
१८ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
झापा मेचीनगर क्षेत्रमा सडकहरूको बिहीबार निरीक्षण क्रममा उनले विकास निर्माणमा गरिएको प्रत्येक लगानीले उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका हुन् ।
‘राज्यले वर्षेनि विकासका लागि अर्बौंको लगानी गर्ने गरेको छ,’ मन्त्री दाहालले भने, ‘तर, त्यो गरिएको लगानी अनुसारको प्रतिफल प्राप्त भइरहेको छ कि छैन भनेर विश्लेषण गर्न पनि जरुरी छ ।’
सडक सञ्जाल पहुँचले यातायात सुविधामात्र पुग्ने नभई ग्रामीण उपज सहजै बजारसम्म पुग्ने र स्थानीयवासिन्दाको जीवनस्तरमा पनि सुधार हुने उनले विश्वास व्यक्त गरे ।
सरकारले ग्रामीण अर्थतन्त्र बलियो बनाउने, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने, उत्पादन बजारसम्म ल्याउन सघाउ पुर्याउने तथा ठूलो जनसंख्यालाई लाभ हुने योजनालाई प्राथमिकता दिने समेत उनले बताए ।
लामो समय अलपत्र तथा रुग्ण भएकाले हुन लागेका योजना पहिचान गरी समस्या समाधानतर्फ जोड दिँदै आएको उनको भनाइ छ । धेरै आयोजना थप्नुभन्दा थालिएका र अलपत्र भएका योजना पूरा गर्न जरुरी रहेको उनको भनाइ छ ।
त्यस क्रममा मन्त्री दाहालले सुकेनिन्दा खोलामा निर्माण अवरुद्ध भएको पुल निर्माण प्रक्रिया अघि बढाउन सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवलाई निर्देशन दिए ।
मन्त्रीको अनुगमन क्रममा मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मिना उप्रेती लगायत जनप्रतिनिधिले राधा स्वामी–सांगली टार सड़क निर्माण गर्न माग गरेका थिए ।
प्रतिक्रिया 4