+
+

‘फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा गर्ने गलत प्रवृत्ति देखियो’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १४:३५

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हल्कारा’की अभिनेत्री विनिता थापामगरले फिल्म र रंगमञ्चमा पछिल्लो समय भइरहेको अभिनयप्रति असन्तुष्टि जनाएकी छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भनेकी छन्, ‘पर्दा र स्टेजमा गर्ने अभिनय भिन्न हुन्छ । तर यहाँ फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा भइरहेको छ । जुन एकदमै गलत हो ।’

नाम चलेका कलाकारले नै यस्तो अभिनय गरिरहेको भन्दै उनले अगाडि भनिन्, ‘म उहाँहरुको नाम लिन त चाहन्न तर यसमा उहाँहरुको बाध्यता पनि हुन सक्छ । उहाँहरुमा रिसर्च नपुगेको होला । एक्टिङलाई लिएर गहन तरिकाले सोच्न नपुगेको हो कि जस्तो लाग्छ मलाई ।’

विनिताको जस्तो यस्तो असन्तुष्टि यसअघि फिल्म समीक्षकहरु पनि गर्दै आइरहेका छन् । थिएटर पृष्ठभूमिकी ‘हल्कारा’ फेम्ड अभिनेत्रीले संसारका सबै पात्रमा अभिनय गर्ने आफ्नो धोको रहेको सुनाइन् । विक्रम सापकोटा निर्देशित यो फिल्ममा उनले श्रीमानको अनुपस्थितिमा घर सम्हालेकी महिलाको भूमिका निर्वाह गरेकी छन् ।

यो फिल्मका लागि उनले तीनपटक अडिसन दिएको अनुभव पनि सुनाइन् । ‘मैले तीनपटक अडिसन दिएँ । एउटा भिडियो अडिसन, एउटा हिरोसँग केमेस्ट्री बिल्डअप अडिसन हिरोसँग र अर्को स्क्रिन टेस्ट अडिसन,’ उनले भनिन्, ‘धेरै रिसर्च अनलाइन र युट्युबबाटै गरेकी हुँ । सुटिङको क्रममा गाउँमै गएर गाउँले महिला कस्तो देखिन्छन्, उनीहरुको बोलीचाली र अनुभव कस्तो हुन्छ, हुलिया, सबै अब्जर्भ गरेकी हुँ ।’

फिल्मबारे कुरा गर्दै उनले वैदेशिक रोजगारीको लुकेको पाटोलाई फिल्मले पेश गर्ने बताइन् । ‘रिसर्च गर्ने क्रममा एउटा न्युज पनि हेरेकी थिएँ, २०६१ सालमा १२ जना नेपालीहरु ठूलो सपना बोकेर विदेशिएका थिए । श्रीमतीको लागि गहना बनाउँछु, बाउआमाको लागि घरजग्गा जोड्छु भन्ने आशाले गएका थिए तर फर्किएनन् । यो कुराले फिल्म खेल्न प्रेरित गरें ।’

श्रीमान् विदेश जाँदा पत्नी घरमा अलग भएर एक्लै बस्नुपरेको पीडा र यसको सामाजिक असर फिल्ममा हेर्न सकिने उनी बताउँछिन् । ‘एक्लै कसरी समस्या समाधान गर्न सकिन्छ भनेर बुझ्नुपर्छ । फिल्मले आँट र साहस दिन्छ,’ उनी भन्छिन्, ‘यसको कथा नेपाली दर्शकसँग शतप्रतिशत जोडिएको छ । जे हो त्यही देखाउन खोजिएको छ । हरेक घरमा जे कथा छ, त्यही कथा पनि छ । सरप्राइज, सस्पेन्स तत्व पनि छन् ।’

हालै अभिनयको १४ औं वर्ष मनाएकी विनिता हरेक पात्र र फिल्मका लागि तयार छिन् । ‘मेरो कर्म भनेको नै एक्टिङ हो । मैले एक्टिङ कमर्सियल र आर्टटाइपमा पनि गर्छु,’ भन्छिन्, ‘सबै खालको क्यारेक्टर गर्न मन लाग्छ । पाएँ भने संसारका सबै पात्रको चित्रण गर्न पाएँ भने भाग्यमानी ठान्छु । ठूलो रोल होइन, आइलाग्ने रोल गर्छु ।’ प्रायः नेपाली फिल्ममा महिलालाई दबाइएको पात्रको रुपमा चित्रण गर्ने गरिएपनि हल्काराको पात्र बलियो रहेको उनी बताउँछिन् ।

यसबाहेक आफ्नो कम्पनी एड्भेन फिल्मसँग बसेर छोटो फिल्म बनाउने तयारीमा उनी छिन् । अहिले प्रि–प्रोडक्सनको काममा उनी व्यस्त छिन् । ‘यतिबेला त फिल्म बनाउने पो सोचिराखेकी छु । बाँचे भने ८० वर्षपछि पनि अभिनय नै गर्छु,’ विनिता भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?