+
+

८५ हजार तिर्न नसक्दा अस्पतालमै अलपत्र

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० वैशाख १८ गते १७:२६
विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका क्रममा इलामका मदनकुमार राई

१८ वैशाख, काठमाडौं । दुईपटकसम्म क्यान्सर जस्तो भयानक रोगले पिरोलेका श्रीमानले सफल उपचार पाउँदा श्रीमती कति खुसी होलिन् ? पक्कै पनि यो खुसीको कुनै सीमा हुँदैन । खुसीले मन र तन दुवै रमाउँछ, अनि कतिबेला अस्पतालबाट डिस्चार्ज गरेर घर लगेर मीठोमसिनो खुवाउँदै थप हेरचाह गरौं भन्ने हुन्छ ।

इलाम नगरपालिका-६ की सुजाता लिम्बूलाई पनि यस्तै खुसी मिल्यो । तर उनी यो खुसीमा रमाउन नपाउँदै अर्को दुःखले पिरोल्यो उनलाई । कारण, अस्पतालले क्यान्सर पीडित आफ्ना श्रीमान मदनकुमार राईलाई निको बनाएर डिस्चार्ज त गरिदियो । अस्पतालमा तिर्नुपर्ने रकम तिर्न नसक्दा डिस्चार्ज दिएको चार दिन बितिसक्दा पनि श्रीमानलाई घर लिएर फर्किन पाएकी छैनन् ।

२०७७ सालको साउनमा मदनकुमारलाई लिंगको क्यान्सर पुष्टि भयो, त्यो पनि चौथो चरणमा पुगेपछि । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उनको उपचार सुरु भयो । क्यान्सर अन्तिम अवस्थामा पुगिसकेकाले उपचार लम्बिने भयो ।

मदनको उपचार किमोथेरापीबाट सुरु भयो । १२ वटा किमोथेरापी पछि २०७८ फागुन २३ गते उनको सफल शल्यक्रिया भयो । शल्यक्रियापछि पनि दुईवटा किमोथेरापी भयो । सफल शल्यक्रिया र १४ पटक किमोथेरापी र ४० पटकभन्दा धेरै पटक रेडिएसन थेरापी गरेपछि मदनलाई क्यान्सर निको भयो ।

सामान्य परिवारका सुजाता र मदन इलाममा सानो होटल चलाएर जीविकोपार्जन गरिरहेका  थिए । मदनलाई क्यान्सर देखिएपछि उनीहरुको जीवनको लय नै फेरियो । उपचारका लागि आफूसँग भएका जग्गा-जमिन बेचे, पुगेन । ऋणपान गरेर पनि नपुगेपछि बाध्य भएर सहयोग पनि उठाए । सबैको सहयोगमा मदनको सफल उपचार भयो ।

जति खर्च लागे पनि श्रीमानलाई निको भयो भनेर खुसी हुँदै थिइन् सुजाता । तर उनको खुसी लामो समय टिक्न पाएन । क्यान्सरको सफल शल्यक्रिया भएको एक वर्ष नबित्दै मदनलाई फेरि क्यान्सर बल्झियो । क्यान्सर बल्झिएपछि फेरि शल्यक्रिया गर्नुपर्ने भयो । पहिलो पटकको लागि त जसोतसो खर्च जुटाएकी सुजाताले दोस्रो पटक पनि शल्यक्रियाको लागि खर्च जुटाउनुपर्ने भयो । तर कहाँ सजिलो थियो र ?

फेरि लागिन् ऋण खोज्न र सहयोग उठाउन ।

गत चैत २३ गते फेरि दोस्रो पटक मदनको सफल शल्यक्रिया भयो । दुई पटकको शल्यक्रिया, किमोथेरापी र रेडिएसन थेरापी गरेर दुई वर्षमा करिब ५६ लाख रुपैयाँ खर्च भयो । यति खर्च गरिसक्दा पनि उपचार क्रम सकिएको छैन ।

सफल शल्यक्रिया र एक पटक किमो गरिसकेपछि पूर्वाञ्चल क्यान्सर अस्पतालले बिरामीलाई वैशाख १५ गते नै डिस्चार्ज दिइसकेको छ । तर अस्पतालबाट बाहिर निस्किन सकेका छैनन् । ‘अस्पतालमा तिर्नुपर्ने ८५ हजार तिर्न बाँकी भएकाले अस्पतालबाट निस्किएर जान सकेको छैनौ,’ सुजाता सुनाउँछिन् ।

अस्पतालको बिल बढेको बढ्यै छ तर तिर्नुपर्ने रकम जुटाउन नसक्दा उनीहरू घर फर्किन सकेका छैनन् । ‘श्रीमानको उपचारको लागि अस्पताल लगायत धेरैले सहयोग गर्नुभएको छ । शल्यक्रिया त भयो अझै तीनवटा किमो गर्न बाँकी छ । अझै कति खर्च लाग्ने हो भन्ने चिन्ताले सताएको छ,’ सुजाता भन्छिन् ।

सुजाताको घरमा बुढी सासू र छोराछोरी मात्र छन् । श्रीमानको हेरचाह गर्ने अर्को व्यक्ति नभएकाले उनले होटल पनि खोल्न सकेकी छैनन् । ‘आयस्रोत छैन खर्च बढेको बढ्यै छ । अस्पतालको बिल कसरी चुक्ता गर्ने र अबको उपचार कसरी गर्ने कुराको चिन्ता छ,’ सुजाता दुःखेसो पोख्छिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?