+
+

संरक्षणको अभावमा जीर्ण बन्दै सिन्धुपाल्चोकका पार्क

रासस रासस
२०८० वैशाख १९ गते १५:४६

१९ वैशाख, सिन्धुपाल्चवक। सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएका पार्क उचित संरक्षण अभावमा जीर्ण भएका छन् । विसं २०७७ मा रु ३५ लाख लागतमा निर्माण गरिएको सदरमुकाम चौतारास्थित बाल उद्यान अहिले जीर्ण बनेको छ ।

बालबालिकालाई मनोरञ्जन दिने उद्देश्यले बागमती प्रदेश सरकारको २५ लाख र डिभिजन वन कार्यालयको रु १० लाख लागतमा निर्माण भएको यो पार्कको सुरुका दिनमा बालबालिकाको भिड लाग्ने गरे तापनि अहिले भने शून्य नै छ । उचित संरक्षण हुननसक्दा त्यहाँ रहेका चिप्लेटी, पिङ लगायतका संरचना प्रयोग गर्न लायक अवस्थामा नरहेको स्थानीय अमिर श्रेष्ठ बताउँछन् ।

गत वर्षमा मात्र निर्माण भएको शहीद कञ्चन प्रियदर्शी स्मृति पार्क पनि दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको सुनिल बुढाथोकी बताउँछन् । उनका अनुसार सशस्त्रद्वन्द्वको क्रममा मारिनुभएका जिल्लाका साहित्यकार तथा पत्रकार कञ्चन प्रियदर्शीको शालिकसहितको यो पार्क बागमती प्रदेश सरकारकै रु १८ लाख लागतमा चौतारा साँगाचोकगढी वडा न ६ मा निर्माण भएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका पिस्करस्थित निर्माण गरिएको शहीद पार्क उचित संरक्षण हुन नसकेपछि जीर्ण भएको स्थानीय शिक्षक पृथ्वीजङग पाण्डेले जानकारी दिए । २०४० सालमा तत्कालीन पञ्चायतविरुद्ध आयोजना गरिएको कार्यक्रममा प्रहरीबाट अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्यु भएका स्थानीय वीरबहादुर थामी र इले थामीको सम्झना र सम्मानमा पार्क निर्माण गरिएको उनको भनाइ छ ।

२०६४ सालमा बलेफी गाउँपालिका विञ्जेलमा थालिएको शहीद स्मृति पार्क भने १६ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । पार्कभित्रका अधिकांश संरचना भत्किएका छन् भने पार्क वरिपरिको घेराबार पनि जीर्ण बनिसकेका छन् ।

२०६४ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सशस्त्रद्वन्द्वमा सहादत प्राप्त शहीदको सम्झनामा निर्माण गरिएको पार्कका लागि सुरुमा रु २० लाख बजेट विनियोजन भएको र निरन्तररुपमा पार्क निर्माणका लागि बजेट विनियोजन हुँदै आएको स्थानीय महेश नेपालले बताए ।

यसवर्ष पनि सो पार्कका लागि बलेफी गाउँपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको जानकारी दिँदै बजेटको सही सदुपयोग हुन नसक्दा पार्क निर्माण अलपत्र भएको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?