+
+

कांग्रेससँगको जोडी कायम राखे प्रचण्डको फिल्म सुपर फ्लप हुन्छ : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १८:४१

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धन बदल्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै उनले वर्तमान सत्तागठबन्धनमै कायम रहँदा सफल हुन नसक्ने भएकाले प्रचण्डले गठबन्धन बदल्नु पर्ने उनले बताए । गठबन्धन बदलेर कुन गठबन्धन बनाउनेबारेमा भने उनी खुलेनन् ।

सत्ता सहयात्राको जोडी बदल्नुपर्ने कारणबारे उनी थप्छन्, ‘यो जोडीलाई ‘कर्मचारीले विश्वास गरेको छैन् । विदेशीले विश्वास गरेको छैन् । नेपाली लगानीकर्ताले विश्वास गरेको छैन् ।’

२०७८ साल असारमा एमाले नेतृत्वको सरकार ढलेपछि नेपालका निजी क्षेत्र समेत उत्साहित हुन नसकेको उल्लेख गर्दै उनले नेपालको निजी क्षेत्रले समेत कांग्रेस र माओवादी नेतृत्वको संयुक्त सरकारलाई नपत्याएको बताए । विदेशी सहयोग र अनुदान घटेको भन्दै कांग्रेस र माओवादीको संयुक्त सरकारलाई विदेशी दातृ निकायहरुले, अन्तराष्ट्रिय समुदायले नपत्याएको रुपमा ब्याख्या गरे ।

फेरि पनि जोडीबारे छलफल गर्नुपर्ने उल्लेख गर्दै एमाले सचिव भट्टराईले कारण दिन खोजेका छन्, ‘सरकार चलेकै छैन् । सरकारको संयत्र चलेको छैन् । कर्मचारीतन्त्र चलेकै छैन् ।’

२०७८ सालदेखि गठबन्धनमा रहेका कांग्रेस र माओवादीलाई एउटा जोडीको रुपमा अर्थ लगाएका उनले यो सहयात्रालाई जोडी कलाकारको पनि संज्ञा दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फ्लिम देखाउँछु भनेको स्मरण गरे । केही दिन अगाडि प्रधानमन्त्री प्रचण्डले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमाथिको अनुसन्धानलाई ट्रेलर भन्दै फ्लिम नै देखाउने बताएका थिए ।

तर, अहिलेकै जोडी (कांग्रेस र माओवादीको सहकार्य)मा रहँदा प्रधानमन्त्री प्रचण्डले देखाउने फ्लिम सुपर फ्लम हुने सचिव भट्टराईको दाबी छ ।

उनी भन्छन्, ‘यही जोडी कायम राख्ने हो भने प्रधानमन्त्रीको फ्लिम सुपर फ्लम हुने निश्चित छ । किनकी अब यसले कुनै गाढा तान्न सक्ने अवस्था देखिँदैन । यसप्रति चौतर्फी अविश्वास सिर्जना भएको छ ।’

प्रधानमन्त्री प्रचण्डलाई उनको राय छ, ‘अब यो जोडी कायम राख्ने कि, जोडी बदल्ने कि, छोड्ने ? अब यो ठाउँमा छलफल गर्नुपर्छ जस्तो लाग्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि झारपुकले नपुग्ने उल्लेख गर्दै सर्जरी नै गर्न आवश्यक रहेको बताएका थिए । सांसद वाग्लेको भनाइमा समर्थन जनाउँदा एमाले सचिव भट्टराईले फेरि पनि सांकेतिक रुपमा सत्तागठबन्धन बदल्नुपर्ने विषयमै जोड दिए ।

‘माननीय सदस्यको भनाइमा म अझै थप्न चाहन्छु– सर्जरी त गर्ने हो । तर, उपकरण ठीक छैन् । डाक्टर ठीक छैन माननीय सदस्य’ सचिव भट्टराईले थपे ‘डाक्टर बदल्ने कि ? उपकरण बदल्ने कि ? त्यही उपकरण, त्यही काम नलाग्ने डाक्टरलाई सर्जरी गर्न लगाउने ? अब यो हो बहस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?