+
+
विचार :

के कांग्रेसको विकल्पमा रास्वपा उभिएको हो ?

विगतमा विकल्पका रूपमा उदाएका शक्तिहरू क्षयीकरणमा गए र विघटित भए । रास्वपाको के हुन्छ, हेर्न बाँकी छ । ठूला पार्टीको सोच र प्रवृत्ति नफेरिने र नयाँ पार्टीले नयाँ केही गर्न खोजेको देखियो भने कांग्रेस मात्र होइन, एमाले र माओवादीको पनि विकल्पमा रास्वपा देखिन सक्छ ।

भुवन न्यौपाने भुवन न्यौपाने
२०८० वैशाख २१ गते १२:२०

आमनिर्वाचन पश्चातका सत्ता संघर्षबीच सम्पन्न उपनिर्वाचनको मतपरिणामले गरेका संकेतका सन्दर्भमा नेपाली राजनीतिमा निकै चाखलाग्दा बहस सिर्जना भइरहेका छन् । विशेषतः कांग्रेसको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी उभिएको हो ? भन्ने प्रश्नमा बहुआयामिक ढंगबाट विश्लेषण गरिएका तर्क, वितर्क सुनिन्छन् । तर, पछिल्लो उपनिर्वाचनको मतपरिणाम अनुसार कांग्रेससँगै नेकपा एमाले, माओवादी केन्द्र लगायत अन्य दलको मत पनि स्वीङ भएको देखिन्छ । यसले सबै ठूला भनिएका दलहरूलाई पनि चुनौती दिएको स्पष्ट संकेत देखिन्छ ।

विशेषतः यस पटकको उपनिर्वाचन विभिन्न कारणले निकै रोचक र पेचिलो बन्यो । चितवनमा रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादबाट सांसद गुमाएर पुनः चुनावी मैदानमा उत्रिए र भारी मतान्तरले विजयी भए । कांग्रेसबाट रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले तनहुँबाट उम्मेदवार बनेर कांग्रेसकै गढमा विजयी भए । यो उपनिर्वाचन कांग्रेस र रास्वपा दुवैलाई प्रतिष्ठाको विषय बन्न पुग्यो । बारामा उपेन्द्र यादवलाई पनि वैकल्पिक दलको चुनौतीका बीच मधेशको वर्चस्व कायम राख्ने चुनौती थियो । अझ भनौं, चुनावी प्रतिस्पर्धा नयाँ दल र पुरानाबीचको भद्र भिडन्त जस्तो देखिन्थ्यो ।

लोकतान्त्रिक पार्टीका रूपमा उदाएको रास्वपाले नेपाली राजनीतिको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसमा भने तुलनात्मक रूपमा धेरै भय र क्षति पुर्‍याउने आकलन गर्ने जमात बढिरहेको छ । के रास्वपा राष्ट्रिय राजनीतिमा संस्थागत भयो भने लोकतान्त्रिक धारको नेतृत्व गर्न सक्छ ? अथवा कांग्रेसको विकल्पमा दरिलो भएर उभिन सक्छ ? कांग्रेसमा समयानुकूल एजेण्डा र रूपान्तरणको सम्भावना नै छैन त ? के कांग्रेसले रास्वपाको उदयलाई थेग्न सक्छ ? यस्ता मूल प्रश्नहरू आज राजनीतिक वृत्तमा उब्जिएका छन् ।

भुवन न्यौपाने

नयाँ दललाई समर्थन गरेर मतदाताले परिवर्तन नै चाहेका हुन् ? अथवा ठूला दलप्रतिको वितृष्णालाई नयाँ दलले ‘क्यास गर्न’ सफल भएका हुन् ? त्यसो भए पुराना र ठूला दलमा साँच्चिकै नयाँ दलले आरोप लगाए जस्तै बेथितिले भरिएको अग्लो पहाड नै छ । अथवा ती दलमा पनि विकल्पको सम्भावना बोकेका आधार छन् ? प्रतिस्पर्धा र परीक्षणको समय र शंका त नयाँ दलका युवा नेता र पुराना दलका युवा नेताबीच पनि हुन्छ होला नि ! पक्ष र विपक्षमा तर्क र वितर्कका बीच तमाम प्रश्नहरूको चित्तबुझ्दो जवाफ नेपाली जनताले खोजिरहेका छन् ।

वितृष्णाको प्रहार, परिवर्तित परिवेशको वेग
नेपाली मतदातामा देखिएको परिवर्तनको हुटहुटीले विकल्पको खोजी बढेको स्पष्ट संकेत गर्छ । विभिन्न दशकमा व्यवस्था परिवर्तनदेखि राजनीतिक अधिकारका लागि आन्दोलन र विद्रोह सिर्जना भए । ती सबै राजनीतिक र व्यवस्थाको स्थायित्वका लागि भएका थिए । तर, पछिल्लो समय व्यवस्थामा धक्काभन्दा पनि बेथितिप्रतिको वितृष्णा र जनकेन्द्रित विकासको माग बढी देखिन्छ । यसका जोखिम भन्दा सकारात्मक पाटा धेरै छन् ।

राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल शीर्षनेताको मपाइत्वका कारण मतदाताले विकल्पको खोजी गरेको बताउँछन् । ठूला दलमा पाका पुस्ताले सक्षम युवालाई थिचेकोले विकल्प रोजेको उनी बताउँछन् । उमेरको उत्तराद्र्धमा पुग्दा पनि शीर्ष नेतृत्वमा देखिएको पदीय लोभ र महत्वाकांक्षाबाट पैदा भएको वितृष्णाको फाइदा नयाँ जोशिला दलले उठाइरहेका छन् । यद्यपि, ठूला दलका युवा नेताले प्रभावकारी हस्तक्षेप गर्न सक्छन् कि सक्दैनन् भन्ने परीक्षणले मात्र विकल्पको आकार तय गर्ला । नयाँ र पुरानाबीच प्रतिस्पर्धा र परीक्षण दुवै हुन्छ नै ।

एक वर्ष नपुग्दै राष्ट्रिय राजनीतिमा रास्वपा वैकल्पिक राजनीतिक दलको रूपमा उभिनु सामान्य विषय होइन । मतदाताले एजेन्डाभन्दा पनि युवा ऊर्जा र ठूला दलका शीर्ष नेतृत्वको वितृष्णाबाट प्रभावित भएर मत दिएको देखिन्छ । सूचनाप्रविधिको विकासले समाजमा आमसञ्चार र सामाजिक सञ्जालको प्रभाव निकै बढेको छ । नयाँ दलका नयाँ अनुहारका प्रभाव र पहुँच बढ्न सम्भव भएको छ । सामाजिक सञ्जालका सटिक भाष्यले अधिकांशमा विचार निर्माण गरिरहेको छ । लोकरिझ्याईंको चर्को हावा चलिरहेको छ । सामाजिक सञ्जालमा नयाँले उठाएका सबै मुद्दा सत्य र पुराना दलले उठाएका सबै गलत भन्ने सन्देश गइरहेको छ । मानिसहरू लहडमा दौडिरहेका छन् ।

लोकतान्त्रिक नीति र नेतृत्वको परीक्षण
कांग्रेस ऐतिहासिक रूपमै लोकतान्त्रिक अभ्यासमा अभ्यस्त पार्टी हो । नेपालका हरेक राजनीतिक घटनाक्रममा कांग्रेसको नेतृत्वदायी भूमिका देखिन्छ । तर समयानुकूल पार्टी रूपान्तरण नभएर परम्परावाद र यथास्थितिवादमा रुमल्लियो भन्दै विपक्षी आरोप लगाउँछन् । यो कांग्रेसको जनाधार घटना विपक्षीले लगाएको सस्तो आरोप जस्तो लाग्छ । समयक्रममा यो पार्टीले बदलिएर देखाएका प्रशस्तै उदाहरण छन् । प्रजातन्त्र प्राप्तिको अथक् लडाईं, पञ्चायत विरुद्धको आन्दोलन, बहुदलीय व्यवस्था, राजसंस्थाको अन्त्य र गणतन्त्र स्थापना, संघीयतासहितको संविधान निर्माण र अर्थतन्त्रको उदारीकरणमा कांग्रेसको भूमिका अहिले नै बिर्सन सकिंदैन ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल पछिल्लो समय कांग्रेस नेतृत्वको कार्यशैलीप्रति वितृष्णा बढेको बताउँछन् । ‘युवा पंक्तिले प्रभावकारी हस्तक्षेप गर्न नसक्दा समग्र पार्टीले बेथितिको भारी बोक्नु परेको छ’ खनाल भन्छन्, ‘नयाँ उदीयमान दलले आफ्नो नीतिलाई कसरी स्पष्ट पार्छ र नेतृत्वको कार्यशैलीलाई कसरी अगाडि लैजान्छ भन्ने विषयले मात्र विकल्प हेर्न मिल्छ ।’

तर, यसैबीचमा कांग्रेस पनि व्यापक अभियानसहित शुद्धीकरणसहित एकताबद्ध भएको सन्देश प्रवाह गर्न सक्यो भने प्रतिस्पर्धा रोचक हुनेछ, जुन देशका लागि अहिलेको खाँचो पनि हो । तर, पार्टीको नीति र नेतृत्व विरुद्ध बेलाबेलामा प्रश्नहरू उठिरहेका छन् । पार्टीभित्र निरन्तर पुस्तान्तरण र रूपान्तरण हुँदै आए पनि कतिपय मुद्दामा समयानुकूल परिवर्तन हुन सकिरहेको छैन । सबैभन्दा धेरै लोकतान्त्रिक विधिलाई अभ्यास गर्ने पार्टी भए पनि संगठन ठूलो भएकोले पार्टीमा अपेक्षा र वितृष्णाहरू धेरै हुनु अस्वाभाविक होइन । विधि कार्यान्वयन गराउने पहललाई पश्चगामी भन्न मिल्दैन । विशेषतः कांग्रेसको नेतृत्वप्रति निकै धेरै आक्रोश देखिन्छ । त्यो आक्रोश समग्र पार्टीले भोग्नु परेको छ ।

भर्खरै, स्थापना भएको रास्वपामा युवा पंक्ति धेरै छन् । लोकप्रिय एजेन्डा उठाएकोले पार्टीको लोकप्रियता बढ्नु अस्वाभाविक होइन । तर, परिपक्व र पारदर्शी राजनीतिक अभ्यास, लोकतान्त्रिक निर्णय प्रक्रियाले मात्रै वैकल्पिक राजनीतिको औचित्य पुष्टि गर्न सक्छ । नयाँ दल भएकाले रास्वपाको नीति र नेतृत्व ठिक, पुरानो पार्टीले उठाएका सबै समयानुकूल एजेण्डा बेठिक भन्ने होलसेल बुझाइ राख्नुहुँदैन ।

नेपाली जनताले इमानदार नेतृत्व र समयानुकूल नीतिको अपेक्षा गरेका छन् । तर यो रास्वपाले मात्र सक्छ, कांग्रेसले उठाउन सक्दैन भन्ने तर्कमा सहमत हुन सकिंदैन । राजनीतिक विश्लेषक प्रा.डा. कटक मल्ल भन्छन्, ‘राजनीतिक दल नसच्चिएमा रास्वपाको उदय कसैले रोकेर रोकिंदैन, आगामी दिनमा रास्वपाको नीति र नेतृत्व कसरी अगाडि बढ्छ भन्ने हेर्न अझै बाँकी छ ।’

विगतमा विकल्पका रूपमा उदाएका शक्तिहरूको तीव्र उदय, क्षयीकरण र विघटन भयो । रास्वपाको के हुन्छ, हेर्न बाँकी छ । ठूला पार्टीको सोच र प्रवृत्ति नफेरिने र नयाँ पार्टीले नयाँ केही गर्न खोजेको देखियो भने कांग्रेस मात्र होइन, एमाले र माओवादीको पनि विकल्पमा रास्वपा देखिन सक्छ ।

शान्ति सम्झौता, संविधानसभाबाट नयाँ संविधान जारी गर्न र लोकतान्त्रिक निर्वाचनहरू सम्पन्न गर्न सफल कांग्रेस सत्तामा रहँदा शासकीय कौशलतासहित जनकेन्द्रित र समयानुकूल काममा भने अपेक्षित सफल हुन सकेन भन्ने भाष्य सिर्जना गरिएको छ । पटक–पटक शासकीय बागडोर सम्हालेको कांग्रेसका पालामा धेरै उपलब्धि भएका छन्, तर ती जनतासमक्ष स्पष्ट रूपमा पुग्न सकिरहेका छैनन् ।

कांग्रेसको विगतको योगदानलाई बिर्सेर नयाँ दल रास्वपाले आरोप लगाउन मिल्दैन, तर प्रमाणित गरेर देखाउन मिल्छ । तर, यसो भन्दै गर्दा नयाँ दल रास्वपाको उदयलाई अवमूल्यन गर्न सकिंदैन । कांग्रेसको नेतृत्व र नीतिप्रति जति चासो राखिएको छ, त्यस्तै चासो रास्वपाप्रति पनि केन्द्रित हुन्छ । आन्तरिक लोकतान्त्रिक विधि, स्पष्ट नीतिसहितको गन्तव्य, संगठन विस्तार, जनताको महत्वाकांक्षा सम्बोधन लगायत काममा रास्वपाको परीक्षण सुरु भइसकेको छ ।

यता, यसअघि लोकतान्त्रिक विधिमा महाधिवेशन गर्दै आएको कांग्रेस अहिले नीति महाधिवेशन सन्निकट छ । राजनीति, कूटनीति, अर्थनीति, सामाजिक न्याय, सुशासन र समुन्नतिका सन्दर्भमा कति प्रष्ट र समानुकूल हुनसक्छ, यसैमा कांग्रेसको भविष्य निर्भर छ ।

शासकीय कौशलता र राजनीतिक अनुभव
सफलताका लागि सरकार, संसद् र पार्टीमा प्रभावकारी नेतृत्व आवश्यक छ । कांग्रेस सरकार सञ्चालन, संसदीय प्रक्रिया र पार्टी परिचालनमा अभ्यस्त छ भने नयाँ दल रास्वपा सरकारमा जाने कि नजाने, सरकारलाई समर्थन किन गर्ने, नगर्ने ? भन्ने अस्पष्ट देखिन्छ । पछिल्ला कार्यशैलीको कसीमा हेर्दा संसदमा रास्वपाको उपस्थिति प्रभावकारी देखिएको छ । कुनै पनि शुभेच्छुक र भ्रातृ संगठन नभएको रास्वपा संसद्का महत्वपूर्ण विधेयकहरूमा कसरी उभिन्छ भन्ने परीक्षण हुन बाँकी छ ।

के कांग्रेसले अझै पनि आशा जगाउन सक्दैन त ? यो प्रश्न कमजोर छैन । पार्टीमा नवनिर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पुस्ता परिवर्तनको योगदान र प्रयासलाई नजरअन्दाज गर्न मिल्दैन । बीपीको आस्थाले भरिएको पार्टीलाई सुदृढीकरण गरी समयानुकूल रूपान्तरण गर्न अहिले कांग्रेसको महामन्त्रीद्वयलाई अझै अवसर बाँकी छ । गगन कार्यदिशामा स्पष्ट देखिन्छन् भने विश्वप्रकाश सबैलाई समेट्न सक्ने शालीन नेतृत्व हुन् । नेताद्वयमा बीपीले परिकल्पना गरेको जस्तो नेतृत्व क्षमता र कार्यशैली देखिन्छ । कांग्रेसमा आशा गरिएका नेताद्वयको दूरदृष्टि र कार्यशैलीले कांग्रेसलाई समयानुकूल रूपान्तरण गर्ने विश्वास गर्न सकिन्छ ।

त्यसो त रास्वपामा पनि कांग्रेस परित्याग गरेर गएका मनिष झा, स्वर्णिम वाग्ले लगायत शिशिर खनाल, सुमना श्रेष्ठ जस्ता विषयविज्ञ र ऊर्जावान् युवा छन् । कांग्रेसमा हुँदा ठिक, रास्वपामा गएपछि बेठिक भन्न मिल्दैन । तर, नयाँ पार्टीलाई संस्थागत गरी आमअपेक्षा अनुरूप खरो रूपमा उत्रिन निकै चुनौती छन् । उनीहरूमा विषयविज्ञता भए पनि शासकीय र राजनीतिक अनुभव कम छ । अर्कातर्फ, रास्वपाको वैचारिक र सैद्धान्तिक धरातल प्रष्ट छैन । अस्पष्ट सैद्धान्तिक धरातलमा उभिएर राजनीतिक कौशलता देखाउन कठिन हुन्छ ।

कांग्रेसमा महामन्त्रीद्वयको एकताबद्ध पहलकदमीमा गगनले कांग्रेस संसदीय दलमा प्रतिस्पर्धा गरे । यद्यपि उनीहरूमाथि पार्टी रूपान्तरणमा प्रभावकारी हस्तक्षेप गर्न नसकेको आरोप लाग्ने गरेको छ । पार्टीको बेथिति र विधान अनुरूप सञ्चालनमा महामन्त्रीद्वय खरो उत्रिएका छन् ।

कांग्रेसको विधानमा सभापतिलाई धेरै अधिकार छन् । पार्टीलाई नवजीवन दिन त्यसको संशोधनको खाँचो पनि देखिन्छ । गगन, विश्वप्रकाश र प्रदीप जस्ता आशलाग्दा युवा नेताको एकताबद्ध प्रयासले पक्कै पनि केही परिवर्तन भने हुन्छ ।
पछिल्लो समय गगन थापाले अगाडि सारेको ‘प्रोजेक्ट गभर्नेन्स’को अवधारणाले पक्कै पनि केही नवीन विषयहरूको थालनी हुने देखिन्छ । त्यसमा मुलुकका विभिन्न सूचकको रूपान्तरणका स्पष्ट योजनाहरू समावेश छन् । उनका क्रियाकलाप र योजना आशलाग्दा छन् । विषयविज्ञ समूहसँगको अन्तरक्रिया, गहन विश्लेषण र आफ्नै सक्रियतालाई कमी मान्नुहुँदैन ।

उपनिर्वाचनको मतादेशलाई कांग्रेसले विकल्पका रूपमा भन्दा पनि पार्टीलाई नवजीवन दिने अवसरका रूपमा लिनुपर्दछ । र, त्यस्तो प्रयासको प्रारम्भ भइसकेको छ । नयाँ पुस्ताले चाहना गरे जस्तो पार्टी शुद्धीकरण, सुदृढीकरण, पुस्तान्तरण र रूपान्तरण भएन भने रास्वपा लोकतन्त्रवादी नेता–कार्यकर्ताका लागि विकल्पका रूपमा आउन सक्ने सम्भावना भने नकार्न सकिंदैन ।

बीपीले परिकल्पना गरेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणालाई गगनले परिष्कृत गर्दै अगाडि बढाउन प्रयास गरेका छन् । तर, त्यसलाई उनले कसरी कार्यान्वयनमा लैजान्छन् त्यो परीक्षणको समयमा छ । पछिल्ला निर्वाचनका घोषणापत्रमा समुन्नत नेपालको मार्गचित्रलाई उल्लेख पनि गरिएको छ । जुन प्रगतिशील, यथार्थपरक र आशावादी पनि छ ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले रास्वपा कांग्रेसको विकल्पमा अर्को लोकतान्त्रिक पार्टीको रूपमा स्थापित हुने सम्भावना क्षीण भएको तर्क गर्छन् । उनको तर्क छ, ‘लोकतान्त्रिक पृष्ठभूमिका नेताहरूको उपस्थिति उल्लेखनीय भए पनि वैचारिक र सैद्धान्तिक धरातल प्रष्ट नभएकोले रास्वपा नेताहरूले रास्वपा कांग्रेसको विकल्प हुनसक्ने भाष्य बनाउन खोजे पनि सम्भावना क्षीण छ ।’ रास्वपाका नेताहरूले लोकतन्त्रप्रति प्रतिबद्धता जनाउँदै संविधानलाई पूर्णरूपमा स्वीकार गरेको घोषणा गरेका छन् । तर पनि गणतन्त्र, संघीयता, आर्थिक नीति, विदेश नीति, समावेशीकरण जस्ता विषयमा नेतृत्व पंक्तिबाट अन्तरविरोधपूर्ण धारणा सार्वजनिक भएकोले रास्वपा कांग्रेसको विकल्पमा अर्को लोकतान्त्रिक पार्टीको रूपमा स्थापित हुने सम्भावनाको धरातल कमजोर रहेको वाग्लेको बुझाइ छ ।

उपनिर्वाचनको मतादेशलाई कांग्रेसले विकल्पका रूपमा भन्दा पनि पार्टीलाई नवजीवन दिने अवसरका रूपमा लिनुपर्दछ । र, त्यस्तो प्रयासको प्रारम्भ भइसकेको छ । नयाँ पुस्ताले चाहना गरे जस्तो पार्टी शुद्धीकरण, सुदृढीकरण, पुस्तान्तरण र रूपान्तरण भएन भने रास्वपा लोकतन्त्रवादी नेता–कार्यकर्ताका लागि विकल्पका रूपमा आउन सक्ने सम्भावना भने नकार्न सकिंदैन ।

रास्वपाले आफ्नो दर्शन र प्रतिबद्धताका रूपमा विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पण, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता र मानवअधिकार जस्ता विषयलाई अगाडि सारेको छ । भने, कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप संविधानको पालना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली, राजनीतिक संस्कार, अर्थनीति, कूटनीति, कानुन तथा न्याय, सामाजिक न्याय, सामाजिक सुरक्षा, सभ्य र समतामूलक समाज निर्माणमा स्पष्ट छ ।

पछिल्लो आमनिर्वाचन र उपनिर्वाचनले मात्र रास्वपालाई लोकतान्त्रिक वैकल्पिक दलका रूपमा हेर्न हतार होला । तर, आम निर्वाचनको पहिलो र छोटो प्रयासमै प्रत्यक्षतर्फ जितेको संख्या र समानुपातिक मतमा करिब सबै जिल्लाबाट मत पाएको सन्दर्भलाई सामान्य मान्न मिल्दैन । त्यस्तै, पछिल्लो तीन जिल्लामा भएको उपनिर्वाचनको मतपरिणामको निष्कर्षले मात्र कांग्रेसको विकल्पमा रास्वपा उभिएको हो भन्ने निष्कर्ष निकाल्न नसकिएला । तर, दुवै पार्टीका आगामी गतिविधि, राजनीतिक संस्कार र प्रभाव, नीतिको स्पष्टता र नेतृत्वको कार्यशैली, शासकीय कौशलता र राजनीतिक अनुभवले मात्र देखाउँछ । यो एकअर्काको विकल्पभन्दा पनि दुवै पार्टीका लागि अग्निपरीक्षा भने पक्कै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?