+
+

‘ललितकलासँग फिल्मलाई जोड्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते ११:३७

काठमाडौं । ललितकला प्रज्ञा प्रतिष्ठान र चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र फिल्म निर्देशक नीर शाह सहभागी रहे ।

कार्यक्रममा बोल्दै ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले फिल्मलाई साहित्य, कला र संगीतको समुच्च विधाको रुपमा व्याख्या गरे । उनले भने, ‘यो विधामा ललितकलाको पनि उपस्थिति हुन्छ । तर त्यति बहस भएको देखिन्न । यसलाई सम्बोधन गर्न कार्यक्रम गरेका हौं ।’ फिल्ममा ललितकलालाई पनि समेट्न उनले आग्रह गरे ।

चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले ललितकलासँग फिल्म जोड्दा फिल्म अझै बलियो हुने धारणा राखे । उनले भने, ‘फिल्म गम्भीर कार्य हो । यसले सबै विधालाई समेट्न सक्छ । त्यसलाई प्रस्तुत गर्न सक्छ । वास्तु, रङ, कलामार्फत हामी ललितकलासँग जोडिएका हुन्छौं । त्यसलाई बुझेर प्रयोग गर्न सके फिल्म अझ मजबुत बनाउन सकिन्छ कि ?’

छायाकार दीपक बज्राचार्यले फिल्मको तत्व र चित्रमा प्रयोग हुने तत्व मिल्ने बताए । उनले भने, ‘कलर हार्मोनीमा हामीले काम गर्न सकेका छैनौं । कलर हार्मोनीको बारेमा बुझ्न कलर थ्योरीको बारेमा जान्नुपर्ने हुन्छ । कलर, कलर टेम्प्रेचर के हो भनेर फिल्म निर्माताले बुझ्नुपर्छ ।’

निर्देशक रक्षा सिंह राणाले क्यानभासलाई आफूले एउटा भिजन भनेर बुझ्ने बताइन् । उनले भनिन्, ‘आर्टिस्टले क्यानभासमा जे गर्नुहुन्छ । फिल्ममा गर्ने त्यही नै हो । माध्यम मात्र फरक हो ।’ कलाकार अशोकमान सिंहले रङ आफैंमा संवेदनशील हुने बताए । फिल्मले जीवनमा प्रभाव पारिरहेको धारणा राखे । फिल्ममा प्रयोग हुने रङ र कलामा प्रयोग हुने रङमा भिन्नता हुने उनको भनाइ छ ।

रङ संयोजक कपिल पराजुलीले कम्युप्टरबाट निर्माण हुने रङ र प्राकृतिक रङ मिलाउन खोज्दा कठिन हुने गरेको धारणा राखे । उनले भने, ‘चित्रकलालाई नांगो आँखाले हेर्न सक्छौं तर फिल्म त्यस्तो होइन । चित्रकलामा राम्रो गर्न सक्छौं । फिल्ममा कम्प्रोमाइज हुन्छ ।’

कला निर्देशक निर्जल श्रेष्ठले क्यानभासै क्यानभासको संयोजन नै फिल्म भएको बताए । उनले भने, ‘क्यानभास चल्दैन, फिल्म चल्छ । क्यानभासले मुलुकको वैभवता, सभ्यता र संस्कृति देखाउँछ ।’ निर्देशक छिरिङरितार शेर्पाले चलचित्रमा लिबर्टी धेरै हुने र क्यानभासमा लिमिटेसन हुने धारणा राखे ।

प्रतिष्ठानका कुलपति शर्माले फिल्म पनि ललितकलाको विधामा पर्ने बताइन् । ‘एउटा कलाले जिन्दगी बताउन सक्छ । हेर्ने नजर चाहिन्छ,’ उनले भनिन् । निर्देशक शाहले क्यानभास आफैंमा अनेकथरी अर्थ बोकेको वस्तु भएको बताए । उनले भने, ‘त्यसको प्रारम्भिक स्वरुप सेतो हुन्छ । त्यहाँ जसले जे गर्दा पनि हुन्छ । जुन पेन्टिङलाई तपाईंहरु अमूर्त भन्नुहुन्छ त्यसको पराकाष्ठा नै क्यानभास हो । क्यानभासमा रङ हुँदैन । रङबिहिन हुनु पनि एउटा रङ हो ।’

प्रत्येक रङको एक किसिमको प्रतीकात्मक बुझाइ हुने भन्दै उनले फिल्मकर्मीले रङलाई कोरा रङकै रुपमा मात्र बुझ्न नहुने धारणा राखे । फिल्म र रङबीच प्रगाढ सम्बन्ध हुने उनको भनाई छ । ‘प्रत्येक चित्रकारले कोरेका चित्रहरु सल्बलाउन थाले भने अथवा बोल्न थाले भने त्यो फिल्म बन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?