+
+

‘५०० वर्षदेखि ठूलो भूकम्प नगएकाले पश्चिम नेपाल बढी जोखिममा छ’

पश्चिम नेपालको ५–६ पुस्ताले भूकम्पबाट क्षति व्यहोर्नु परेको छैन । सबै शुभ रहे अझै केही पुस्ताले भोग्नु नपर्ला पनि । तर, भन्न सकिन्न । एउटा न एउटा पुस्ताले त भूकम्प भोग्नैपर्छ ।

डा. लोकविजय अधिकारी, वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी, वरिष्ठ भूकम्पविद्
२०८० वैशाख १५ गते २०:०४

नेपाल नै भूकम्पीय जोखिमको हिसाबले संवेदनशील क्षेत्रमा पर्छ । हामी कहिले भूकम्प जान्छ र कति क्षति गर्छ भन्ने कुरेर बसेको जस्तो मात्रै भएका छौं । कुनै ठाउँमा अलि छिटो–छिटो आएको, कुनै ठाउँमा लामो समयसम्म भूकम्प आएको छैन ।

जहाँ छिटो–छिटो भूकम्प जान्छ, त्यहाँ अलि सानो भूकम्प आउँछ । जहाँ अलि ढिलो भूकम्प आउँछ, त्यहाँ अलि ठूलै जाने सम्भावना हुन्छ । ठूलो भूकम्प आएर क्षति पनि ठूलै गर्छ ।

मध्य नेपालमा डेढ–दुई सय वर्षको हाराहारीमा ठूला भूकम्पहरू गएको देखिन्छ । १९९० सालमा भूकम्प गएपछि यो क्षेत्रमा २०७२ सालमा पनि भूकम्प गएको छ । तर, पूर्वी नेपालमा हेर्ने हो भने सन् १२५५ मा ठूलो भूकम्प गएको थियो । जसमा राजा अभय मल्लको मृत्यु भएको मानिन्छ ।

यसैगरी १९९० सालको भूकम्पले पूर्वी नेपाल पनि प्रभावित भएको थियो । नेपाल विहार भूकम्प भनिने सो भूकम्पमा १६ हजार मान्छे मरेको अनुमान छ । तीमध्ये ८ हजारको नेपाल र ८ हजारको विहारमा मृत्यु भएको थियो । ४ हजार व्यक्तिले काठमाडौैं उपत्यकाभित्रै ज्यान गुमाएका थिए भने बाँकी मृतक पूर्वका थिए ।

भारतको सिक्किमतिरको भागमा भने सन् ११०० पछि भूकम्प गएको छैन भन्ने छ । यदि त्यहाँ महाभूकम्प गयो भने त पूर्वी नेपालमा पनि क्षति गरिहाल्छ । अब पश्चिमतिर गयौं भने १५०५ मा पश्चिम नेपालमा ठूलो भूकम्प गएको देखिन्छ । तर गोरखाबाट पश्चिम भारतको देहरादुनसम्मकै भागमा त्यसयता ठूलो भूकम्प गएको छैन ।

यस क्षेत्रमा महाभूकम्प नगएको ५०० वर्ष भइसक्यो । पूर्वी नेपाल १९९० सालको भूकम्पले प्रभावित भएकाले त्यहाँ ९० वर्ष मात्रै भयो भने पश्चिम नेपालमा त यस्तो अवधि ५०० वर्ष पुग्यो । तर, मध्य नेपालमा त २०७२ सालमा पनि ठूलै भूकम्प आइसकेको छ ।

पश्चिम नेपालको भूगर्भमा ५०० वर्षको शक्ति बाँकी छ । भूगर्भमा युरेसियन प्लेटको मुनि रहेको इन्डियन प्लेट नेपालतर्फको भागमा प्रति वर्ष २ सेन्टिमिटर माथि सर्छ, हिमालयमा सीधा र सजिलै छिर्न नपाएपछि खुम्चिन्छ । र, धेरै भएपछि त्यो चट्टान चिप्लिन्छ । त्यो शक्ति पश्चिम नेपालमा जम्मा भएको पाँच शताब्दी भन्दा बढी भयो । यसैकारण जोखिमका हिसाबले पश्चिम नेपाल बढी संवेदनशील हुने नै भयो । त्यस्तो शक्ति एकैपटकको भूकम्पमा गयो भने त त्यसले धेरै नै क्षति गर्छ ।

पश्चिम नेपालको ५–६ पुस्ताले भूकम्पबाट क्षति व्यहोर्नु परेको छैन । सबै शुभ रहे अझै केही पुस्ताले भोग्नु नपर्ला पनि । तर, भन्न सकिन्न । एउटा न एउटा पुस्ताले त भूकम्प भोग्नैपर्छ ।

गोरखा भूकम्प केही सानो हो । त्यो भूकम्पले चुरेदेखि हिमालयसम्मको सबै शक्ति गएको छैन । काठमाडौंभन्दा मुनिको भागमा रहेको शक्ति बाँकी नै छ । यदि ८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प गयो भने अहिले काठमाडौंमुनि आइपुगेको शक्ति चुरे पुग्छ । १९९० सालमा भारतमा पनि धेरै मान्छेको मृत्यु हुनुको कारण त्यही थियो । सन् १५०५ मा पश्चिम नेपालमा गएको भूकम्पमा पनि यस्तो चट्टान चिप्लिएर चुरेसम्म पुगेको थियो । त्यस्तो भूकम्प गयो भने तराई र चुरे पनि बढी जोखिम भएको ठाउँ हो । चुरे भनेको अफगानिस्तानदेखि म्यान्मारसम्मकै पहाडलाई बुझ्नुपर्छ ।

खानी तथा भूगर्भ विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले त भूकम्प सम्बन्धी अध्ययन–अनुसन्धान गर्ने, तथ्य–तथ्यांकहरू संकलन गर्ने, त्यसका आधारमा जोखिमको मूल्यांकन गर्ने र त्यसलाई सेयर गरेर भूकम्पबाट हुनसक्ने जनधनको क्षति न्यून गर्न सघाउने काम नै गर्ने हो ।

विकसित मुलुकको उदाहरण हेर्ने हो भने यस्तो अध्ययन अनुसन्धानका आधारमा चालिने पूर्व तयारीको कदमले भूकम्पबाट मान्छेको ज्यान जोगाउन सकिन्छ । त्यस्ता देशले ठूलै भूकम्पमा पनि ठूलो क्षति व्यहोर्दैनन् ।

हर देशमा उस्तै खालका भूकम्पमा हुने क्षतिको विवरणमा ठूलो अन्तर हुनुको कारण नै पूर्वतयारी हो । उस्तै भूकम्पमा इरानले भोग्ने क्षति र जापानले सहने क्षतिमा ठूलो अन्तर हुनुको कारण भूकम्पपूर्वको तयारी नै हो । पूर्व तयारी सरकारले मात्रै हैन, जनस्तरबाट पनि हुनुपर्छ । तर, त्यसका लागि जोखिम, त्यसको न्यूनीकरणको उपायहरू सिकाउनुपर्छ ।

नेपालमा भूकम्पबारे सचेतनाका लागि शैक्षिक पाठ्यक्रममा कति विषय समेटिएका छन् ? यत्रो भूकम्पको जोखिम भएको ठाउँमा भूकम्पबाट बच्न अपनाउनुपर्ने पूर्व सावधानीबारे कतै सिकाइँदैन । वर्षको एक–दुई पटक भूकम्प दिवस लगायतको अवसर पारेर हुने चर्चा बाहेक केही भएको देखिन्न । बालबच्चालाई त्यही टाउको लुकाउन र जोगाउन सिकाउने बाहेक केही भएको देखिंदैन ।

१९९० सालको भूकम्पमा त्यत्रो क्षति भएकै हो । धेरैले चर्चा गरे पनि फेरि भूकम्प आउन सक्छ भनेर संरचना बनेको भए २०७२ सालमा यति धेरै जनधनको क्षति हुन्थ्यो होला त ?

सन् १९६० मा चिलीमा संसारकै सबैभन्दा ठूलो भूकम्प गएको थियो । तर, अहिले ८ रेक्टर स्केलको भूकम्प जाँदा ५ जना मान्छे पनि नमर्ने अवस्था बनाएका छन् । उनीहरूले भूकम्पबारे अध्ययन पनि गरे, त्यसै अनुसार संरचनाहरू बनाए । जोखिमको मूल्यांकन गरेर त्यसकै आधारमा योजना बनाएर काम गर्दा त भूकम्पबाट हुने क्षति न्यून गर्न सकिंदोरहेछ त !

भूकम्प आफैंले मान्छेको ज्यान लिने हैन । भूकम्प थेग्न नसक्ने संरचनाले मान्छेको ज्यान लिने हो भन्ने बुझ्न र बुझाउन सके मात्रै पनि राम्रो हुन्थ्यो । अहिले पनि नेपालमा भूकम्पबाट जोगिने कुरामा कसैको ध्यान पुगेको छैन । अहिले पनि कार्यान्वयनमा रहेको भवन निर्माण आचारसंहिताको पालना हुँदैन ।

अहिलेको अवस्था त हामीले भूकम्प नै कुरिरहेका हौं कि भन्ने जस्तो देखियो । हामीले हिजोका घटनाहरूबाट पाठ सिक्नुपर्ने हो । हामी सधंै भूकम्पीय जोखिममा छौं भन्ने सम्झेर काम गर्नुपर्ने हो, त्यो भएको छैन ।

हाम्रोमा कस्तो भूकम्प जाँदा कुन जमिन कसरी हल्लिन्छ भन्ने अध्ययन समेत हुन पाएको छैन । हामी त्यस्तो डाटा लिने कुरालाई पनि प्राथमिकता दिइरहेका छैनौं । जापान, अमेरिका जस्ता देशले गरेका अभ्यासबाट हामीले धेरै सिक्न सक्छौं ।

पश्चिम नेपालको कुरा गर्ने हो भने त्यहाँ सबैजसो ढुंगा र माटो जोडेर बनेका घर छन् । त्यस क्षेत्रमा भूकम्प आउँछ भन्ने सोचेर त अधिकांश संरचना बनेकै छैनन् । अब त्यस्ता भूकम्पीय जोखिममा रहेका संरचनाहरू प्रबलीकरण गर्न र पुनर्निर्माण गर्न ढिलाइ गर्न भएन । जोखिम थाहा भएपछि त त्यसलाई घटाउँदै जाने पो हो त !

पश्चिम नेपाल आर्थिक, सामाजिक दृष्टिकोणले कमजोर क्षेत्र हो । त्यसैले बलियो घर बनाउने भनेर मात्रै हुँदैन । यसमा अर्थ–व्यवस्थाको कुरा जोडिइहाल्छ । सरकारसँग स्रोत छ भने २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण अभियानलाई अनुभवका रूपमा ग्रहण गर्दै भूकम्प पूर्वको पुनर्निर्माण अभियान चलाउँदा पनि हुन्छ । त्यति गर्न सकिंदैन भने पनि कम्तीमा नयाँ बन्ने निजी तथा सार्वजनिक भवन तथा भौतिक संरचनाहरू भूकम्प प्रतिरोधी बन्ने ग्यारेन्टी गर्न सक्नुपर्छ ।

भूकम्पपछि मात्रै भत्किएका संरचना बनाउने हैन, भूकम्पअघि नै भूकम्प प्रतिरोधी संरचना निर्माणलाई अभियानकै रूपमा लैजाँदा देशको भलो हुन्छ । जनताको हित हुन्छ ।

(राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् अधिकारीसँग अनलाइनखबरका लागि रवीन्द्र घिमिरेले गरेको कुराकानीको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?