+
+
ब्लग :

नयाँ दलले जमिन नटेके, पुराना नसच्चिए के हुन्छ ?

पुनारा दल नसच्चिने र नयाँ दलले सैद्धान्तिक रूप धारण गर्न नसक्ने हो भने देशको राजनीति अहिलेको भन्दा झनै भयावह हुनेछ ।

देवराज गुरुङ देवराज गुरुङ
२०८० वैशाख २२ गते १७:५७

पछिल्लो समय नेपाली राजनीतिमा घण्टीको आवाजले तरङ्ग पैदा गरेको छ । यतिबेला चोक, चिया पसल, सामाजिक सञ्जाल जताततै घण्टीकै चर्चा छ । वैशाख १० मा देशका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भयो ।

उपनिर्वाचनको परिणामले नयाँ दलप्रति जनताको आकर्षण देखाएको छ । यसले मुख्यतः ठूला र पुराना भनिएका राजनीतिक दललाई राम्रै धक्का दिएको छ । निर्वाचनको परिणामले पुराना दललाई प्रष्ट रूपमा २ वटा विकल्प दिएको छः सुध्रिने कि सक्किने ?

यसका पछाडि थुप्रै कारण छन् । जस्तै, दलहरूमा हुने कमजोर सैद्धान्तिक बहस र फितलो कार्यान्वयन, सत्ता केन्द्रित राजनीति, जनताको अपेक्षा एकातिर दलको काम अर्कोतिर, सत्ताभित्र मौलाएको नातावाद, सत्ता प्राप्तिको लागि गरिने अनैतिक गठबन्धन, परिणाम नदिने तर सत्तामा पुनरावृत्ति हुने राजनीतिक संस्कार, व्यक्तिवाद र यस्तै-यस्तै । समग्रमा भन्दा राजनीतिक दल र नेताहरूप्रतिको आक्रोश नै यो उपनिर्वाचनको परिणाम हो ।

अबको राजनीतिक बाटो पुराना दलहरूका लागि साँच्चै चुनौतीपूर्ण छ । नयाँ दललाई पनि सहज भने पक्कै छैन । उनीहरूले हालको मतलाई अर्को निर्वाचनसम्म बचाउन सक्छन् कि सक्दैनन् ? मतले स्थायित्व ग्रहण गर्छ कि गर्दैन ? जनताका आधारभूत आवश्यकताहरू हल गर्न सक्छन् कि सक्दैनन् ?

आफ्नो दललाई वैचारिक रूपमै जनताको अपेक्षाअनुसार सैद्धान्तीकरण गराउन सक्छन् कि सक्दैनन ? चुनावमा जनताबीच गरिएका बाचाहरू पूरा गर्न सक्छन् कि सक्दैनन् ? यी र यस्ता प्रश्न नयाँ दलका लागि साँच्चै चुनौतीपूर्ण छन् ।

सैद्धान्तिक बहसको पाटो

कुनै पनि राजनीतिक दल दिगो हुने र नेतृत्व गर्ने कुरालाई पार्टीले लिएको राजनीतिक दर्शन÷विचारले निर्धारण गर्छ भनेर हामीले बुझ्नुपर्छ । मुख्यतः यतिबेला नेपालको राजनीति तथा राजनीतिक दल चुनाव र सत्ताकेन्द्रित छन् । समग्रमा भन्दा सैद्धान्तिक र व्यवहारिक पक्ष कमजोर छ ।

अझ यसो भनौं– पछिल्लो समय सत्ता र राजनीति परिवारवाद तथा नातावादभित्र केन्द्रित छ । राजनीतिक दलले आफ्नो सिद्धान्तलाई जनताको व्यवहार र आवश्यकतासँग जोड्न सकेका छैनन् । सामान्य आधारभूत आवश्यकता (शिक्षा, स्वास्थ्य, बाटो–घाटो, रोजगारी, खाने पानी आदि) समेत प्रत्येक निर्वाचनमा राजनीतिक दलको मुख्य एजेण्डा बन्ने गरेको छ ।

आधारभूत आवश्यकता नागरिकले जन्मसिद्ध पाउने अधिकार हो । तर, दलहरूले आधारभूत आवश्यकतालाई पटक–पटक चुनावको एजेण्डा बनाउने गरेका छन् । पुनः त्यही एजेण्डालाई सत्तामा पुगेपछि बिर्सिने प्रवृत्ति नदोहोरियोस् भनेर मतदाताले मत फेरेका हुन् । नयाँबाट त्यो अपेक्षा राख्नु स्वाभाविक हो ।

उपनिर्वाचनका क्रममा तनहुँ र चितवनमा सत्ता गठबन्धनलाई भोट माग्न उपस्थित भएका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको लर्को अस्वाभाविक देखिन्थ्यो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीको पद चकलेट झैं बाँड्न समेत भ्याए । तर उनीहरूको केही चलेन । सत्ता पक्षका साझा उम्मेदवार आखिर पाखा लागे । यहीँनेर दलहरूको वैचारिक स्खलनको अवस्थामा पन गर्न सकिन्छ ।

अर्कोतर्फ आफूलाई यो देशको बुद्धिजीवी भन्नेहरूले गर्ने सैद्धान्तिक, वैचारिक र राजनीतिक बहस कोठामा मात्रै सीमित बन्दा समाजमा गलत भाष्य हाबी हुने अभ्यास बढेको छ । जमिन टेकेको र जनताले चाहेको विचार निर्माण गर्नेगरी समाजमा राजनीतिक/सैद्धान्तिक बहस हुनु आवश्यक छ ।

काङ्ग्रेस, एमाले र माओवादी सिद्धान्त क्रमशः देउवा, ओली र प्रचण्डको कब्जामा छ । यी दलमा पछिल्लो समय सैद्धान्तिक स्खलन तीब्र गतिमा हुँदै गएको छ । स्खलनको क्षयीकरण रोक्ने सामथ्र्य न नेतामा छ न कार्यकर्तामा । सत्ता प्राप्ति भन्दा दोस्रो उद्देश्य दलहरूसँग देखिँदैन ।

यसको ज्वलन्त उदाहरण गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचन, मङ्सिरमा भएको संघ तथा प्रदेशको निर्वाचन र भर्खरै सम्पन्न भएको उपनिर्वाचनमा गरिएको काङ्ग्रेस, माओवादी, एमाले, राप्रपाको फरक फरक गठबन्धनलाई लिन सकिन्छ । विचारविहीन गठबन्धनको एउटै उद्देश्य थियो सत्तामा पुग्ने ।

पार्टीभित्र सैद्धान्तिक र व्यवहारिक प्रश्न उठाउने व्यक्तिले कि दल छाड्नुपर्ने बाध्यात्मक परिस्थिति छ, कि उनीहरू ओझेलमा पारिएका छन् । सैद्धान्तिक पक्ष कमजोर भएपछि दलको विकासक्रम अवरुद्ध हुनु अस्वाभाविक होइन ।

त्यसो त, वैचारिक दृष्टिकोणले रास्वपाको धरातल कमजोर नै छ । पार्टीसँग खास दर्शन छैन । अहिले आकर्षण देखिन्छ तर भविष्य अन्योलपूर्ण छ । सम्भवतः पार्टीले निकट भविष्यमा गर्ने महाधिवेशनबाट विचार निर्धारण गर्ला । दर्शनविनाको पार्टी हुँदैन ।

यद्यपि रास्वपाले अहिले २ कारण मत आर्कषण गरिरहेको छ । पहिलो, पुराना दलहरूप्रति जनताको तीव्र आक्रोश एवं वितृष्णा । दोस्रो, नयाँ प्रतिको आकर्षण । अहिलेको जनमतलाई सिद्धान्ततः संस्थागत गर्न सकिएन भने केवल क्षणिक उपलब्धि बन्न सक्छ ।

हालको मतलाई नयाँ पार्टी र नेतृत्वले कसरी ग्रहण गर्छ ? हेर्न बाँकी छ । राजनीतिक पार्टीले आफूलाई विचारसँग जोड्नु आवश्यक हुन्छ । विचारको बहस गर्ने थलो महाधिवेशन हो । अहिले रास्वपामा सबै विचारका मान्छेहरू केन्द्रित छन् । ती सबैलाई सम्मान गर्ने विचार पार्टीले निर्माण गर्न सक्छ कि सक्दैन ? रास्वपाले महाधिवेशनमार्फत् समाउने वैचारिक लाइनले उसको भविष्य निर्धारण गर्नेछ ।

वैकल्पिक शक्ति

पछिल्लो समय नेपाली राजनीतिमा वैकल्पिक शक्तिको प्रसङ्ग र नयाँ पार्टी खोल्ने लहर निकै चल्यो । मुख्यतः नयाँ संविधान बनेसँगै नयाँ वैकल्पिक पार्टीहरूको स्थापना भयो । उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति, पत्रकार रवीन्द्र मिश्रको साझा लगायतका पार्टीहरू देखिए ।

निर्वाचनमा जनताले नपत्याएपछि पार्टीको भविष्य समेत अन्योलग्रस्त बन्यो । अन्ततः ती पार्टी र व्यक्तिहरू पुरानै पार्टीमा एकाकार हुनु बाहेक अरू विकल्प रहेन । समग्रमा हेर्दा उनीहरूको नयाँ शक्तिलाई जनाताले रुचाएनन् ।

लोकतान्त्रिक पद्धतिमा जनमतलाई सम्मान गर्ने कुरा मुख्य हुन्छ । जनमतले नयाँ र वैकल्पिक राजनीतिक शक्ति खोजेको कुरा पनि प्रष्टै देखियो । तर हालैको मतलाई आधार मानेर रास्वपालाई वैकल्पिक शक्ति हो भन्न हतार गर्ने समय भने भएको छैन । मुख्यतः पार्टीले अङ्गाल्ने राजनीतिक सिद्धान्त, विचार र कार्यदिशाले मात्र यो कुरालाई निर्धारण गर्नेछ । त्यसको लागि रास्वपाको व्यवहार र महाधिवेशन कुर्नु पर्छ ।

वैकल्पिक शक्ति हुनको लागि कम्तिमा ३० वर्षसम्म मुलुकलाई हाँक्न सक्ने प्रष्ट विचार र दृष्टिकोण जरुरी छ । रास्वपासँग हाल मत आकर्षण गर्ने क्षमता देखिएता पनि त्यसलाई संस्थागत गर्न धेरै मेहनत गर्नुपर्नेछ । जे होस्, हिजो जन्मजातै काङ्ग्रेस, एमाले, माओवादी भन्नेहरूले समेत मत परिवर्तन गर्न थाल्नु परिवर्तनको सुरुवात हो र योे सकारात्मक छ । दलहरूले टाउको गनेर हाम्रो मतदाता भन्ने दिन लगभग सक्किएको छ । मतदाता स्वतन्त्र हुनु भनेको लोकतन्त्र थप बलियो बन्नु हो । लोकतन्त्रको भविष्यका दृष्टिमा यो सुन्दर यथार्थ हो ।

भाष्य निर्माण

पछिल्लो समय दलप्रतिको चरम वितृष्णाको प्रतिक्रिया स्वरूप राजनीतिमा लोेकप्रियतावाद हाबी हुन थालेको छ । यसलाई रोक्न सकिएन भने राजनीति र देशले अस्थिरता खेप्नुपर्छ । मतदातालाई क्षणिक आत्मसन्तुष्टि मिल्नु अलग पक्ष हो । यदि मतको सही सदुपयोग नहुने र प्रत्येक निर्वाचनमा नयाँ–नयाँ भाष्यहरू देखापर्ने हो भने देश थप अस्थिरतमा जान्छ ।

पुनारा दल नसच्चिने र नयाँ दलले सैद्धान्तिक जग बलियो बनाउन नसक्ने हो भने देशको राजनीति अहिलेको भन्दा झनै भयावह हुनेछ । समय–समयमा आइरहने लोकप्रियतावादको भाष्यले देशलाई अस्थिरता र प्रयोगशााला बनाउने बाहेक अरू केही हँुदैन । त्यसैले उपनिर्वाचनमा घण्टीको भाष्यले पुराना दललाई एउटै सन्देश दिएको छः सक्किने कि सच्चिने ?

अर्कोतर्फ आफूलाई यो देशको बुद्धिजीवी भन्नेहरूले गर्ने सैद्धान्तिक, वैचारिक र राजनीतिक बहस कोठामा मात्रै सीमित बन्दा समाजमा गलत भाष्य हाबी हुने अभ्यास बढेको छ । जमिन टेकेको र जनताले चाहेको विचार निर्माण गर्नेगरी समाजमा राजनीतिक/सैद्धान्तिक बहस हुनु आवश्यक छ ।

हिजो जन्मजातै काङ्ग्रेस, एमाले, माओवादी भन्नेहरूले समेत मत परिवर्तन गर्न थाल्नु परिवर्तनको सुरुवात हो र योे सकारात्मक छ । दलहरूले टाउको गनेर हाम्रो मतदाता भन्ने दिन लगभग सक्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?