+
+

काम पनि सानो ठूलो हुन्छ र ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० वैशाख २० गते १४:४४

२० वैशाख, काठमाडौं । धादिङकी ३२ वर्षीया सरिता भुजेलले साझा यातायातमा सहचालकको काम गर्न थालेको १५ महिना भयो । उनी आफ्नो कामप्रति सन्तुष्ट छिन् । बिस्तारै साझा यातायातको चालक बन्ने उनको योजना छ ।

यसअघि सरिता निजामती कर्मचारी अस्पतालको सवारी चलाउँथिन् । तर त्यहाँबाट प्राप्त हुने पारिश्रमिकले घर धान्न गाह्रो भएपछि उनले साझा यातायातमा सहचालकको काम थालेकी हुन् ।

कतिपयले प्रश्न गर्छन्, ‘चालक अनुमति पत्र भएको मान्छे पनि किन सहचालक ?’ उनी मुस्कुराउँदै प्रतिप्रश्न गर्छिन्, ‘काम पनि सानो ठूलो हुन्छ र ?’

सरितालाई सहचालकको काम सानो लाग्दैन । ‘ठगेर खान पो हुँदैन त काम गरेर खान के को लाज,’ उनी भन्छिन्, ‘मलाई मेरो कामप्रति गर्व छ ।’

अहिलेको कामबाट उनीसँगै परिवारको पनि जीविकोपार्जन सम्भव भइरहेको छ । ‘मेहनत र इमान्दारिताका साथ काम गरेमा कामलाई उचाइमा पुर्‍याएर सफलता हासिल गर्न सकिन्छ,’ उनी भन्छिन् ।

०००

पविता खपाङ्गीले काठमाडौं महानगरपालिकाको एरोटन ट्वाइलेट हबद्वारा सञ्चालित सार्वजनिक शौचालय सरसफाइको काम गरेको एक वर्ष भइसक्यो । यसअघि पनि उनी विभिन्न रेस्टुरेन्टदेखि सिंहदरबारसम्म सरसफाइको काम गरिन् । ‘अहिले स्मार्ट शौचालयमा काम गरिरहँदा मैले सामाजिक कार्य गरिरहेको छु भनेर खुसी छु,’ पविता भन्छिन् ।

पविताले धेरैको मुखबाट सुनेकी छिन्, ‘शौचालयमा पनि के काम गरेको ? अरु काम गर न !’ तर उनी स्वयंलाई भने आफ्नो कामप्रति न कुनै गुनासो छ, न त कुनै अप्ठ्यारो नै ।

एउटा प्रचलित भनाइ नै छ, ‘यदि साना काम गर्न आफू ठूलो छु जस्तो ठान्नुहुन्छ भने तपाईं ठूला काम गर्न पनि धेरै सानो हुन सक्नुहुन्छ ।’ त्यसो त, कुनै पनि काम ठूलो, सानो हुँदैन, यो त मात्र मानिसले बनाउने बुझाइ मात्र हो ।

पविता खपाङ्गी

यदि कसैले पनि सरसफाइको काम नगर्ने हो भने संसार कति फोहोर होला ? कति संक्रमण फैलिएला ? ‘हामीले सफाइ गरेकै कारण धेरै मानिसले सफा र सुरक्षित शौचालय प्रयोग गर्न पाउँछन्,’ पविता भन्छिन्, ‘स्मार्ट सार्वजनिक शौचालयमा काम गर्न पाउँदा म खुशी छु, पढेलेखेका मानिसले नेपालमा अप्ठ्यारो माने पनि विदेशमा यस्तै काम गरिरहेका छन् ।’

विदेशमा हरेक कामलाई समान रूपले हेरिन्छ, तर नेपालमा काम सानो ठूलो भनी छुट्याइन्छ ।

काम सानो कि सोच ?

मनोविद् गृष्मा पनेरुको बुझाइमा मान्छेको हुर्काइ र सामाजिक परिवेशका कारण काम सानो र ठूलो भन्ने सोच आउँछ । ‘हामीलाई सानैदेखि परिवार र समाजमा यो काम सानो, यो काम ठूलो भन्ने सिकाइँदै आइएको छ,’ उनी भन्छिन् ।

स्कुलमा शिक्षकले पढाइमा अलि कमजोर विद्यार्थीलाई ‘राम्ररी पढेनौ भने तिमी भोलि पर्सि खलासी हुन्छौं’ भनिरहेका हुन्छन् । त्यसरी एउटा सानो बच्चालाई राम्रो पढेनौ भने खलासी हुन्छौं भनिरहँदा गाडी चालक र सहचालक हुनु नराम्रो र सानो काम हो भन्ने सोच सानैदेखि विकास हुने पनेरु बताउँछिन् ।

‘विद्यालयमा मात्र होइन, अभिभावकले पनि बच्चालाई राम्ररी पढेनौ भने तिमीले यस्तो सानो काम गर्नुपर्छ भनेर कामको वर्गीकरण गरिदिन्छन्,’ उनी भन्छिन्, ‘यसरी विद्यालयमा परिवार र समाजमा कामलाई समान रूपमा नहेरिंदा त्यो समाजका हरेक सदस्यमा कामलाई असमान रूपले हेर्ने सोच विकास हुँदै जान्छ ।’

नेपालमा बच्चैदेखि डाक्टर, इन्जिनियरको काम मात्र ठूलो हो भनेर सिकाइन्छ । जबकि विकसित मुलुकमा हरेक कामलाई सम्मान गरिन्छ । यस्तो अभ्यासले प्रायः व्यक्तिमा काम सानो र ठूलो भनेर छुट्याउने सोच विकास हुने मनोविद् पनेरु बताउँछिन् ।

मनोविद् गृष्मा पनेरु

‘सानै उमेरदेखि काम सानो ठूलो हुँदैन, हरेक कामको महत्व हुन्छ र यो हाम्रो नियत र चेतनाको आधारमा तय हुन्छ भनेर सिकाउनुपर्छ,’ मनोविद् पनेरु भन्छिन् ।

नेपालमा शिक्षित मानिसहरूले नै कामलाई वर्गीकरण गर्दै सानो काम गर्नुहुँदैन भन्ने सोच राख्ने गरेको उनको बुझाइ छ । ‘यस्तै सोचले नेपालमा कामलाई समान रूपले नहेरिएको हो,’ उनी भन्छिन्, ‘हुँदाहुँदा हामी कामकै आधारमा मानिसलाई सानो र ठूलो देख्छौं ।’

‘यस्तो काम गर्नुभन्दा त बरु बेरोजगार नै बस्छु’ भन्ने सोचले व्यक्ति मात्र होइन, समाज नै पछि पर्ने मनोविद् पनेरु बताउँछिन् । ‘नेपालमा भाँडा माझ्ने, शौचालय सफा गर्ने जस्ता सरसफाइको काम गर्न लजाउँछौं, तर विकसित मुलुकमा गएर त्यही काम लाज नमानी गर्छौं,’ उनी भन्छिन् ।

विदेशमा सरसफाइको काममा आकर्षक पारिश्रमिक भए पनि नेपालमा भने जीविकोपार्जन पनि गर्न नसक्ने पारिश्रमिक पाउनुले पनि यस्तो सोच बनेको उनको तर्क छ । उनी भन्छिन्, ‘पैसाकै कारण पनि मान्छेले कामलाई सानो ठूलो भनी छुट्याइन्छ ।’

हामीले सानो/ठूलो भनेर छुट्याइएको सबै काम गर्न जान्नेले हरेक परिस्थितिको सजिलै सामना गर्न सक्ने उनको तर्क छ । ‘हरेक कामको महत्वलाई बुझेर हरेक कामलाई सम्मान गर्नुपर्छ,’ पनेरु भन्छिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?