+
+

माइतीघरमा महावीर

महावीर भन्छन्, ‘अनुसन्धान र नवप्रवर्तनले नै देश उँभो लाग्छ । यी काममा नयाँ पिंढीलाई लगाउने वातावरण बनाउनुपर्‍यो भनेर आन्दोलनमा बसेको हुँ ।’

सागर चन्द सागर चन्द
२०८० वैशाख १७ गते २०:४७

१७ वैशाख, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको राष्ट्रिय आविष्कार केन्द्र छाडेर महावीर पुन माइतीघरको सडकमा ओर्लिएका छन् ।

म्याग्दीका दुर्गम गाउँमा तारविहीन प्रविधिबाट इन्टरनेट पुर्‍याएर सन् २००७ मा ‘रोमन म्यागासेसे’ अवार्ड पाएका महावीर यतिखेर नयाँ पुस्ताका लागि भनेर सडकमा ओर्लिएको बताउँछन् । उनले आफ्नो आन्दोलनलाई नाम दिएका छन्— ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम ।’

शुक्रबारदेखि माइतीघरको सडकमा धर्ना कसेर बसेका महावीर भन्छन्, ‘अनुसन्धान र नवप्रवर्तनले नै देश उँभो लाग्छ । यी काममा नयाँ पिंढीलाई लगाउने वातावरण बनाउनुपर्‍यो भनेर आन्दोलनमा बसेको हुँ ।’

वैशाखे झरीबीच त्रिपालको ओत लागेर माइतीघरको सडकमा बसिरहेका महावीरले सरकारसँग  ४ बुँदे मााग राखेका छन् । उनको माग पत्रमा लेखिएको छ, ‘१. संघ र प्रदेश सरकारले आफ्नो बजेटको १ प्रतिशत अनुसन्धान र नवप्रवर्तन कोष बनाएर राख्नुपर्ने; २. अनुसन्धान, नवप्रवर्तन, आविष्कार प्रवर्द्धन तथा सञ्चालन एवं खरिद ऐन बनाउनुपर्ने; ३. नवप्रवर्तनलाई सरकारले नीति, नियम र कानुन बनाएर व्यावसायिक बनाउन सहजीकरण गर्नुपर्ने र ४. विश्वविद्यालयमा व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग बनाउनुपर्ने ।’

सादगी जीवनशैली अपनाउने महावीर आफूलाई अनौपचारिक मान्छे भन्न रुचाउँछन् । लामो समयदेखि अनौपचारिक रूपमै अनुसन्धान र आविष्कारमा सक्रिय महावीरले अब भने औपचारिक रूपमै अनुसन्धान तथा आविष्कारको काम हुनुपर्ने ठानेका छन् ।

माइतीघर ओर्लिनु अगाडि महावीरले सरोकारवाला सबै सरकारी निकायमा आफ्ना माग पुर्‍याएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई भेटेर आफ्ना माग सुनाए ।

तर कसैले पनि आफ्नो मागलाई गम्भीरतापूर्वक नसुनेको लागेपछि उनी कीर्तिपुरको आविष्कार केन्द्रबाट माइतीघर आइपुगे ।

झरीले भिजेको सडकमा पलेंटी कसेर बसेका महावीर मुलुकको विकासका लागि आफूले आविष्कार, नवप्रवर्तन र अनुसन्धानमा लगानी गर्न सरकारलाई आह्वान गरेको बताउँछन् । भन्छन्, ‘अध्ययन, अनुसन्धान, आविष्कारमा लगानी भएन भने देशको विकास हुँदैन ।’

उनको बुझाइमा युवाहरूलाई अनुसन्धान, आविष्कारमा लगाउन सरकारले आर्थिक, नीतिगत र कानुनी सहयोग गर्नुपर्छ । उच्च शिक्षा र वैदेशिक रोजगारीका नाममा पलायन भइरहेका युवाहरूलाई देशमै रोक्न सरकारले अनुसन्धान, आविष्कारमा लगानी गरेर उनीहरूलाई देशमै रोक्नुपर्छ । ‘संसारका जति पनि विकसित देश छन्, तिनले आफ्नो देशका युवाका लागि भनेर अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा लगानी गरेका छन्’ महावीर दृढ सुनिन्छन्, ‘यो क्षेत्रमा सरकारले लगानी नगर्दासम्म देशको विकास सम्भव छैन ।’

आविष्कार, अनुसन्धान र नवप्रवर्तनका लागि महावीरले सुरु गरेको धर्नामा सामाजिक अभियन्ता, पेशाकर्मीदेखि राजनीतिकर्मी समेत समर्थन जनाउन पुगिरहेका छन् । आफ्नो समर्थनका बीच महावीर भनिरहन्छन्, ‘२००७ सालदेखि २०७४ सालसम्म नेपालमा जति पनि सरकार बने तिनले अनुसन्धान, आविष्कारलाई प्राथमिकतामा राखेनन् । त्यसैले हामी पछाडि पर्‍यौं । अब यो विषयलाई प्राथमिकतामा राख्नुपर्‍यो भनेर जनस्तरबाटै सरकारलाई दबाव दिऊँ ।’

कानुन नभएको भन्दै नेपालमै उत्पादित यात्री मोटरसाइकल दर्ता हुनसकेको छैन । राइड शेयरिङ कम्पनीहरू पठाओ, टुटलले झमेला व्यहोरिरहेका छन् । नीति र नियमको हवाला दिंदै आविष्कार, अनुसन्धान र नवप्रवर्तनलाई हतोत्साही गर्दा प्रतिभावान शक्ति पलायन हुने तर्क गर्छन् महावीर । भन्छन्, ‘प्रतिभावान शक्ति पलायन भएपछि देशको कसरी विकास हुन्छ ?’

आविष्कार र अनुसन्धानको भरमा नीति–नियम बनाएका देशका प्रशस्तै उदाहरण छन् महावीरसँग । ‘सन् १८९५ मा इटालीका मार्कोनीले रेडियोको आविष्कार गर्दा रेडियोबारे कानुन नै बनेको थिएन । १८८६ मा जर्मनका कार्ल बेन्जले कार बनाएर गुडाउँदा कुनै कानुन बनेको थिएन’ महावीर प्रश्न गर्छन्, ‘कानुन छैन भन्दै त्यतिखेर आविष्कारलाई रोकेको भए आज संसार यहाँ हुन्थ्यो ?’

अनुसन्धान र आविष्कारका लागि सरकारले के गर्नुपर्छ भन्ने योजना पनि महावीरसँग छ ।

बुबाआमाले छोराछोरी हुर्काए जसरी आविष्कार, अनुसन्धान र नवप्रवर्तनमा लाग्ने प्रतिभालाई हुर्काउनुपर्ने उनको धारणा छ । ‘तपाईंहरूका छोराछोरी छन् होला, उनीहरूलाई भोक लाग्यो भने खुवाउनुहुन्छ । स्कुल पढाउनुहुन्छ, पढ्ने सहज वातावरण बनाइदिनुहुन्छ’ उनले भने, ‘अनुसन्धान आविष्कार गर्न पनि त्यसरी नै सहज वातावरण उपलब्ध गराउने हो । त्यसपछि त उनीहरूले काम गरिहाल्छन् !’

अनुसन्धान, आविष्कार र नवप्रवर्तन गर्न सरकारले कानुन, नीति, नियम र आर्थिक सहयोग गरेर वातावरण बनाइदिन सक्छ । आविष्कार र नवप्रवर्तनको क्षेत्रमा जीवन समर्पण गरेका पुनले २०७३ सालमा राष्ट्रिय आविष्कार केन्द्र सुरु गर्दा आर्थिक अभाव भएपछि आफूले पाएका पदक नै लिलामीमा राखेका थिए ।

रोमन म्यागासेसे पदक, दुईवटा राष्ट्रदीप पदक, इन्टरनेट हल अफ फेम पदक, होनर ग्य्राजुएट र डा. हर्क गुरुङ पर्वतीय पदक लिलामीमा राखे पनि अहिलेसम्म बिक्री भएका छैनन् ।

तर महावीरले सुरु गरेको आविष्कार केन्द्रले ३९ वटा परियोजनामा काम गरिसकेको छ । महावीरका अनुसार त्यतिखेर त आविष्कार केन्द्र खोल्नुपर्ने थियो । अहिले युवा प्रतिभालाई आविष्कार, अनुसन्धान र नवप्रवर्तनमा लगाउन प्रोत्साहित गर्नुछ ।

यसका लागि प्रदेश र संघ सरकारले बजेटको १ प्रतिशत छुट्याउनुपर्ने उनको माग छ । उत्पादित आविष्कारले बजारमा सहज प्रतिस्पर्धा गर्न सकुन् भनेरै कानुनको माग गरेका हुन् उनले । ‘अनुसन्धानमा कति आर्थिक स्रोत लाग्छ भन्ने यकिन हुँदैन’ महावीर भन्छन्, ‘सफल अनुसन्धानलाई थप निखारेर प्रोडक्ट वा सर्भिस निर्माणमा सघाउने, ट्रेड मार्क संरक्षण गर्न सघाउने, लगानीकर्ता भेटाइदिने र अनुसन्धानलाई व्यापारीकरण गरिदिन सरकारी सहयोग चाहिन्छ ।’

यस बाहेक हरेक विश्वविद्यालयमा विभाग बनाएर विद्यार्थीलाई अनुसन्धान र आविष्कारमा सक्रिय बनाउनुपर्ने पनि उनको माग छ ।

१५ वैशाखदेखि माइतीघरको सडकमा धर्ना कसिरहेका महावीरले आज आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास बैरागीसँग भेट गरे । ‘सरकारले पूरा गर्न सक्ने माग राखेको छु, सरकारले पूरै गर्न नसक्ने माग राख्ने म त्यस्तो बुद्धु छैन’ पुनले सरकारी टोलीसँगको कुराकानी सुनाए ।

आफूले राखेका मागमा तल–माथि नहुने भन्दै सरकारसँग अडान लिएको बताउँदै महावीरले भने, ‘सरकारसँग लिखित सम्झौता नहुँदासम्म हामी माइतीघर छाड्दैनौं ।’

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?