+
+

गर्मीमा टाइट जिन्स लगाउँदा शरीरलाई असर गर्छ ?

प्रा. डा. सविना भट्टराई प्रा. डा. सविना भट्टराई
२०८० वैशाख १९ गते १५:०२

आधुनिक फेसन जिन्स बिना अधुरो नै हुन्छ । जिन्स जोकोहीलाई सुहाउनुका साथै लगाउन र जतन गर्न सजिलो हुने पहिरन हो ।

जिन्सका पारखी बढ्दै जाँदा बजारमा नयाँ नयाँ शैलीका जिन्सका पहिरन उपलब्ध छन् । जसमध्ये टाइट फिचर र डेनिस जिन्स युवतीहरुमाझ निकै लोकप्रिय छ । यो जिन्समा युवतीहरु आफूलाई आकर्षक महसुस गर्छन् ।

एक त अहिलेको गर्मीयाम, अर्कोतिर टाइट जिन्स लगाएर हिंड्दा शरीरलाई चाहिं कस्तो हानि भइरहेको होला भन्नेमा धेरैको ध्यान पुगेको हुँदैन । गर्मीयाममा टाइट जिन्स लगाएर हिंड्दा छालामा विभिन्न समस्या आइरहेको हुन्छ । साथै यसले शरीरलाई पनि असहज महसुस गराइरहेको हुन्छ ।

टाइट जिन्स लगाउँदा के हुन्छ ?

रक्त प्रवाहमा असर : टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गई तिघ्रामा पीडा हुन सक्छ । टाइट जिन्सले मांसपेशी तथा जोर्नीमा असर पार्न सक्छ । लामो समयसम्म टाइट जिन्स लगाएर हिंडे दीर्घकालीन रूपमा हिपमा असर पर्न सक्छ । हावा पास नहुने भएकाले छालामा जलन र एलर्जीको समस्या हुन सक्छ ।

फंगल इन्फेक्सन : गर्मीमा धेरै पसिना आउँछ । डेनिस जिन्सले पसिना नसोस्ने भएकाले शरीरको कापकापमा ढुसी अर्र्थात् फंगल संक्रमण हुन सक्छ । यसले तिघ्राको काप चिलाउने, छालाको पत्रपत्र निस्किने समस्या निम्त्याउँछ । यी बाहेक सेतो पानी बग्ने, चिलाउने, गन्हाउने जस्ता समस्या पनि हुन्छ ।

यस्तै डेनिस जिन्समा प्रयोग हुने डाई वा केमिकलले एलर्जी र छालासम्बन्धी अन्य समस्या ल्याउन सक्छ । छाला रातो हुने, स–साना फोका आउने सम्भावना हुन्छ ।

डाबर र दागको समस्या : जिन्सको बटनमा निकल भन्ने केमिकल प्रयोग गरिन्छ । जुन नक्कली गहनामा प्रयोग गर्ने गरिन्छ । यसले एलर्जी, चिलाउने, डाबर आउने, छाला कालो हुने जस्ता समस्या देखिन्छ ।

पाठेघरको समस्या : टाइट जिन्सले गुम्सिने भएका कारण फंगल शरीरभित्र प्रवेश गरेर पाठेघरमा संक्रमण हुन सक्छ । यसले विभिन्न अरु पाठेघरका समस्या निम्त्याउन सक्छ ।

जिन्स खरिद गर्दा ध्यान दिनुपर्ने कुरा

जिन्सको कपडा नलगाउन चटक्कै छाडिहाल्न पनि नसकिएला । तर जिन्स कस्तो छान्ने ? यसमा चाहिं विचार पुर्‍याउन सकिन्छ । जिन्स खरिद गर्नुअघि त्यसमा प्रयोग गरिएको फेब्रिकका बारेमा जानकारी लिनुपर्छ । टिपिक्क टाँसिने भन्दा लुज र खुट्टा चलाउन सहज हुने र तन्किने पाइन्ट छनोट गरे शरीरलाई पनि फाइदा पुग्छ ।

गर्मीमा उपयुक्त कपडा

गर्मीमा सुतीको कपडा लगाउनु सबैभन्दा उत्तम हुन्छ । जिन्सको विकल्पमा कटन, नाइलन, पोलिस्टरका कपडा प्रयोग गर्दा पनि गर्मीमा राहत हुन्छ । जुनसुकै कपडाको भए पनि खुकुलो पहिरन गर्मीयाममा फाइदाजनक मानिन्छ ।

(वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ प्रा. डा. भट्टराई काठमाडौंको नागपाखेरीस्थित लाभना स्किन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशकसमेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?