0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला

अब दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन लागेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवाको ढोका खोल्न सफल भएको मानिएकाे छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ देखि दुबईका लागि नियमित व्यावसायिक हवाई उडान सुरू हुने भएको छ ।
  • १ जनवरी २०२३ मा उद्घाटन भएको यस विमानस्थलबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन लागेको हो ।
  • पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले दुबई उडान पर्यटन र आर्थिक विकासका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।

२८ जेठ, पाेखरा । पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन १ जनवरी २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा गरिएको थियो। करिब पाँच दशक लामो प्रतीक्षा, पोखरेलीहरूको निरन्तर दबाब, पर्यटन व्यवसायीहरूको पहल तथा विभिन्न चरणमा भएका संघर्षपछि निर्माण सम्पन्न भएको यो विमानस्थल पोखरेलीहरूको गौरवको आयोजना हाे ।

विमानस्थल सञ्चालनमा आएपछि पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान भने हुन सकेको थिएन। यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडानहरू सञ्चालन भएका थिए। त्यस्तै भारतमा एकपटक हवाई एम्बुलेन्समार्फत बिरामी ओसारपसारका लागि उडान गरिएको थियो। तर नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई सेवा सुरु हुन नसक्दा विमानस्थलको प्रभावकारी उपयोगबारे निरन्तर प्रश्न उठ्दै आएको थियो।

अब दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन लागेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवाको ढोका खोल्न सफल भएको मानिएकाे छ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केवल एउटा पूर्वाधार परियोजना मात्र होइन, यो पोखरेलीहरूको दशकौँदेखिको सपना र संघर्षको प्रतिफल हो। विमानस्थल निर्माण सम्पन्न भए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा हामीले अपेक्षा गरेको उपलब्धि हासिल हुन सकेको थिएन ।’

अब दुबईका लागि नियमित उडान सुरु हुनु पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन, व्यापार तथा आर्थिक विकासका लागि ऐतिहासिक उपलब्धि भएकाे उनकाे भनाइ थियाे ।

उनका अनुसार २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला भइसकेको छ। इच्छुक यात्रुहरूले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट तथा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्नेछन्।

पोखराबाट दुबईको नियमित हवाई सेवा सञ्चालनसँगै पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, वैदेशिक रोजगारी तथा अन्तर्राष्ट्रिय आवागमनमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। साथै दुबई हुँदै विश्वका विभिन्न मुलुकमा सहज हवाई पहुँच विस्तार हुने विश्वास गरिएको छ।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सुरुवातलाई केवल हवाई सेवा विस्तारका रूपमा मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?