१९ वैशाख, काठमाडौं । आर्थिक मन्दीको कारण आर्थिक वृद्धिदरमा संकुचन हुँदा नेपालको प्रतिव्यक्ति आय पनि स्थिर देखिएको । चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३९९ अमेरिकी डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । जुन १ लाख ८२ हजार ६८३ नेपाली रुपैयाँ हो ।
गत आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३९९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा पनि त्यतिमै सीमित रहने अनुमान रहेको केन्द्रीय तथ्यांक कार्यालयले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनमा उल्लेख छ ।
यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन भने १ हजार ४१० अमेरिकी डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यायले गरेको छ । जुन १ लाख ८४ हजार १४० नेपाली रुपैयाँ बराबर हो । विश्वका अन्य देशहरूमा भएका घटनाले विश्वव्यापी रुपमा आपूर्ति श्रृंखला खलबलिएको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मुल्य वृद्धिको असर हाम्रो नेपालको अर्थतन्त्रमा देखिएको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।
२०७९/८० मा उपभोक्ता मूल्यमा १.८६ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने साथै अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्बको हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । यस्तै चालु आर्थिक वर्षको ६–९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित यथार्थ आकडा तथा सूचनाहरूका आधारमा तयार गरिएको राष्ट्रिय लेखा तथ्यांक अनुसार कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको जनाएको छ । सोही वृद्धिदर गत आर्थिक वर्ष २०७८/७९ मा ५.२६ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा ४.४९ प्रतिशत रहेको थियो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4