१७ वैशाख, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिएपछि मात्र मन्त्रिरिषद विस्तारको तयारी गरेका छन् । आफ्नै पार्टी नेपाली कांग्रेसबाट आकांक्षी धेरै भएकाले पाण्डेलाई मन्त्री नियुक्त गर्न सहज छैन ।
६० सदस्यीय प्रदेशसभामा २७ सदस्य रहेको कांग्रेसबाट ३ वा ४ जनामात्र मन्त्री हुनेछन् । तर आकांक्षी १० भन्दा धेरै छन् । ७ प्रदेशसभा सदस्य रहेको नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय पाउनुपर्ने अडान छाडेको छैन ।
९ वैशाखमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्रीबाट पदमुक्त भएपछि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आफू नै मुख्यमन्त्री हुनुपर्ने अडान राखेका थिए । तर सत्ता गठबन्धनको शीर्ष नेतृत्वको निर्देशनपछि चुमान पछि हटे र पाण्डे नै मुख्यमन्त्री भए । अहिले माओवादी केन्द्रले मन्त्रीको संख्यामा अडान राख्दा पाण्डे फेरि केन्द्रकै मुख ताकेर बस्नुपर्ने अवस्थामा छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद विस्तार नगर्ने योजना बनाएको उनीनिकट नेताहरु बताउँछन् ।
पाण्डेले १५ वैशाखमा कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादी केन्द्रकी सुशीला शिम्खडालाई मन्त्री बनाएका छन्, तर मन्त्रालय तोकेका छैनन् । यसअघिको सरकारमा माओवादीले भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिएको थियो । मुख्यमन्त्री पाण्डेले अहिले पनि यही दुई मन्त्रालय माओवादीलाई दिने तयारी गरेको स्रोतको भनाइ छ ।
यसअघिकै सरकारमा पर्यटन मन्त्री बनेका म्याग्दीका रेशमबहादुर जुग्जाली दोहोरिने पक्काजस्तै छ । तर विना विभागीय मन्त्री सुशीला सिम्खडाले भने आफ्नो दाबी अर्थ मन्त्रालयमा रहेको बताएकी छन् ।
कांग्रेसभित्रबाट पाण्डेलाई वरिष्ठता, अनुभव, भूगोल र विचार समूहसमेत मिलाउनुपर्ने बाध्यता छ । यसअघिको सरकारमा कानुन मन्त्री बनेका देउवा समूहका नेता विन्दुकुमार थापा यसपटक पनि मन्त्रीको आकांक्षी छन् ।
तर, थापालाई रोक्न कांग्रेसकै कतिपय सांसदहरु लागेका छन् । थापा वा लमजुङका टकराज गुरुङमध्ये एक जना मन्त्री बनाउने सोचमा मुख्यमन्त्री पाण्डे रहेको उनीनिकट प्रदेशसभा सदस्य बताउँछन् । थापाले प्रदेशसभामा दोस्रो पटक चुनाव जितेको र अनुभवीसमेत भएकाले मन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन् ।
शेखर कोइराला–गगन थापा समूहबाट नवलपुरका महेन्द्रध्वज जिसी मन्त्री बन्ने सम्भावना रहेको मुख्यमन्त्री निकट स्रोतको भनाइ छ । विगतमा गगन थापाको टिममा काम गरेका र हाल बागलुङबाट प्रदेशसभामा निर्वाचित डिल्लीराम सुवेदीको पनि मन्त्री हुने सम्भावना उत्तिकै छ ।
यसअघि नै संघीय सरकारको राज्यमन्त्रीसमेत भइसकेकी देउवा समूहकै बागलुङकी चम्पादेवी खड्काको पनि मन्त्री बन्ने चर्चा छ । शेखर–गगन समूहकै जीत शेरचन पनि मन्त्रीका लागि कसरत गरिरहेका छन् । भूगोल र जातीय क्लस्टर मिलाउँदा पर्वतकी रेखा गुरुङलाई पनि मन्त्री बनाउनुपर्ने एक प्रदेशसभा सदस्य बताउँछन् ।
एकीकृत समाजवादीको तर्फबाट राजीव गुरुङ (दीपक मनाङे)ले यसअघि नै सम्हालेको खेलकुदसमेत समेटिएको सामाजिक विकास मन्त्रीमा दाबी गरेका छन् । तर मुख्यमन्त्री पाण्डे सकेसम्म उनलाई सरकारमा नलैजाने सोचमा छन् ।
मुख्यमन्त्री पाण्डेले अबको हप्ता दिनभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । बजेटको तयारीसमेत गर्नुपर्ने भएकाले २१ वैशाखमा विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने र बजेट तयारीमा लाग्ने मुख्यमन्त्री पाण्डेको योजना छ ।
मुख्यमन्त्री पाण्डेले साविकका गण्डकी र धौलागिरी अञ्चलको प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद बनाउने बताएका छन् । प्रदेशको ठूलो दल भए पनि संख्याका हिसाबले एकल सरकार बनाउन ४ सिट नपुगेकाले गठबन्धनबाट समर्थन गर्ने दलको पनि महत्व उत्तिकै हुने पाण्डेको भनाइ छ । साना साना विषयमा विचार नपु¥याउँदा अर्को दुर्घटनामा नजाओस् भन्नेमा आफू सचेत रहेको पाण्डेले बताए ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेस र माओवादीको जोड्दा सिट संख्या ३४ पुग्छ । जुन प्रदेशसभाको बहुमत हो । दीपक मनाङे पनि यही गठबन्धनमा थपिएका छन् । २२ सदस्य रहेको एमाले र २ सदस्य रहेको राप्रपा प्रतिपक्षमा रहने छ ।
प्रतिक्रिया 4