+
+
उड्डयनमा भूराजनीति :

भारतले किन दिएन पोखराबाट आफ्ना शहरमा उडान अनुमति ?

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० वैशाख २१ गते १८:१४

२१ वैशाख, काठमाडौं । भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो शहरहरुमा अन्तर्राष्ट्रिय उडानको अनुमति दिन आनाकानी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध एयरले पोखराबाट पहिलो चरणमा बनारस (वारणासी)मा र त्यसपछि दिल्ली र देहरादुनका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उडान गर्न अनुमति मागेको थियो ।

हाल काठमाडौंबाट बनारस उडान गरिरहेको बुद्ध एयरले भारतका पर्यटकीय शहरहरुमा पोखराबाट उडान गर्ने योजना बनाएर नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमतिमा नागरिक विमानन महानिर्देशनालय (डीजीसीए)सँग अनुमति मागेको थियो । अहिलेसम्म भारतले बुद्धको प्रस्तावलाई ‘निर्णय प्रक्रियामा रहेको’ जवाफ दिएर टारिरहेको छ ।

अधिकारीहरुका अनुसार पोखरा र भारतीय शहरहरुलाई हवाई सेवामा जोड्न भारत इच्छुक छैन । ‘तर, अहिलेसम्म भारतले यस्तो अनुमति नै दिएन । खासै सकारात्मक जवाफ पनि आएन’ नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोत भन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल नेपाल र भारत सरकारबीच भएको हवाई सेवा सम्झौताअनुसार नेपाल र भारतका सबै शहरहरुमा उडान भर्न बाधा पर्दैन । ‘बुद्ध एयरले पोखराबाट भारतमा छिट्टै उडान अनुमति पाउनेमा विश्वस्त छौं’ उनले भने ।

१७ पुस २०७९ मा उद्घाटन भएको पोखरा विमानस्थल २ फागुनमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रविधिको जडान सकेर पूर्ण सञ्चालनमा आएको थियो ।

विमानस्थल उद्घाटन भएकै दिनमा बुद्धले बनारसबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्न अनुमति मागेको थियो । उसले काठमाडौं–बनारसकै रुटबाट पोखरामा उडान गर्न चाहेपनि भारतले अनुमति नदिँदा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आन्तरिक उडानमार्फत गरिएको थियो ।

‘बुद्ध एयरले पोखराबाट भारतीय शहरमा उडान भर्ने अनुमतिका लागि भारतीय दूतावासमार्फत पनि निकै जोडबल लगाएको हो’, प्राधिकरणका एक अधिकारी भन्छन्, ‘तर, भारतले यो कारणले अनुमति दिन सकिएन भनेको छैन, प्रक्रियामा छ भनेर टार्ने काम मात्रै गरिरहेको छ ।’

बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्ण भने पोखराबाट वारणासीमा उडान भर्न सबै प्रक्रिया पुरा गरिसकेको बताउँछन् । ‘हामी उडान अनुमतिको प्रतिक्षामा छौं, दोस्रो चरणमा भारतका दिल्ली र देहरादुनमा पनि उडान भर्न इच्छुक छौं’ उनले भने ।

सञ्चालनमा आएको चार महिना बितिसक्दा पनि पोखरामा बुद्धबाहेक अन्य कुनै पनि वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका छैनन् । एयर चाइना, थाइ स्माइल एयर, रोयल भुटान एयरलाइन्सले चासो दिएपनि उडान अनुमति लिने प्रक्रियाका लागि पत्राचार गरेका छैनन् ।

प्राधिकरणका सूचना अधिकारी भुल अन्तर्राष्ट्रिय एयरलाइन्सहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फिल्ड भिजिट गर्न आउने क्रममा रहेको बताउँछन् ।

पोखरा विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भएका कारण यो विमानस्थल भूराजनीतिक स्वार्थको चपेटामा पर्न सक्ने आकलन थियो ।

पोखरा विमानस्थल चल्न चीन, भारत र अरु देशका पर्यटकहरुलाई सिधा उडानमार्फत पोखरा ल्याउनुपर्ने हुन्छ । पोखरा विमानस्थललाई बिजनेस दिन भारत र चीनका विभिन्न शहरबाट पर्यटकलाई सोझै पोखरा झार्नु सबैभन्दा बढी सम्भाव्य भएपनि चार महिनासम्म त्यसको कुनै संकेत देखिएको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हाल आन्तरिक उडानमा सीमित छ । काठमाडौंबाट बनारस उडान गरिरहेको बुद्ध एयरलाई पोखराबाट सोही गन्तब्यमा उडान अनुमति नदिएर भारतले चिनियाँ लगानीका नेपाली परियोजनाबारे आफ्नो दृष्टिकोण प्रष्ट गरेको अधिकारीहरु बताउँछन् ।

भारतले गरेको यो खालको व्यवहार नयाँ भने होइन । माग गरेको लामो समय भइसक्दा पनि भारतले अहिलेसम्म नेपालको हिमालय एयरलाइन्सलाई पनि भारतमा उडानका लागि ‘लेटर अफ अथोराइजेसन’ दिएको छैन । बुद्ध एयर र नेपाल एयरलाइन्सलाई उडानका लागि यस्तो आधिकारिता दिएपनि चिनियाँ लगानीकर्ता रहेको हिमालयले अहिलेसम्म भारतमा उडान गर्ने मान्यता पाएको छैन ।

दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवालाई अत्यावश्यक रहेको पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका हवाई प्रवेश विन्दु र रुटबारे भारतले छलफल नै गर्न चाहेको छैन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि अब भारतीय शहरसँग उडानमार्फत जोडिने तयारीमा छ । हालसालै नेपाली एयरलाइन्सले भैरहवाबाट दिल्लीमा उडानका लागि पहिलोपटक भारतलाई प्रस्ताव गरेको छ ।

नेपाल एयरलाइन्सले १ जुनदेखि काठमाडौं–क्वाललम्पुर (मलेसिया), क्वालालम्पुर–भैरहवा, भैरहवा–दिल्ली र दिल्ली–काठमाडौं उडानका लागि प्रस्ताव गरेको हो ।

यो प्रस्तावमा भारतको जवाफपछि भैरहवा विमानस्थलबारे भारतको धारणा प्रष्ट हुने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् । यसैपनि भारतले भैरहवा विमानस्थलमा जोडिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टमको फ्रिक्वेन्सी भारतीय भूमिमा पुगेपछि सो प्रणाली चलाउन अनुमति दिएको छैन ।

‘आईएलएसको समस्या प्राविधिक विषय भएकाले भविष्यमा सल्टिन सक्छ, भैरहवाबाट पनि भारतमा हुने उडान रोकियो भने विमानस्थलबारे भारत सकारात्मक छैन भन्ने प्रष्ट हुनेछ,’ भैरहवा विमानस्थलका एक अधिकारी भन्छन्, ‘भूराजनीति कारण दुई विमानस्थल सञ्चालनमा परेका अप्ठेरा फुकाउन नेपालले उच्च राजनीतक तबरमै छलफल गर्नुपर्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?