
२१ वैशाख, काठमाडौं । सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापामाथि रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । टेकपाना मिडिया प्रालिले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै पत्रकारद्वय हरिजंग थापा र गणेश सुवेदीमाथि दुर्व्यवहार भएको भन्दै उक्त घटनाको निन्दा गरेको छ ।
सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको भनिएको विद्युतीय बाइकको रिपोर्टिङका लागि बुधबार टेकपानाका थापा र सुवेदी कम्पनीको वर्कशप पुगेका थिए । त्यसैक्रममा कम्पनीका अध्यक्ष थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको टेकपानाले जनाएको छ ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै टेकपानाले आफ्नो पेशागत जिम्मेवारी र दायित्वअन्तर्गत रिपोर्टिङका लागि खटिएका आफ्ना सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारको घटनाप्रति खेद व्यक्त गरेको छ ।
कम्पनीका अध्यक्ष थापाले नै आफ्नो कम्पनीले विकास गरिरहेको विद्युतीय मोटरसाइकलको विषयमा जानकारी दिएर रिपोर्टिङका लागि अनुरोध गरेका थिए ।
सुन्दर यातायातका कर्मचारीसँगको समन्वयमै टेकपाना प्रतिनिधिले कम्पनीले विकास गरिरहेको विद्युतीय बाइकको विषयमा बुधबार रिपोर्टिङ गर्दा ब्याट्रीको फोटो खिचेको भन्दै उनले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए ।
सुन्दर यातायात प्रालिले भने सञ्चारकर्मीले खिचेका केही भिडियो क्लिप व्यावसायिक मर्यादाका हिसावले गोप्य राख्न जरूरी देखेर अध्यक्ष थापाको उपस्थितिमा डिलिट गर्न अनुरोध गरेपछि सोही अनुसार समझदारीपूर्ण ढंगले हटाएको भएको दाबी गरेको छ ।
‘यस क्रममा कुनै विवाद र भनाभनसमेत नभएको अवस्थामा दुर्व्यवहार हुने कुरा सम्भवनै छैन,’ कम्पनीले विज्ञप्ति प्रकाशित गरेर भनेको छ । ‘हामीले निरन्तर ब्यावसायिक मर्यादाको पक्षमा पैरवी गर्दै आएकाले त्यस्तो ब्यवहार हामीबाट कहिल्यै पनि हुन सम्भव छैन, कम्पनीले भनेको छ ।
प्रविधि पत्रकार मञ्चले पनि विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष थापाले गरेको प्रविधि पत्रकाहरुमाथि गरेको दुर्व्यवहारको घटनाको भर्त्सना गरेको छ ।
प्रतिक्रिया 4