 
																			२३ वैशाख, काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई पटक भेट गरिसकेका छन् । गत बिहीबार भेटेर यसै विषयमा छलफल गरेका ओलीले शनिबार पनि प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
बुधबार रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बिहीबार ओलीले प्रचण्डसँग भेट गरेका थिए । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले रायमाझी बाटोबाटै पक्राउ गर्नुपर्ने व्यक्ति नभएको भन्दै सरकारले षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए ।
शनिबार प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारहरुले रायमाझी कहाँ छन् भनेर ओलीसँग जिज्ञासा राखेका थिए । ओलीले भने कहाँ छन् भन्ने आफूलाई जानकारी नभएको भन्दै पत्रकारहरुलाई जवाफ दिए, ‘तपाईहरु खोज्नुस् न ?’
पढ्नुहोस् सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाहिर पत्रकार र ओलीबीचको संवाद :
अस्ति तपाईंले पूर्वउपप्रधानमन्त्री भइसकेको मान्छे त्यसरी हराउँछन् र भन्नुभएको थियो, अहिले त हराइराछन्, कहाँ बस्नुभएको छ उहाँ ?
तपाईंहरुले खोज्नुस् न ।
तपाईंको त सम्पर्कमा हुनुहुन्छ होला नि ?
मेरो सम्पर्कमा हुनुहुन्न ।
कहिले आउनुहुन्छ उहाँ अब ?
…सोध्नुस् न ।
अध्यक्षज्यू तपाईं अभियुक्त बचाउन लाग्नुभएको छ भन्ने आरोप छ नि ?
तपाईहरुलाई विश्वास लाग्यो त्यस्तो कुरा ?
आरोप छ भनेको, यो आरोपबारे केही भन्नुहुन्छ ?
केही मान्छेहरुले हल्ला गरेका हुन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको घटनामा गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, एमाले सचिव रायमाझीका छोरा सन्दीपलगायतका व्यक्ति पक्राउ परिसकेका छन् ।
एमाले सचिव रायमाझी र एमाले उपाध्यक्ष तथा तत्कालिन गृहमन्त्री बादलका छोरा प्रतीकलगायतविरुद्ध प्रहरीको निवेदनमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएको दिन बुधबार अर्घाखाँचीमा एक कार्यक्रममा रहेका रायमाझी त्यसै दिन साँझदेखि सम्पर्कविहीन छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4