+
+
Shares

एउटा नाटकले डोर्‍याएको वेदनाको बाटो

उनको विचारमा अभिनय भनेको प्रस्तुत गर्नु मात्र होइन, अरु कसैको ठाउँमा उभिनु हो ।

सापेक्ष कञ्चन सापेक्ष, कञ्चन
२०८३ असार २१ गते १९:३९

उनलाई मण्डला थिएटरबाट फोन आयो । 

अनपेक्षित फोन कलमा अनपेक्षित खबर थियो । मञ्चन हुन लागेको मित ज्यू नाटकमा अभिनयका लागि  त्यो फोन कल आएको थियो । केही नसोची उनले ‘हुन्छ’ भनिदिइन् ।

त्यसको केही दिनमै रिहर्सल सुरु भयो । ‍उनी थिएटर पुगिन् । तर, निर्धारित समयभन्दा आधा घण्टा ढिलो भइसकेको थियो । 

थिएटरभित्र छिर्दा दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा लगायतका कलाकारहरू गोलो घेरा बनाएर बसिरहेका थिए । एक क्षण त उनलाई लाग्यो – म गलत ठाउँमा छिरेँ !

तर, उनी सही ठाउँमा नै छिरेकी थिइन् । एक त आफ्नो बुताबर्कतभन्दा बाहिरको ठाउँ, त्यसमाथि आफूले सम्मान गर्ने मान्छेहरू आँखै अगाडि । उनलाई त्यहाँ एकदमै असजिलो भयो । उनी अन्तर्मुखी स्वभावकी पनि थिइन् । कसैले नाम सोध्दा मात्र पनि उनलाई डर लाग्थ्यो।

त्यहाँ आफ्नो परिचय दिनु पर्ने थियो । धन्न ! अरु कसैले उनको परिचय बाँकी रहेकाहरूमाँझ गराइदियो । अनि लामो सुस्केरा हालिन् ।

000

सोही नाटकको प्रिमियर शो मञ्चन हुन केही मिनेट बाँकी थियो । नेपथ्यमा उनी ढुकढुकी बढिरहेको आफ्नो मनलाई सम्हाल्ने कोसिसमा थिइन् । 

त्यो नाटकमा भूमिका सानो थियो । तर, पहिलो नाटक र पहिलो शो भएकाले उनका लागि खास थियो ।  भूमिकामा कोरस बन्नु पर्ने थियो । कुनै संवाद थिएन।

तर, जसै लाइट उनी माथि पर्यो, उनी भावशून्य भइन् । दिमागमा केही आएन । सबै खाली खाली लाग्यो । अर्धचेतसरह अवस्थामा उनले खै के-के गरिन् । आफ्नो डर कम गर्न कोरसमै भएकी पवित्रा राईलाई उनले मञ्चमै पछ्याइने कोसिस गरिन् । जो उनीभन्दा केही अनुभवी थिइन् ।

यद्यपि मञ्चनका क्रममा कुनै समस्या भएन । उनले ठीकै गरेकी थिइन् । त्यसपछि हरेक दिन नाटकको मञ्चन शो थपिँदै जाँदा बानी पर्दै गयो । उनी मञ्च र पात्रमा अभ्यस्त हुन थालिन् ।  

000

हेर्दा हेर्दै नाटकको मञ्चन समयअवधि पनि सकियो । 

अनि पो उनले बल्ल याद गरिन् – हुँदाखाँदाको जागिर छाडिसकेकी छु । फुर्सद नै फुर्सद छ । भर्खरै मात्र नयाँ उडानका लागि पखेटा हालेकी छु ।  त्यो उडानको अलिकता भए पनि स्वाद चाखेकी छु । 

तर, ‘अब के गर्नु पर्ने हो ! कसो गर्नु पर्ने हो !’ उनलाई केही कुराको मतलब थिएन । बस् ! त्यो समयमा उनी रमाइरहेकी थिइन् । बाँचिरहेकी थिइन् । खाली समय हुँदा उनले सोचीहोलिन् – आफू कहाँदेखि आएँ ? कसरी आएँ ? के ठीक  गरेँ  त मैले ?

 उनले सोची हुन् – आ…! जे सुकै होस् । कोन्सा सोचेर सोचेर म यहाँ आइपुगेकी हुँ र ! म त उड्दै उड्दै, खोटाङ-लेटाङ हुँदै, कर्पोरेट अफिसदेखि मञ्चसम्म पो आइपुगेकी हुँ ! जे होला होला ! देखा जाएगा !

 000

आज वेदना खेरेसुम्सा राईले रंगमञ्चको उडान निकै भरिसकेकी थिइन् । त्यसैबाट म्युजिक भिडियो, केही सिरियल र फिल्महरूमा समेत उनको उडान भइसकेको छ । तर, उनको मन भने रंगमञ्चमै अडिएको छ । रंगमञ्च उनको आधार हो । 

अहिले टेकुस्थित कौसी थिएटरमा वेदना अभिनित नाटक मञ्चन भइरहेको छ – दी टेस्ट अफ् सेलरोटी । सेलरोटी मिठो व्यञ्जन मात्र नभएर कसरी वियोगान्तको प्रतीक बन्न सक्छ भन्ने आधारमा यो नाटक उभिएको छ । तीनवटा बेग्लाबेग्लै जुगको समान कथा बोकेका दृश्यहरूमा वेदनाको अभिनय जुग जस्तै छ । 

नाटक टेस्ट अफ सेलरोटीको एक दृश्य ।

वियोगको वेदनाले विवर्ण भएको उनको आभाकृतिले सौन्दर्यसहित पीडा अभिव्यक्त गर्नुलाई उनको अभिनयकौशलको सफलताको रूपमा लिन सकिन्छ ।

किनकि, यो नाटकको पर्दा उघ्रिनासाथ वेदना आफ्नो नामको पर्याय हुन पुग्छिन् ।  

संवाद पनि चाहिँदैन उनलाई । स्थिर र गम्भीर तालझैँ आफ्नो आँखाले जसरी पात्र र परिस्थितिलाई नियाल्छिन्, त्यति नै पर्याप्त बन्न पुग्छ । वेदना पात्रहरूका वेदना मात्र हैन, हर्ष र आशालाई पनि उत्तिकै तन्मयताका साथ प्रस्तुत गर्छिन् । 

आजको दिनमा नेपाली समकालीन नाटकको वर्तमान परिदृश्यहरूको चर्चा गर्दा वेदना नछुट्ने नाम बनिसकेको छ । मण्डला, शिल्पी, कौशी … यी थिएटरहरूमा उनले आफ्नो कलाको, उपस्थितिको डोब मज्जैले छाडेकी छिन् । नयाँ डोब बनाउने अभिक्रममा पनि छिन् । 

000

वेदनाको नाटकप्रतिको मोहको उदय शिल्पी थिएटरको एक साँझबाट भएको थियो । सो साँझ उनी दाइ नाता पर्ने सुमन सेन्चुरीसँग नाटक हेर्न पुगेकी थिइन् । नाटक थियो, घिमिरे युवराज निर्देशित दिक्षान्त । 

त्यसबेला आईटी कम्पनीमा एड्मिनको काम गरिरहेकी उनलाई नाटक के हो ? थाहा थिएन । खासमा त्यसअघि उनले नाटक हेरेकै पनि थिइनन् । तर, त्यो नाटकका पात्रहरूले उनलाई यस्तरी तान्यो कि उनको आँखामा लगाएको गाँजलहरू मेटिए । र, अनायसै उनी ती पात्र र कलाकारहरूको भूमिकादेखि मोहित भइन् । अनि फेरि सुटुक्क एक्लै सोही नाटक हेर्न थिएटर पुगिन् । त्यसबेला उनले मञ्चमा आफैंलाई देखिन् ।

‘मलाई त्यही बेलादेखि आफूले पनि नाटक गर्न पाए हुन्थ्यो झै लाग्न थाल्यो । एक पटक मात्र पाए मैले कस्तो गर्दो हुँ भन्ने लागिरह्यो’ उनी सुनाउँछिन् ।

त्यसपछि ‘रेगुलर जब’ भन्दा पनि नाटक प्रियतर लाग्न थाल्यो वेदनालाई । फेसुबकमा नाटकहरूबारे खोज्न थालिन् । थिएटरहरूलाई फलो गर्न थालिन् । रंगमञ्चका मान्छेहरूसँग सामाजिक सञ्जालमा जोडिन थालिन् ।

त्यस्तै त्यस्तै बीच उनले हुँदाखाँदाको जागिर छाडिदिइन् । 

समय कोभिड लकडाउन आसपासको थियो । 

तर, उनमा बिल्कुलै कुनै चिन्ता थिएन । उनी अबोध बच्चाझैं भएकी थिइन् । नाटकका हरेक कुरा उनको हकमा नयाँ थियो । कक्षामा सिकाइने कुराहरूमा गहिरिएर बसिरहन्थिन् । कति कुरा सुन्दा अचम्ममा पर्थिन् । 

त्यसरी छोटो समयकै भएपनि नाटकको अध्ययनले उनीभित्रको कलाकार पोषित गर्दै लग्यो।

त्यसपछि नै उनलाई मित ज्यू नाटकमा बोलाइएको थियो ।  मित ज्यू पछि उनले लगातार जसो काम पाइरहिन् । 

चोरको स्वर उनको दोस्रो नाटक थियो । यो नाटकमा उनलाई प्रकाश बान्तवा राईले बोलाएका थिए । प्रकाश अहिले टेस्ट अफ सेलरोटी मा वेदानाको सहकलाकार पनि हुन् । त्यसपछि वेदनाले गरेको खुवालुङ हो । 

यो नाटक उनको जीवनको ठूलो मोड बन्यो । वेदना भने चोरको स्वरलाई मान्छिन् । जे होस्, खुवालुङ पछि रंगमञ्चका मान्छेहरूले उनलाई विश्वास गर्न थाले । अर्कोतिर खुवालुङ राजनीतिक सन्दर्भसँग पनि जोडिएको थियो ।

 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खुवालुङ जलयात्राको अवरोध बनेको भन्दै यसलाई फुटाउने योजना अघि सारेका थिए । जुन किरात आस्था विरोधी कुरा थियो । 

संस्कृतिमा आक्रमण हुने भन्दै सो कुराले आन्दोलनको रुप लियो । प्रधानमन्त्रीको योजनाविरुद्ध अभियन्ताहरूले सडकमै उत्रिएर विरोध जनाइरहेका थिए । तर वेदना कलाकार हुनुको नाताले कलाको माध्यमबाट खुवालुङको स्वर बनिन् । यो नाटक धेरै लोकप्रिय भयो ।

 विकट जिल्लाहरूबाट पनि मान्छेहरू यो नाटक हेर्न आएका थिए । यतिसम्म कि सीमापार दार्जीलिङ, सिक्किमलगायत टाढा–टाढाका मान्छेहरू पनि नाटककै लागि भनेर आएका थिए ।

एउटा कलाकारका रूपमा यति धेरैले विश्वास गरेर आउँदा आफूले त्यो भरोसा पूरा गर्न सकेँ कि सकिन भन्ने डर पनि लाग्थ्यो, वेदनालाई । आफूप्रति देखाइएको  प्रेमको कलात्मक पूर्ति गर्न उनी डटिरहिन् । 

‘मैले काम गरेका सबै नाटकहरू मलाई प्रिय लाग्छ । तर, खुवालुङ भने दर्शकहरूले धेरै रूचाइदिनुभयो । एक अर्थले हेर्ने हो भने नाटक क्षेत्रमा संलग्न मान्छेहरूले पनि पत्याइदिनुभयो,’ वेदना मुस्कुराउदै भन्छिन् । 

खुवालुङ पछि उनले बुद्ध र भिखारी, ब्युँझिएको सिरानी, बाखाम्मा, मेषीदण्ड लगायतका नाटकमा काम गरिन् ।

नाटक खुवालुङको एक दृश्य ।

मेषीदण्डमा उनले धामीबिजुवाको भूमिका निभाइन् । कुलुङ समुदायमा महिला धामीलाई ‘महारानी’ भनिन्छ । त्यस नाटकपछि मञ्चबाहिर भेट्दा पनि दर्शकहरूले उनलाई ‘महारानी’ कै रूपमा चिने । 

पात्रसँगको आत्मीयताले विशेष सम्मान देखाउन थाले । कोही कोहीले उनलाई ढोग्न पनि खोजे । यस्तो सम्मान पाउँदा उनलाई कहिलेकाहीं आफू यो सम्मान पाउन लायक हुँ कि होइन भन्ने द्विविधा हुन्थ्यो ।

मुक्कुमलुङ, कथा एक, भट्टी टेल्स पनि उनले गरेका नाटक हुन् । त्यो बीचमा उनी नाटक निर्देशनमा पनि आइन् । शिल्पिनी उनको निर्देशनमा बनेको पहिलो नाटक हो । त्यसपछि डल्ले खोलाए थिबेउ पनि उनले निर्देशन गरिन् । 

000

यति धेरै संख्यामा नाटक र अभिनय गरिसकेकी वेदनाको आफ्नै दर्शन छ।

अभिनय भन्ने चीज अध्ययन र परिश्रमले मात्र फक्रिन्छ भन्ने कुरामा उनलाई रत्तिभर विश्वास लाग्दैन । अनि जन्मजात प्रतिभाले मात्र पनि कलाकार बन्न सकिने कुरा पनि उनी मान्दिनन् । परिश्रम र मानवीय सहृदयता उतिकै आवश्यक पर्छ । 

‘गायनमा स्वर वरदान हुन सक्छ, तर अभिनयमा त्यस्तो हुँदैन’ वेदना भन्छिन्, ‘राम्रो कलाकार हुनुअघि असल मान्छे हुन जरुरी छ ।’

अरूलाई सधै ‘जज’ गर्ने, आफ्नो दृष्टिकोणको कसीमा अरूलाई तौलिरहने मान्छे कहिल्यै राम्रो मान्छे बन्न सक्दैन – वेदनालाई यस्तै लाग्छ । पृथक चरित्र चिन्नलाई आफ्नो हेराइको परिधि बढाउनुपर्ने कुरालाई उनी कलाकारको प्राथमिक विशेषताको रूपमा लिन्छिन् । 

उनको विचारमा अभिनय भनेको प्रस्तुत गर्नु मात्र होइन, अरु कसैको ठाउँमा उभिनु हो । आफूलाई जति माया गर्छौं, अर्काको स्पेसलाई पनि त्यत्तिकै आदर गर्नु पनि हो । 

त्यसैगरी उनी भिन्न-भिन्न पात्रहरूलाई पनि आत्मसात गर्छिन् । र, तिनलाई महसुस गर्ने उनको आफ्नै तौरतरिका छ ।

उनको हकमा सुरुवाती चरणमा पात्रको बाहिरी आवरण मात्र दृश्यमा आउँछ । यस अन्तर्गत उनी पात्रको नाम, रूपरङ र बाह्य रुचिहरू जस्ता सतही पाटाहरू नियालिन्छन्। तर, यति मात्रैले पात्र जीवन्त हुन सक्दैन । विस्तारै उसको आन्तरिक जगतमा उनी प्रवेश गर्छिन् ।

उनी पात्रको भित्री तहमा पुगेपछि उसको वैचारिक चिन्तन खोतल्ने काम सुरु गर्छिन् । उसलाई केले सन्तुष्टि दिन्छ र कस्तो परिवेशले खुसी तुल्याउँछ भन्ने कुराको खोजी गर्छिन् । उसले सुन्ने सङ्गीतको लय, मन पराउने पहिरनको रङ र साथीभाइसँग गर्ने संवादका विषयहरूलाई केलाउँछिन् । 

नाटक टेस्ट अफ सेलरोटीको एक दृश्य ।

यसरी बाह्य रूपरेखा र आन्तरिक चेतनाको संयोजनबाट विस्तारै उनले एउटा पूर्ण मानव अस्तित्व मानसपटलमा उभाउँछिन् । र त्यो मानसपटललाई हामीले मञ्चमा देख्ने गर्छौं ।

यो क्रममा सबै मान्छेहरूको भित्री धरातल उस्तै भेटिने वेदना सुनाउँछिन् । यही साझा र सामान्य मानवीय तत्वका कारणले नै आफूभन्दा बिल्कुलै फरक र जटिल लाग्ने पात्रसँग पनि आत्मीय रूपले जोडिन सकिने वेदनाको अनुभव छ ।

अर्को कुरा, कलाकारहरूले एउटा नाटक लामो समयसम्म खेलिरहनु पर्ने हुन्छ । नवीनता खोजिरहने कलाकारको जातलाई यो कुराले एकरसता मात्र पनि दिन सक्छ । वेदना भने यो कुरालाई आनन्दको स्रोतको रूपमा लिन्छिन । 

‘रिहर्शल गर्दागर्दै शरीरलाई सबै नाटक याद भइसकेको हुन्छ । केवल शरीरको सहज गतिलाई स्वागत गर्नु मात्र हो’ वेदना भन्छिन् । 

कहिलेकाहीँ जब सहज गतिमा क्रमभंगता हुन्छ, तब त्यसले नयाँ अभ्यासका लागि स्थान दिन्छ । जब कहिलेकाहीं सहजतालाई रिक्तताले छोप्छ, उनी त्यसमा नयाँ अर्थ खोज्छिन् । नयाँ कुरा ध्यान दिन्छिन् । 

उनलाई टेस्ट अफ् सेलरोटी मा केही दिन अभिनय गरेपश्चात यस्तै अनुभव भएको थियो । दिनैदिनै निभाउँदै आएको भूमिकामा केही नयाँपन भेटेको अनुभूति भएको थियो । त्यसपश्चात उक्त पात्रलाई हेर्ने उनको नजरिया अहिले फेरिएको छ ।

त्यस्तै भारतीय समानान्तर सिनेमाका अग्रजहरू नेपाली थिएटर कलाकारहरूको तुलना गर्न सकिन्छ कि भन्ने प्रश्नमा उनी भन्छिन्, ‘यो कुन काम हो भन्नेमा भर पर्छ । किनकि विधा फरक फरक हुन्छ’ 

सेतो सूर्य जस्ता काम त्यस्तै समानान्तर परम्परासँग तुलना गर्न सकिने उनी उदाहरण दिन्छिन्। नेपालको कमजोर आर्थिक अवस्थाले पनि यस क्षेत्रमा ठूलो असर पारेको उनको बुझाइ छ । 

भारतमा आर्थिक अवस्था बलियो भएकाले त्यहाँ निर्माता भेट्टाउन सजिलो हुन्छ, नेपालमा भने त्यो सहज छैन । तैपनि साह्रै सीमित स्रोतमा पनि काठमाडौंमै वर्षभरि थुप्रै नाटक बन्ने गरेको उनी उल्लेख गर्छिन्। 

दर्शकको संख्या र थिएटरप्रतिको सम्मान विस्तारै बढ्दै गएकाले भविष्य आशाजनक देखिने उनको ठम्याइ छ । उनी आफैं पनि पहिलोपटक नाटक हेर्न गएर यही क्षेत्रमा थपिएकी हुन्, जुन दर्शक संख्या स्वतः बढ्दै गएको एउटा उदाहरण हो ।्

र, केही नजान्ने जिज्ञासु वेदना

आजकल बेलाबेला वेदनालाई एउटा भैंसीको खुब सम्झना आउँछ ।

कुरा उनी ८/९ वर्षको हुँदाको हो । त्यसबेला उनीहरू खोटाङको लामाखु भन्ने ठाउँबाट लेटाङ बसाइँ सरिसकेकै थिएनन् । त्यतिबेला उनका बुबा वैदेशिक रोजगारीका लागि दुबई गएकाले घरमा उनी र आमा मात्र बस्थे । 

बुबाले पठाइदिएको पैसाबाट आमाले २० हजार रुपैयाँमा छिमेकी गाउँबाट भैंसी किनेर ल्याएकी थिइन् । घरमा उनीहरू त्यही भैँसी र सानो पाडीजस्तै त थिए । उनलाई थाहा छैन- अहिलेसम्म त्यो भैँसीको किन साह्रै सम्झना र माया लागेको हो !

सायद त्यही बेलादेखि वेदनाको भित्री मनमा एउटा कलाकार जन्मिरहेको थियो । जसले सबैलाई मनभित्र राखेर बुझ्ने कोसिस गर्थ्यो । जसले कसैलाई बिनास्वार्थ्य हेर्थ्यो । केही नसोचेरै पाइला अघि बढाउँथ्यो ।  

आज त्यही केही नजान्ने, जिज्ञासु वेदना आफूलाई पनि खुबै सम्झिरहेकी हुन्छिन् ।

फोटो: चन्द्रबहादुर आले

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?