 
																			२४ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै अर्थतन्त्रमा शिथिलता देखिएको छ ।
उनले अर्थतन्त्रको समस्या समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्ने बताए । उनले कोभिड-१९ मा वित्त नीतिबाट पूँजी परिचालन गर्न नसक्दा र मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह हुँदा समस्या भएको बताए । अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको भन्दै त्यसको समाधान लचिलो मौद्रिक नीतिमार्फत गर्नुपर्ने उनले बताए ।
‘अहिले हामीसँग वित्त नीतिमा लचिलो बन्ने ठाउँ छैन । अहिले मौद्रिक नीतिमा मार्फत अर्थतन्त्र चलायमान हुन सक्छ,’ उनले भने, ‘राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाउनु भएको छ । लचिलो मौद्रिक नीति लियो भने ब्याजदर घट्छ भन्ने विश्वास छ ।’
उनले वित्त नीति लचिलो बनाएर पूँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनुपर्ने दोहोर्याए ।
पूँजी प्रवाहका लागि लचिलो मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको अर्थमन्त्री महतले बताए । आर्थिक नीतिमार्फत पूँजी प्रवाहलाई व्यापक बनाउनुपर्ने उनले बताए ।
‘आउँदो वर्ष हामीले अर्थतन्त्रलाई गतिशीलताको बाटोमा लगे पनि राजस्वमा व्यापक वृद्धि हुने अवस्था छैन,’ उनले भने, ‘राजस्व अवश्य बढाउँछौं । हामीले सोचजस्तो एक वर्षभित्रमै व्यापक वृद्धि सम्भव हुन्छ भन्ने मलाई लाग्दैन । अर्थतन्त्रकै गतिशीलताका आधारमा राजस्व वृद्धि हुने हो ।’
उनले लगानी आउन थाल्यो, उद्योग व्यावसाय बढ्यो, रोजगारी सिर्जना भयो, आम्दानी बढ्न थाल्यो भने मात्र राजस्व बढ्ने् बताए । ‘राजस्व वृद्धिका लागि केही समय लाग्छ । यसका लागि अथक प्रयास सरकारले गर्छ,’ डा. महतले भने, ‘पूँजीगत खर्च हामीले विनियोजन गर्छौ, त्यसको प्रभावकारिता बढाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गर्छ ।’
‘तेस्रो त्रैमासिक सकिँदा पनि खर्च न्युन छ । अब पूँजीगत खर्च गर्नुपर्यो, ठेक्का लगाउनु पर्यो । बजेट सुनिश्चित गर्दिनु पर्यो भनेर मन्त्रालयबाट फाइलमात्रै आउँछ,’ उनले भने, ‘हामीले पहिलो दिनबाटै काम गर्नुपर्ने आवश्यकता छ । कामप्रति जुन उदासिनता छ, त्यो स्वीकार्य छैन । हामीले कार्यक्रम र परियोजना निर्धारण गरेर बजेट विनियोजन गरेका हुन्छौं, त्यहीअनुसार पहिलो दिनबाटै काम गर्न सुरु गर्नुपर्छ ।’
साधारण खर्च र अनुत्पादक खर्च कम गर्ने उनले बताए । साधारण खर्चमा सामाजिक सुरक्षाका विषयदेखि लिएर, तलब भत्ता, स्थानीय तहमा जाने सहयोग अनिवार्य भएपनि कतिपय क्षेत्र खर्च कटौति गर्न सकिने पनि रहेको उनले बताए । ‘अनावश्यक खर्च गर्ने परम्परा अन्त्य गर्दै पूँजीगत खर्चको प्रभावकारितालाई बढाउँछौं’ उनले भने, ‘पूँजीगत खर्चको प्रभावकारिता बढाउने, मौद्रिक नीतिमार्फत् ब्याजदरलाई सम्बोधन गरेर लगानीको वातारण निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’
सरकारले सबै गर्न सम्भव नभएको भन्दै निजी क्षेत्रको सहयोग, बैंकिङ क्षेत्रको सहयोग र सबै क्षेत्रको सहयोगबाट फराकिलो र समावेशी आर्थिक वृद्धि, रोजगारी सिर्जना गर्न सम्भव हुने उनले बताए । यसमध्ये पनि बैंकिङ क्षेत्रको ठूलो भूमिका रहने अर्थमन्त्री महतले बताए । ‘बचत र ऋणको सीमामा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ । बचत व्याज घटिसकेको छ, ऋणको ब्याज पनि चाँडै घटाउनु हुनेछ भन्ने लाग्छ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4