+
+

बालुवामाथि वैभव खडा गर्दै कतार, कस्तो बन्दैछ लुसेल?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १३:२८

२४ वैशाख, (सीएनएन) ।  बालुवामा शहर निर्माणलाई धेरैले स्वैरकल्पना भनिदिन्छन् । तर कतारले यसलाई वास्तविकतामा परिणत गरेको छ ।

राजधानी दोहादेखि १० माइल परको लुसेलमा कतारले शहर निर्माण गरिरहेको छ । लुसेलमा हिजोआज कतारमा बस्ने हरेक राष्ट्रका नागरिकका लागि खानपानको स्टल राखिएको छ । यहाँ हरेक साँझ पार्टी छ ।

सन् २०२४ मा त्यहीँ नै कतारले ठूलो खानपानको महोत्सव आयोजना गर्दैछ । भविष्यको शहरका रूपमा कतारले सन् २००६ देखिनै लुसेलमा संरचना निर्माण थालेको थियो । फुटबलको विश्वकप आयोजनाको निर्णयअघिनै उसले लुसेललाई दिगो शहरका रूपमा विकास गर्दै थियो । लुसेल त्यही शहर हो जहाँ फुटबलको महाकुम्भ विश्वकपको फाइनल खेल आयोजना भएको थियो ।

लुसेल घुमेकाहरू भन्छन्- थुप्रै संरचनाले यसलाई राम्रो बनाएको छ । लुसेल अब महोत्सव स्थलमात्रै छैन । यहाँ ठूला सपिङ मल यहीँ छ । ठाउँ-ठाउँमा रहेका पार्कले शहरको सौन्दर्य बढाएको छ । लुसेलमा अहिले अन्तर्राष्ट्रिय चेन रेष्टुराँ छन् । स्काइलाइन लुसेलको आकर्षण हो ।

कतारको संकेत गर्ने गोलाकार भवनको नजिकै दुई ठूला होटल छन् । द फेयरमन्ट दोहा र अल सुट र्‍याफल दोहा कतारकै पहिलो ६ तारे होटल हुन् । दुबैका नामका पछि दोहा भएपनि उनीहरू लुसेलमा छन् ।

लुसेल कतारको अन्य शहर भन्दा धेरै नै विकसित भइसकेको छ । अझैपनि त्यहाँ संरचना निर्माणको काम भइरहेको छ । लुसेल स्टेडियममा बेलाबखत ठूला महोत्सव भइरहन्छन् ।

शहरमा अहिले संग्रहालय निर्माणको काम पनि भइरहेको छ । मध्यपूर्वको संस्कृति र इतिहास झल्काउने गरी संग्रहालय निर्माण भइरहेको हो । यसको आकार स्वीस आर्किटेक्ट हर्जोगले डिजाइन गरेका हुन् । यस संग्रहालय सन् २०२९ मा खुल्ने बताइएको छ ।

लुसेलमा ६ लेनको सडक निर्माण भइरहेको छ । अल महा तट वरपर ड्राइभ गर्दै त्यहाँका सुन्दर दृश्य हेर्न सकिन्छ । शहरमा निर्माण भइसकेका र निर्माणाधीन पूर्वाधार हेर्दा यस्तो लाग्छ, लुसेल छिट्टै दोहाको प्रतिद्वन्द्वी हुनेछ ।

बालुवामाथि शहर निर्माण कठिन कार्य हो । तर कतारले बालुवामाथि नै मुलुकको पहिलो दिगो शहर विकास गरेको जिकिर गरेको छ ।

‘मध्यपूर्वका मरूभूमि अब पूर्वाधारका लागि उर्बर बन्दैछन् । त्यहाँ असंख्य संरचना निर्माणको सम्भावना छ । कल्पनालाई उनीहरू वास्तविकतामा परिणत गर्दैछन् । लुसेलमा सहज पहुँच, आर्थिक समानता र दिगोपनलाई धेरै ख्याल गरिएको छ’, पूर्वाधार निर्माण नियालिरहेका ब्रेस डेभिड भन्छन् ।

सुरूदेखिनै संरचना निर्माण गर्दा सडक, विमानस्थलदेखि सबै पूर्वाधार दिगोपनाको अवधारणामा निर्माण गर्न सकिने डेभिड बताउँछन् ।

केही दशकयता कतारले दिगोपनाको अवधारणालाई केन्द्रमा राखेको छ । पेट्रोलियम पदार्थका लागि बाँझै राखिएका जमिनमा अहिले हरियाली देख्न सकिन्छ । ५० डिग्री सेल्सियस तापक्रम हुने कतारमा एयर कन्डिस सहितको हिँड्ने ठाउँ निर्माण गरिएका छन् ।

लुसेलमा निजी सवारीसाधन प्रयोगलाई कम गर्नका लागि ट्रामको व्यवस्था गरिएको छ । यस्तै, मरूभूमिमा रैथाने विरुवा रोप्न थालिएको छ । यसले त्यहाँको पानी सोस्ने र त्यसलाइ पुन: प्रयोगमा ल्याउन सकिने पूर्वाधार निर्माण भएको छ ।

सामुन्द्रिक जीवको बासस्थान निर्माणका लागि समुद्रमा कृत्रिम चट्टान निर्माण भइरहेको छ । नयाँ स्थानमा दिगो विकासको अवधारणामा कतार अघि बढ्दा पर्यटकहरू पनि आकर्षित भइरहेका छन् । फिरन्तेहरू आजकाल दोहाभन्दा लुसेल मन पराउँछन् । कतार आउँदा दोहा बस्ने अष्ट्रेलियाका एक जोडी अचेल लुसेल पुग्छन् ।

लुसेल वातावरणमैत्री सहर रहेको उनीहरूको भनाइ छ । ‘लुसेलमा नवीकरणीय ऊर्जाको प्रयोग भइरहेको छ । पानीलाई पुन: प्रयोगका लागि योग्या बनाइएको छ । शहर हरियाली छ । पर्सियन गल्फको दृश्य लोभलाग्दो छ । खानाका लागि प्रशस्त ठाउँछन् । रमणीय दृश्य हेर्दै भोक मेटाउनुको मज्जै बेग्लै छ । हामी आजकाल खचाखच दोहा छोडेर शान्त र रमणीय लुसेल जान्छौँ,’ ती जोडीले भने ।

लुसेलको हरेक ठाउँमा १५ मिनेटमा पुगिन्छ । त्यहाँ हालको जनसंख्या २ लाख मात्रै छ । अल महा तटनजिकै पर्यटक वार्नर बस्छन् । त्यहाँका फुटपाथ र कलाले उनको मन लोभ्याउँछ । सँगै रहेको कतार टावर र पेरिसबाट प्रेरणा लिएर बनाइएको सपिङ मलले पनि उनलाई हरक्षण आकर्षित गर्छ । उनी त्यहाँको वाडर्फ एस्टोरिया होटलमा बस्छन् । त्यहाँको निजी तटले झन् आनन्दित तुल्याउने उनको भनाइ छ ।

लुसेलसँग शानदार र प्रतिष्ठित वास्तुकला छन् । दोहाजस्तो अर्ग्यानिक वास्तुकला यहाँ फेला पार्न मुश्किल नै छ । तर लुसेल दिगो आधुनिक शहर बन्न प्रयासरत छ । उसको प्रयास क्यानबेरा, ब्राजिलिया वा इस्लामावादजस्तै असफल होला वा भव्यरूपमा सफल होला यो त समयलेनै बताउनेछ ।

लुसेल कतारको राजधानी हुने चर्चा पनि चलिरहेछ । यो सोच जायजै छ किन भने कतारका संस्थापक मानिने सेख जसिम बिन मोहम्मद बिन थानीले लुसेलको तटमा १९ औँ शताब्दीमै दरबार बनाएका थिए । दिगो विकाससहितको शहर लुसेल हेर्नका लागि विश्वनै लालयित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?