री धारा भएकाले सुविधा सम्पन्न भएको मान्नुपर्छ ।’

बालबालिका बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाँडा, अंजिगरेलगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन् । विद्यालय पुग्न बीचमा सिमात खोला तर्नुपर्छ । खोलामा झोलुंगे पुल निर्माणको लागि पनि एउटा गैरसरकारी संस्थाले बनाइदिने भएको छ । तर, झोलुंगे भने आगामी असोजमा मात्रै बन्ने भएकाले त्यसअघिसम्म यो वर्ष जोखिमपूर्ण हुनेछ ।

शिक्षा तथा समन्वय इकाइ, सिन्धुपाल्चोकका प्रमुख कृष्ण प्रसाद सुवेदी विद्यालयको भौतिक संरचना निर्माणमा भूकम्पपछि सिन्धुपाल्चोकले अवसरको रुपमा लिएको बताउँछन् ।

भूकम्पले विद्यालय भवन भत्काएपछि विद्यार्थीहरु अस्थायी संरचनामा पढ्न बाध्य भएका थिए ।

सुविधा सम्पन्न विद्यालय भवनले विद्यार्थी तथा अभिभावक आकर्षित गर्न, नियमित हुनको लागि एक हदसम्म सहयोग पुग्ने उनको बुझाइ छ । उनी भन्छन् ‘विद्यालयको नयाँ संरचनासँगै आइसिटी ल्याब, लाइब्रेरी, कम्प्युटर स्वच्छ खानेपानी, सफा शौचालयसँगै सेनिटरी प्याडको सुविधा, साना कक्षाका बालबालिकालाई दिवा खाजा लगायतको सुविधाले अभिभावक त आकर्षित हुन्छन् नै विद्यार्थी पनि आकर्षित र नियमित भएको र पढाइमा समेत उनीहरुको रुचि बढेको महसुस गरिरहेका छौं ।’ अब शैक्षिक गुणस्तरका लागि स्थानीय तह, विद्यालय तथा शिक्षकले सिकाई गुणस्तर सुधारमा केन्द्रित हुने हो भने अबका केही वर्षमा नै नतिजामा धेरै सुधार महसुस गर्न सकिने उनको तर्क छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको क्षतिग्रस्त हुने विद्यालयहरु मध्ये सेलाङ मावि एक हो । २०१८ सालमा प्रावि स्थापना भएको विद्यालय २०६५ सालबाट मावि तह सञ्चालन गरेको थियो । २०४५ सालमा बनेको टीएसली संरचना र कच्ची भवनमा सञ्चालित हुँदै आएको थियो । कमजोर संरचना, अपर्याप्त शौचालय भएको विद्यालय २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुर्याएपछि नेपाल सरकार मार्फत एडीबी नयाँ भवन बनाइदिएको छ । जसमा बालमैत्री, अपांगमैत्री शौचालय, खानेपानी लगायतको सुविधा रहेको छ ।

भूकम्प नगएको अथवा क्षति नपुगेको भए अहिलेको जस्तो सुविधासम्पन्न भवन बनाउन सक्ने अवस्था नहुने प्रधानाध्यापक सिरोज सिलवाल बताउँछन् । उनी भन्छन् ‘भूकम्प नआएको अथवा यस्तो क्षति नपुगेको भए अहिले जस्तो सुविधासम्पन्न भवन बनाउने हाम्रो पहुँच पुग्दैन थियो ।’ आठ करोड ५३ लाख बराबरको लगानीमा निर्माण भएको विद्यालयको १२ वटा कक्षा कोठा सहित पुस्तकालय, कम्प्युटर ल्याब गरेर १८ कोठे सुविधासम्पन्न भवन छ ।

अर्को यही गाउँपालिकाको रत्नराज्य मावि चनौटेको भवन भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको थियो । ४५ सालको भूकम्पछि बनेको कच्ची ट्रस्टको भवन जीर्ण भइसकेको थियो । यो विद्यालयको भवन भने जी टु जी अन्र्तगत चीन सरकारको सहयोगमा निर्माण गर्ने योजना भूकम्प अघिदेखि नै बनिरहेको थियो । तर कहिले भन्ने यकिन थिएन ।

भूकम्पको कारण पूर्णरुपमा क्षति पुगेपछि लगत्तै निर्माण भएको प्रधानाध्यापक टिका पौडेल बताउँछन् । उनी भन्छन् ‘यो हाम्रो विद्यालय चाँहि भूकम्प नगएको भएपनि बन्थ्यो तर यत्ति चाँडै चाहिँ अवश्य पनि बन्ने थिएन ।’ भूकम्पका कारण विद्यालयको भौतिक निर्माणमा कायापलट भएको बताउँछन् उनी । सिन्धुपाल्चोक जिल्लामा जीर्ण भौतिक संरचना भएको विद्यालय सम्भवत नभएको उनको बुझाइ छ ।

चीन सरकारको सहयोगमा बनेको रत्नराज्य मावि, चनौटेको भवन ।

रत्नराज्य माविको भवन चाइना सरकारको करिब एक अर्ब बराबरको सहयोगमा ६ सय विद्यार्थी क्षमता बराबरको आवासीय सुविधासम्पन्न भवन बनेको छ । नेपालका सामुदायिक विद्यालय मध्येमा अत्याधुनिक सुविधासम्पन्न भएको विद्यालय हो । अडिटोरियम हल, क्यान्टिन, फुटसल, लगायत खेलकुदका लागि आवश्यक सुविधाहरु रहेका छन् । अहिले नेपालका विभिन्न जिल्लाका दुई सय विद्यार्थी आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् भने बाँकी साढे दुई सय घरबाट आउने विद्यार्थी नवनिर्मित सुविधा सम्पन्न भवनमा अध्ययनरत रहेका छन् ।

ग्रामीण क्षेत्रको विद्यालय भएको कारण आकर्षक, सुविधासम्पन्न भवन, बालमैत्री, अपांगमैत्री भवन हुँदा पनि क्षमता अनुसारको विद्यार्थी नभएको प्रधानाध्यापक पौडेल बताउँछन् ।

२०७२ साल वैशाखमा आएको भूकम्पले सबैभन्दा प्रभावित जिल्लाहरु मध्ये सिन्धुपाल्चोक र गोरखा जिल्ला हुन् । उक्त भूकम्प विद्यालय संरचनाको लागि विपत्तिको रुपमा मात्र नभई अवसरको रुपमा पनि आएको देखिन्छ ।

सिन्धुपाल्चोकका ५४७ जम्मा विद्यालयहरु मध्ये भूकम्पको कारण ५२८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए । ती क्षतिग्रस्त मध्ये ९८ प्रतिशत विद्यालयको सुविधासम्पन्न भवन निर्माण भइसकेका शिक्षा समन्वय इकाइ प्रमुख कृष्ण प्रसाद सुवेदी बताउँछन् । उनको भनाइ अनुसार दुई प्रतिशत विद्यालयमा न्यून विद्यार्थी संख्या र भवन निर्माणको लागि आफ्नो जग्गा नभएका विद्यालयका भवनहरु निर्माण हुन सकेको छैन ।

गोरखा जिल्लाको पनि अधिकांश क्षतिग्रस्त विद्यालय भवनहरुको संरचना पुनर्निर्माण भइसकेको शिक्षा तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्य बताउँछन् । ५१५ क्षतिग्रस्त विद्यालयहरु मध्ये कतिपय विद्यार्थी नभएको कारण मर्ज गरिएको र पुनर्निर्माण तथा प्रवलीकरण गर्नुपर्ने ४४६ वटा विद्यालय मध्ये ३४२ वटाको पुनर्निर्माण भइसकेको छ । ६ वटा विद्यालय बुढीगण्डकी डुबान क्षेत्रका र अर्को दुई वटा बन्न बाँकी रहेका छन् भने १० वटाको प्रवलीकरण भइरहेको प्रमुख आचार्यले बताए ।

अधिकांश विद्यालयको भवन कच्ची तथा जीर्ण भवनहरु भूकम्पको कारण क्षतिग्रस्त बनेका र ती विद्यालयको भवन अहिले सुविधासम्पन्न विपत प्रतिरोधी भवन बनेका छन् । आचार्य भन्छन्, ‘भूकम्प नआएको भए अहिले जसरी निर्माण भयो त्यसरी हुँदैन थियो । विद्यालयको भौतिक संरचना निर्माणको लागि त भूकम्प अवसर नै हो ।’

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को योजना शाखाकी शाखा अधिकृत यमुना पोख्रेल भूकम्प नआएको भए यसरी वृहत रुपमा विद्यालयको भौतिक संरचना पुनर्निर्माण तथा प्रवलीकरण हुने सम्भव नै नरहेको बताउँछिन् । भन्छिन् ‘कुनै एउटा जिल्लाको अथवा गाउँपालिकाको कुनै बन्थ्यो होला अथवा पहलमा विभिन्न दातृनिकाय संस्थाहरुको सहयोगमा कतिपय बन्थ्यो होला तर यसरी म्यासिभ रुपमा बन्ने त सम्भावना थिएन नि ।’ शैक्षिक गुणस्तरका विभिन्न मापदण्डहरु मध्ये एक भौतिक पूर्वाधार निर्माण पुरा भएका विद्यालयहरुमा अब सिकाइ गुणस्तर सुधारका लागि केन्द्रित हुन सहज हुने र आवश्यक रहेको उनको बुझाइ छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)को तथ्यांक अनुसार ३२ जिल्लाको करिब ९ हजार क्षतिग्रस्त विद्यालयहरु मध्ये विद्यालय व्यवस्थापन समिति मार्फत ५ हजार ९५५ विद्यालयको, निर्माण व्यवसायी मार्फत ४४८ विद्यालयको र गैरसरकारी संस्था मार्फत ७८७ विद्यालयको गरी ७ हजार १९० विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?