+
+

देउवा-शेखर भेटेको भोलिपल्टै मन्त्रिपरिषद विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते २१:४३
बुधबार मन्त्री नियुक्त भएकाहरु बायाँबाट क्रमश: धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु ।

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तीन नेतालाई सरकारमा समेट्दै आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री नियुक्त भएका हुन् । मन्त्रीहरुको सपथ भोलि बिहीबार ३ बजे राखिएको छ ।

नवनियुक्त मन्त्रीहरुमध्ये बस्नेत संस्थापन समूहका हुन् भने गुरुङ र लिम्बु शेखर कोइराला समूहका हुन् । उपसभापति गुरुङले स्वास्थ्यमा जान चाहेका थिए, तर देउवाले कुनै हालतमा यो मन्त्रालय छोड्न चाहेनन् । देउवा पत्नी आरजु राणाको जोडबलमा बस्नेतलाई यो मन्त्रालय दिइएको नेताहरु बताउँछन् ।

बुधबारको मन्त्री नियुक्तिले शेखर कोइराला–गगन थापा समूहमा खैलाबैला मच्चिएको छ ।

सत्तारुढ दलहरुबीच भएको भागवण्डामा ८ मन्त्रालय लिएका देउवाले सुरुदेखि दुई मन्त्री शेखर गगन समूहलाई छुट्याएका थिए । त्यसअनुसार १७ चैतको विहान दुई जनाको नाम पनि मागेका थिए । एक नेताका अनुसार त्यो दिन नै धनराज र डिगबहादुरको नाम टुंगिसकेको थियो । तर शेखर कोइराला र गगन थापा समूहले कम्तीमा तीन मन्त्री पाउनुपर्ने भन्दै नाम नै दिएनन् ।

नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत गुहारेपछि देउवा रोकिए । उनले उपसभापति पूर्णबहादुर खड्कासहित आफ्नो समूहका चार नेतालाई मन्त्री सरकारमा पठाए । २ वैशाखमा एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त भए, तर शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान छोडेन ।

नेताहरुका अनुसार जनमत पार्टीले सरकार छाडेपछि रिक्त भएको मन्त्रालय लिएर भएपनि कांग्रेसको आन्तरिक भागवण्डा मिलाउने समझदारी भएको थियो । शेखर कोइराला र महामन्त्री थापा दुबैले आफ्नो समूहको बैठकमा पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउने समझदारी भएको दाबी गरेका थिए ।

तर १० वैशाखको उपचुनावका कारण न्त्रिपरिषद् विस्तार भएन । चुनावलगत्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउन पहल गरेका कारण कांग्रेस नेताहरुबीच मन्त्रीको नामबारे छलफल नै भएको थिए ।

स्रोतका अनुसार मंगलबार साँझ कांग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको थियो । लगत्तै कोइराला आँखाको उपचारका लागि सिंगापुर उडे । भोलिपल्ट देउवाले शेखर समूहका दुई नेता र आफ्नो पक्षका एक नेतालाई मन्त्री बनाए ।

यसले शेखर गगन समूहमा असन्तुष्टि बढेको छ । यो समूहको नेता भएर पनि तीन मन्त्री पाउनुपर्ने अडानमा नेता शेखर कोइराला अडिन नसकेको गुनासो यो समूहका कतिपय नेताको छ ।

धनराजलाई अवसर

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपसभापति गुरुङ पार्टी वरियतामा देउवा र पूर्णबहादुर खड्कापछि तेस्रो स्थानमा छन् ।

उनलाई सभापति देउवाले नै मन्त्री बनाउन वचन दिएको र संस्थापन इतर समूहबा शेखर कोइराला र महामन्त्री गगन थापा सरकारमा नजाने भएपछि उनलाई मन्त्री बन्ने अवसर जुरेको हो । ५७ वर्षीय गुरुङ सुशासनको पक्षमा पैरवी गर्दै आएका नेता हुन् ।

तर कुनै पनि विषयको गहिराइमा पुगेर अध्ययन र विश्लेषण नगर्ने, छिटो प्रक्रिया जनाउने बानी रहेको उनलाई नजिकबाट चिनेकाहरु बताउँछन् । त्यसैले उनको परीक्षा अब हुने कांग्रेस नेताहरु बताउँछन् ।

शेखरले रुचाएका डिगबहादुर

डा. शेखर कोइरालाले आफ्नो समूहबाट मन्त्री बनाउन सर्वाधिक इच्छाएका व्यक्ति हुन् डिगबहादुर लिम्बु ।

मोरङ–१ बाट गत निर्वाचनमा जितेका लिम्बु दुईपटक जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा भने उनी सोही क्षेत्रमा पराजित भएका थिए । एक नेताका अनुसार यसपटक लिम्बुलाई जुनै हालतबाट पनि शेखर कोइराला मन्त्री बनाउन अडिग थिए ।

देउवाले लिम्बुलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री प्रस्ताव गरेका थिए । तर उनले कानुनमा रुची नदेखाएपछि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?