+
+

ममाथिको आक्रमणमा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १८:२२

१७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमणको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यको संलग्नता रहेको आरोप लगाएका छन् ।

पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लामा आफूमाथि आक्रमण प्रयासका घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको पनि आरोप लगाए ।

उनले भने,  ‘हिजो, अस्ति हामी तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा हामीले कार्यक्रम गरेका थियौं । तपाईहरुले अलिअलि सुन्नु पनि भएको होला । कार्यक्रममा जाँदै गर्दाखरी बीचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरु, अराजनीतिक व्यक्तिहरुले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरु गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत् देखिएको छ।’  सत्तामा हुने पार्टीका कार्यकर्ताहरु पनि अर्काको नाममा ढुंगा हान्न गएका ओलीले बताए ।

ओलीले हरेक ठाउँमा एउटै समूहका २० जनाजति मानिस आफूमाथि आक्रमण प्रयासमा आएको बताए । सरकारले मुखले जे भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै उनले आपत्ति जनाए ।

आफूहरुमाथि गाली बेइज्जती, अश्लिल शब्दको वर्षा गर्दा पनि नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको ओलीले बताए ।

‘हाम्राविरुद्ध अश्लिल, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरु यिनका मुखबाट भएको छ । त्यो म आफैंले देखेर, भोगेर आएको छु । हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहिँ ढुंगा हान्ने, कहिँ भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरुले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उदण्डता र सरकार मुकदर्शक’ उनले भने ।

ओलीले फटाहा, मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी समेत गरे । ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ, स्वार्थी फटाहाले कि मुर्खले मान्छ’ ओलीले भने, ‘…एकथरी अज्ञानी हुन्छन् । बिचरा केही पनि बुझदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?