+
+
विचार :

विश्वासको संकटले रोकिरहेको समृद्धि सपना

सरकारले लागू गरेको वार्षिक आयोजना होस् वा दिगो विकासको आयोजना, उद्देश्य पूरा गर्न सम्बन्धित निकाय नै निराश देखिन्छन्। राष्ट्रिय गौरवका आयोजनाको प्रगति नगन्य छ। सरकारले देखेको सपनाहरूको कार्यान्वयनमा सरकार मातहतकै कार्यालयहरू विश्वस्त छैनन्, यसबाट कामकाज प्रभावित भएका छन्।

राजु शर्मा राजु शर्मा
२०८० वैशाख १७ गते १४:३३

इजरायली इतिहासकार तथा लेखक युभल नोहा हरारीका अनुसार मानव कथामा विश्वास गर्ने प्राणी हो। उनले आफ्नो पुस्तक ‘स्यापियन्स: अ ब्रिफ हिस्ट्री अफ म्यानकाइन्ड’ मा कसरी वस्तुनिष्ठ वास्तविकता नभएका धर्म, राष्ट्र, प्रणाली, पैसा आदि मानवीय परिकल्पनाबाट सृजित ‘कथाहरू’ ले मानव सभ्यतालाई डोर्‍याउन थाले भन्ने विषय उजागर गरेका छन्।

जब यी मानवीय कल्पनालाई सबैले विस्तारै विश्वास गर्दै जान थाले, तब यिनको भौतिक अस्तित्व नभए पनि वास्तविकतामा परिणत हुन थाले। जति धेरै जनाले र जति गहिरो विश्वास गर्न थाले, त्यो ‘कथा’को प्रभाव उत्तिकै पर्न थाल्यो।

यसरी कुनै एक कथा वा विचारले बाँधिएर धेरै मानिस एउटा साझा उद्देश्यको लागि काम गर्न सुरु गरेपछि मात्र मानव सभ्यताले फड्को मार्न सुरु गर्‍यो। विभिन्न सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक परिस्थितिले देशहरूको उत्पत्ति र विकास हुन थाले। जसलाई मूर्तरूप दिन धेरै जना लागिपरे।

यसरी समान विचारले जोडिएर लाखौं मानिसले आफ्नो जीवन सहज बनाउन रचित संरचना नै अहिले समाजका शक्तिशाली साधन भएका छन्। विभिन्न देशका सरकार र यस अन्तर्गतका विभिन्न संस्थाहरू, मुद्रा, नियम कानुन आदि यसका उदाहरण हुन्।

सरकारको स्थापना र संचालन मानव जातिले आफ्नो सुरक्षा र सुविधाको लागि बनाएको एक सफल संरचना हो। सरकारको सफलता यसले आत्मसात् गरेका र यो मातहत रहेका विभिन्न प्रणालीहरूमा निर्भर गर्दछ।

सरकारले प्रभावकारी काम गर्न मानिसहरूको उक्त प्रणालीमा विश्वास हुनु आवश्यक छ। सबैले आ-आफ्नो कर्तव्य निभाए मात्र यो प्रणाली चल्दछ। यसको लागि सबैमा एकअर्काले आफ्नो काम पूरा गर्छन् भन्ने विश्वास आवश्यक छ।

सरकार मातहतका धेरै मान्छेले म एक्लैले गरेर प्रणाली चल्दैन भन्न सुरु गरे भने प्रणालीले साँच्चिकै काम गर्न सक्दैन। अहिले नेपाल सरकार यस्तै अवस्थामा रहेको छ। नेपालमा पनि समयक्रमसँगै विभिन्न संरचना विकसित हुँदै गए। हजारौं मान्छेको विश्वास र जिम्मेवारी बहनबाट यो प्रणाली सृजना भएको हो। तर अरु विकसित देशहरूमा जस्तो सुव्यवस्थित र बलियो प्रणालीहरू नेपालमा विकास हुन सकेनन्।

धेरै राजनैतिक उतारचढावपछि नेपाल अहिलेको अवस्थामा रहेको छ। लोकतन्त्र प्राप्ति र संविधान निर्माण सम्पन्न भएपछि जुन विकासको गति लिने अपेक्षा गरिएको थियो त्यो पूरा हुनसकेका छैनन्। यसको लागि जिम्मेवार स्थानमा बसेका तर केही जिम्मेवारी नलिएका व्यक्ति दोषी छन्।

सीमित व्यक्तिले महत्त्वपूर्ण पदमा बसेर आफ्नो कर्तव्य पूरा नगर्दा सरकारले जनताको आवश्यकता र इच्छा पूरा गर्न सकिरहेको छैन। जनतालाई भन्दा सीमित समूह पोस्ने बाटोमा सरकार लागेपछि अहिलेका प्रणालीहरूमा विश्वसनीयताको अभाव खट्किएको छ।

सरकारमा आपसी समन्वय नहुँदा सरकारी निकायहरूबीच नै विवाद सुरु भएका छन्। मन्त्रालयका कुरा पालिकाले पालना नगर्ने, पालिकाले आफ्नो अधिकार क्षेत्र मिचेर काम गर्न नदिएको जस्ता आरोप–प्रत्यारोप बेला–बेलामा सुनिन्छ।

भर्खरै केन्द्रले महानगरलाई विभिन्न कुरामा असहयोग गरेको भन्दै बाघदरबार र सिंहदरबार आमनेसामने भएको खबर त सर्वविदितै छ। यो सब प्रष्ट जिम्मेवारी बाँडफाँड र आफ्नो जिम्मेवारी पूरा नगर्नाले भएको हो।

सरकारले आफ्ना सम्पूर्ण कार्यालयहरूलाई एकढिक्का बनाएर अगाडि बढ्न सकेको छैन र त्यसैले उसले गरेको निर्णयको अपनत्व सरकारी निकायले नै लिन सकिरहेका छैनन्। सरकारले लागू गरेको वार्षिक आयोजना होस् वा दिगो विकासको आयोजना, उद्देश्य पूरा गर्न सम्बन्धित निकाय नै निराश देखिन्छन्।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति नगन्य छ। सरकारले देखेको सपनाहरूको कार्यान्वयनमा सरकार मातहतकै कार्यालयहरू विश्वस्त छैनन्, यसबाट कामकाज प्रभावित भएका छन्।

नेपालमा विश्वासिलो प्रणाली विकासका लागि धेरै कुरा गर्नुपर्ने छन्। विशेषगरी सरकारी कार्यप्रणालीमा व्यापक सुधारको आवश्यकता छ। सबै कर्मचारीले जिम्मेवारीबोध गरी आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ।

यसको फलस्वरूप आम जनतामा पनि प्रणालीप्रतिको भरोसा कमजोर हुँदै गइरहेको छ। जसले जनतालाई ‘वोन मेन आर्मी’ बनाएको छ। सबै क्षेत्रको जिम्मेवारी आफैंले लिनुपर्ने बनाएको छ। अलिकति ख्याल नगरेको अवस्थामा जेसुकैमा पनि ठगिने अवस्था छ। यहाँ एक आम साधारण व्यक्ति आफैंले आफ्नो स्वास्थ्य, शिक्षा, किनमेल सबैमा आफैं जिम्मेवार हुनुपरेको छ।

दिनहुँ अत्यावश्यक चिज जस्तै खानेकुराको गुणस्तर, खानेपानी, दैनिक हुने किनमेल सबैमा आफैं सजग हुनुपर्ने अवस्था छ।

तरकारीमा विषादी मिसिएको छ कि, अस्पतालमा लापरबाही हुन्छ कि वा पेट्रोल पम्पमा ठगिने पो हो कि भन्ने जस्तो हेर्दा सामान्य देखिने कुराहरूमा अविश्वास सबैतिर देख्न सकिन्छ। यसले नेपाली जीवनलाई थप कठिन बनाएको छ। यहाँ प्रत्येक समस्या व्यक्तिगत तवरबाट झेल्नुपरेको छ।

कुनै व्यक्ति चाहेर पनि सबै कुरामा विज्ञ बन्न सक्दैन। त्यसैको परिपूर्ति गर्नलाई अहिलेका प्रणालीहरू विकसित गरिएका हुन्। उसले केही जिम्मेवारी पूरा गर्न सक्छ र बाँकी अरुमा ऊ प्रणालीमा भर पर्नुपर्ने हुन्छ।

जब उसको अरू आवश्यकता पूरा हुन्छ र ऊ एक मात्रै काममा आफ्नो पूर्ण क्षमताका साथ लागिपर्न सक्छ। उसले समाजलाई योगदान गर्न सक्दछ। जब सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न थाल्छ, तब मात्र जनताले देशप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम हुन्छन्।

जनताको जीवन सहज हुनको लागि सरकार र प्रणालीमा विश्वास हुन आवश्यक छ। आफूले कुनै कामको जिम्मेवारी लिएर अरु कुराको लागि प्रणालीमा भर पर्ने लाभ सबै जनताले अनुभव गर्न पाउनुपर्छ। र, आफ्नो काम उत्कृष्ट रूपमा पस्केर समाज र यसले स्थापना गरेको प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्छ।

यदि कोही शिक्षक छ भने उसले आफ्नो सम्पूर्ण ध्यान शिक्षणमा लगाउने वातावरण पाउनुपर्छ, गायक छ भने आफ्नो खुबी सबै गायनमा देखाउन चाहिने आधारभूत सुविधा उसले पाउनुपर्छ अनि मात्र देशमा उत्कृष्ट प्रतिभाहरू जन्मिन्छन्।

देश नेता मात्रैले कहिल्यै पनि बनाउँदैनन्। देश त आफ्नो जिम्मेवारी पूरा गर्ने मिहिनेती शिक्षक, डाक्टर, खरिदार, लेखक, सूचीकार, कुचीकार आदिले बनाउँछन्। यसरी जब देशमा विद्यमान प्रणाली बलियो भई जनताको आधारभूत आवश्यकता पूरा गर्न थाल्छन् तब मात्र देश विकसित हुन्छ।

त्यसैले विभिन्न देशको अवस्था र ती अवस्थाको कारण सम्बन्धी अध्ययन गरिएको प्रसिद्ध पुस्तक ‘ह्वाइ नेसन्स फेल’ मा देशमा जनताको कल्याणको लागि काम गर्ने शक्तिशाली ‘इन्स्टिच्युसन’ हुनु नै विकासको मुख्य पूर्वशर्त भनिएको छ। यसको लागि कुशल राजनैतिक नेतृत्वको आवश्यकता पर्दछ।

जब सरकारी निकायका व्यक्तिहरू आफ्नो जिम्मेवारी सम्झेर काम गर्न सुरु गर्छन् तब जनताको पनि विश्वास बढ्न थाल्छ। उनीहरूले पनि सरकारको योजनामा साथ दिन थाल्छन् र ठूला भनिएका कामहरू पनि रफ्तारमा हुन सक्छन्।

सरकारले जिम्मेवारीपूर्वक काम गर्ने हो भने जनताले सरकारलाई कसरी प्रभावकारी रूपमा सहयोग गर्छन् भनेर केही अगाडिको नेदरल्याण्डको घटनालाई हेर्न सकिन्छ। रसिया-युक्रेन युद्धबाट उब्जेको परिस्थितिको कारण रसियन ग्याँसमा निर्भरता कम गर्न डच सरकारले खपत कम गर्ने विभिन्न नयाँ प्रावधानहरू जारी गरेको थियो र जनताको साथ खोजेको थियो। जनताले स्वतस्फूर्त ऊर्जा खपत कम गर्न आफ्नो उपभोग घटाए। यो सबै आफ्नो देशको प्रणालीमा भएको विश्वास र त्यो प्रणाली चलाउन आफूले दिनुपर्ने योगदानको जिम्मेवारीबोधले सम्भव भएको हो।

नेपालमा विश्वासिलो प्रणाली विकासका लागि धेरै कुरा गर्नुपर्ने छन्। विशेषगरी सरकारी कार्यप्रणालीमा व्यापक सुधारको आवश्यकता छ। सबै कर्मचारीले जिम्मेवारीबोध गरी आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ।

जनताको विश्वास लिनको लागि पहिले सरकार आफूले नै आफ्नो प्रणालीमा विश्वास गर्नुपर्छ। यसको लागि राजनैतिक दल र तिनका नेताले नेतृत्वदायी भूमिका खेल्नुपर्छ। हाम्रो माटो सुहाउँदो ‘नेपाली ड्रिम’ सृजना गरी त्यसमा सबैको विश्वास जगाउनुपर्छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तो नारालाई सारा नेपालीको साझा सपना बनाउनुपर्छ। यसको लागि माथिल्लो तहले आफ्नो जिम्मेवारी पूरा गरी तल्लो तहलाई दिशानिर्देश गर्नुपर्छ।

अहिलेको शिक्षामा पनि व्यापक रुपान्तरण आवश्यक छ। सबै नेपालीलाई बाँधेर एकीकृत उद्देश्यमा विश्वास गराउने शिक्षा अहिलेको आवश्यकता हो। हामीमा कामलाई सम्मान र जिम्मेवारी पूरा गर्ने संस्कृतिको विकास गर्न पनि जरुरी छ। सबैले साझा सपनामा विश्वास गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने नेपालले पनि यो नयाँ दशकमा विकासको नयाँ फड्को मार्न सक्छ।

(लेखक सिभिल इन्जिनियर हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?