+
+

‘नक्कली शरणार्थी बनाउने गिरोहसँग तत्कालीन गृहसचिव पाण्डेको पनि लेनदेन देखियो’

गौरव पोखरेल गौरव पोखरेल
२०८० वैशाख २० गते १४:४३

२० वैशाख, काठमाडौं । गृह मन्त्रालयको सचिवका रुपमा ६ महिना अघिसम्म टेकनारायण पाण्डे प्रहरीलाई निर्देशन दिइरहेका हुन्थे । निवर्तमान प्रहरी प्रमुख धिरजप्रताप सिंहलाई उनले महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई पनि उनले निर्देशन दिइरहेका हुन्थे । हालका जिल्ला प्रहरी परिसर, काठमाडौं प्रमुख दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी लगायत पनि उनलाई भेट्न गृह मन्त्रालय पुगिरहेका हुन्थे ।

तर, उनै पूर्वगृहसचिव एवं हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पाण्डे अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो ।

‘पक्राउ पुर्जी जारी भएको थाहा भएपछि उहाँ जिल्ला प्रहरी परिसर, काठमाडौंमा हाजिर हुनुभएको हो’, उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी श्यामलाल ज्ञवाली भन्छन्, ‘थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।’

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयान लिने क्रममा एमाले नेता रामबहादुर थापा (बादल) र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरुले कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो ।

शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै २९ असार २०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएबाटै अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउन एउटा गिरोह लागिपरेको थियो ।

त्यही काममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पनि संलग्न देखिएका छन् । राईलाई प्रहरीले मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा छन् ।

उनले राजनीतिक नेतृत्वलाई पनि मिलाउने भन्दै ५ करोड ६० लाख रुपैयाँ लिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ । बादल १४ फागुन २०७४ देखि २८ असार २०७८ सम्म गृहमन्त्री थिए । त्यसपछि गृहमन्त्री बनेका बालकृष्ण खाँणको पालामा पनि यो गिरोहले नक्कली शरणार्थी बनाउने प्रयास जारी राखेको पाइएको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।

उनका अनुसार कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको सचिवालयमा काम गरेका केशव दुलालले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग ‘सेटिङ’ मिलाएका थिए । उनले सहयोग गर्ने वचनसहित ‘मोटो रकम असुली’ समेत गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी अधिकृतहरु बताउँछन् ।

बालकृष्ण खाँण गृहमन्त्री बन्नुअघि पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए । तर, खाँणको जोडबलमा उनलाई गृहमा ल्याइएको थियो ।

‘पक्राउ परेकाहरुले बयानका क्रममा गृह प्रशासन र राजनीतिक नेतृत्वलाई पनि मिलाउनुपर्ने भन्दै रकम लिएको खुलाएका छन्’, एक प्रहरी अधिकृत भन्छन्, ‘उहाँ स्वयंले गिरोहका सदस्यबाट पैसा लिएको खुलेको छ ।’

स्रोतका अनुसार पन्थी नेतृत्वको कार्यदलले तयार पारेको सुरुको प्रतिवेदनमा प्रमाणीकरणमा छुटेका ४२९ जनालाई परिचय पत्र दिन सिफारिस गरिएको थियो । तर, त्यसमाथि पुनः प्रमाणीकरण गर्न भन्दै झापा र मोरङको जिल्ला प्रशासन कार्यालयलाई बादल नेतृत्वको गृह मन्त्रालयले पत्राचार गरेको भेटिएको प्रहरी स्रोतको भनाइ छ ।

बादल गृहबाट बाहिरिएपछि २९ असार २०७८ मा बालकृष्ण खाँण गृहमन्त्री बने । प्रहरीका अनुसार त्यतिञ्जेलसम्म अनुसूची थप्ने काम पूरा भइसकेको थिएन । ‘त्यसपछि तत्कालीन गृहसचिव पाण्डेलाई हातमा लिएर यो गिरोहले काम गरेको देखिएको छ’, प्रहरी स्रोत भन्छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख डा. मनोजकुमार केसीका अनुसार हालसम्म प्रहरीमा यो गिरोहविरुद्ध २० वटा जाहेरी दर्ता भएका छन् । ‘सबै जाहेरीमा गरेर कम्तीमा १४५ जना पीडित छन्, एउटै जाहेरीमा धेरै पीडितको उजुरी छ’ केसीले भने, ‘उनीसँग कम्तीमा १५ देखि २५ लाख रुपैयाँसम्म असुली गरिएको पाइएको छ ।’

पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?