+
+

धनगढीका मेयर : आशा जगाउन काम थाले, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा

जनक विष्ट जनक विष्ट
२०८० वैशाख २७ गते २०:०१
धनगढी महानगरपालिकाका मेयर गोपाल हमाल र उपमेयर कन्दकला कुमारी राना

२७ वैशाख, धनगढी । पोहोरको स्थानीय चुनावमा तत्कालीन मेयर नृपबहादुर वडलाई पराजित गरेर स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयरमा विजयी भएका थिए । नगरको नेतृत्वमा स्वतन्त्र व्यक्ति, उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यमा दलगत प्रतिनिधित्व भएका कारण धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिको पहिलो वर्षको सुरुवातका दिन केही रोचक देखिए ।

गत असारमा मेयरले बजेट निर्माणको विषयमा समन्वय नगरेको भन्दै एमालेले नगरसभामै विरोध जनाएको थियो । सोही क्रममा जनप्रतिनिधिबीच कुर्सी फालाफाल नै भयो । त्यसयता भने जनप्रतिनिधिहरूबीचको आन्तरिक विवाद सार्वजनिक रूपमा देखिएको छैन ।

उपमेयरमा माओवादीकी शान्ति अधिकारीलाई हराउँदै एमालेकी कन्दकला कुमारी राना विजयी भएकी थिइन् । मेयर र उपमेयरसँगै ११ वडा जितेको कांग्रेस, ६ वटा वडा जितेको एमाले र २ वटा वडामा सीमित माओवादी केन्द्रका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालको पहिलो वर्ष पूरा गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा सबै वडामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने उल्लेख गरेका थिए । उक्त प्रतिबद्धता अनुसार उपमहानगरपालिकाले मासिक क्यालेन्डर तयार गरेर विशेषज्ञ चिकित्सकसहितको वडा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको छ ।

क्यालेन्डर अनुसार नै प्रत्येक वडामा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने काम भइरहेको छ । यो अवधिमा ३३ हजार ५६६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ ।

स्वास्थ्यतर्फ नै आमा बचाऊ कार्यक्रम अन्तर्गत वडा नम्बर १६, १८ र १९ मा दुई वटा एम्बुलेन्सको व्यवस्था गरेर गर्भवतीका लागि निःशुल्क सेवाको पनि थालनी गरेको छ । सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउन नसक्दा हुलाकी सडक आयोजना कार्यालयले त्यसै छाडेको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडकमा उपमहानगरपालिकाले गत कात्तिकमा डोजर चलाएको थियो ।

मेयर हमालको अगुवाइमै डोजर चलाएर घरधनीहरूकै सहयोगमा उपमहानगरपालिकाले सडकमा पर्ने संरचना हटाएर ३० मिटर कायम गरेको छ भने प्रदेशको शहरी विकास कार्यालयमार्फत निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको छ ।

तत्कालीन मेयर नृपबहादुर वडले खोलानाला तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउने निर्णय गरे पनि पाँच वर्षमा हटाउने कामको थालनी गर्न सकेका थिएनन् तर हमाल मेयर बनेर आएपछि भने खोलानाला र सार्वजनिक जग्गा अतिक्रमण हटाउने काम अघि बढेको छ । मेयर हमालको सचिवालयका अनुसार अहिलेसम्म २, ३, ४, ५, ७ र १३ वडा नम्बरका विभिन्न १४ ठाउँमा खोलानाला, तालतलैया र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम गरिएको छ ।

खोलानाला र तालतलैया अतिक्रमण गरेर संरचना बनाइएपछि धनगढीमा सानो वर्षामा पनि डुबान हुने समस्या रहेको छ । अतिक्रमण हटाउन थालिएको अभियानले डुबानको समस्या समाधान गर्न सघाउने उपमहानगरपालिकाले विश्वास गरेको छ । उपमहानगरपालिकाले यो अवधिमा धनगढीको ६ लेन सडकको मुख्य चौराहदेखि गेटा विमानस्थलसम्म स्मार्ट बत्ती जडान, भन्सारदेखि विमानस्थलसम्म मास्क बत्ती जडान, सबै वडामा घरबाट उत्पादन हुने फोहोर वर्गीकरण गर्दै व्यवस्थित रूपमा विसर्जन गर्ने, कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्ने लगायत कामको पनि थालनी गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ को सडकमा गरिएको ग्राभेल

नगर क्षेत्रमा प्लाष्टिकको पोलिथिन झोला, प्लाष्टिकका वस्तु बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध गरेको, मुख्य समस्याका रूपमा रहेको सामुुदायिक पशु व्यवस्थापनका लागि वडा नम्बर १६ र १८ मा नयाँ गौशाला र वडा नम्बर ७ को गौशालालाई व्यवस्थित बनाइएको कुरालाई पनि प्रगतिमा राखिएको छ । १९ वटै वडामा भूमिहीन, सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्न नापजाँच गरिरहेको, मासिक कार्य योजना बनाएर बजार अनुगमन भइरहेको, सबै वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रहरूमा कर्मचारी व्यवस्थापन गरिएको, करको क्षेत्र विस्तार गरिएको पनि उपमहानगरपालिकाले जनाएको छ ।

सुुशासन कायम गर्ने उद्देश्यले नगरवासीका गुनासो सुन्न ह्वाट्स एप र गुनासो व्यवस्थापन कक्ष निर्माण गरेको छ भने हेल्लो मेयर एप सञ्चालनमा ल्याएको छ । एक लाख भन्दा बढीको वस्तु तथा सेवा खरिद गर्न सार्वजनिक सूचना जारी गर्ने प्रणाली गरिएको छ भने ६ लेन सडकमा ट्राफिक प्रहरीसँगको समन्वयमा ट्राफिक चिह्नहरू राखिएको छ । यो अवधिमा ६ वटा ऐन र ६ वटा कार्यविधि तथा नगर स्वास्थ्य नीति निर्माण गरिएको छ ।

मेयरका प्रतिद्वन्द्वीको आरोप

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका प्रतिद्वन्द्वी एवं पूर्व मेयर नृपबहादुर वडले भने जनअपेक्षाअनुसार काम नभएको आरोप लगाएका छन् । आफ्नै कार्यकालमा सुरुवात गरिएका केही महत्वपूर्ण कामलाई मेयर हमालले अघि बढाएको भए पनि अधिकांश कार्यक्रम सस्तो लोकप्रियताका लागि मात्र ल्याइएको उनको टिप्पणी छ ।

‘मेरो कार्यकालमा तीन वर्षको समय लगाएर खोलानाला अतिक्रमणबारे अध्ययन गरेर प्रतिवेदन बनाइएको थियो । ६ लेनमा बत्ती जडान गर्ने योजना त्यही बेलाको हो, अहिलेसम्म तिनै काम अघि बढाइएको पाएको छु’ वडले भने, ‘फेसबुके चर्चाका लागि मात्र केही नयाँ काम भएको बाहेक खासै छैनन् । मेयरले जनताको गुनासो सुन्दैनन्, भेटघाट गर्दैनन् भन्ने सुनेको छु ।’

पूर्व मेयर नृपबहादुर वड

वडले मेयरले अमगामी असारमा कस्तो खालको बजेट र योजना ल्याउँछन् भन्ने कुरा पर्खेर बसेको बताउँदै त्यसपछि बाँकी प्रतिक्रिया दिने जनाएका छन् । मेयरका अर्का उम्मेदवार नेकपा एमालेका रणबहादुर चन्दले हमाल कार्यमुखी भन्दा पनि प्रचारमुखी बढी भएपछि जनअपेक्षाअनुसार काम नभएको टिप्पणी गरेका छन् । उनले संघीय सरकारले सञ्चालन गरेका बाहेक उपमहानगरपालिकाले आफ्नै कार्यक्रम तथा योजना कार्यान्वयन गर्न नसकेका कारण जनतामा निराशा छाएको दाबी गरे ।

‘निर्वाचनका बेला जुन अपेक्षा गरेर अहिलेका मेयरलाई निर्वाचित गराएका थिए त्यो अनुसार काम नभएका कारण निराशा छाएको छ । मेयर कार्यमुखी भन्दा पनि प्रचारमुखी बढी देखिए’ चन्दले भने, ‘भूमिहीन, दलित र सुकुम्बासीको समस्या समाधान गर्ने काम भएका छैनन् । कर्मचारीलाई प्रोत्साहन गर्ने भन्दा अलोकतान्त्रिक व्यवहार देखाएर मनोबल गिराउने काम गरिएको छ ।’

उनले नगर क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूसँग कुनै समन्वय नगरेर काम गर्ने प्रवृत्ति पनि देखिएको बताएका छन् ।

नगरवासीको धारणा

धनगढीका स्थानीय समेत रहेका कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गगन घिमिरे धनगढीका निर्वाचित जनप्रतिनिधिको एकवर्षे अनुभव झट्ट हेर्दा आशा जगाउने खालको पाएको बताउँछन् तर धेरै कुरा सूक्ष्म रूपले अध्ययन गरेर मूल्यांकन गर्न उचित हुने उनको भनाइ छ ।

मेयर गोपाल हमालले भने जनचाहना अनुसार नै काम गरिरहेको बताउँदै मूल्यांकनको जिम्मा नगरवासीको भएको बताए ।

‘सडक चौडा बनाउने, खोलानालाको अतिक्रमण हटाउने, ६ लेन सडकमा वृक्षरोपण गर्ने, बत्ती जडान गर्ने जस्ता बाहिर देखिने कामहरू हेर्दा जनप्रतिनिधिहरूले आशा जगाउने खालका काम गर्न खोजेको जस्तो देखिन्छ’ घिमिरले अनलाइनखबरसँग भने, ‘तर भित्री रूपमा बजेट तथा योजना कार्यान्वयन, नीतिगत निर्णय, आर्थिक सुशासनको पाटोमा कसरी काम गरिराख्नुभएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

व्यवसायी समेत रहेका धनगढीका स्थानीय प्रकाश भट्ट पनि जनप्रतिनिधिहरूले महत्वपूर्ण कामको थालनी गरेकाले पहिलो वर्ष सन्तोषजनक मान्न सकिने बताउँछन् । धनगढीको मुख्य समस्याका रूपमा रहेको डुबानको समस्या समाधानका लागि थालिएको खोलानाला अतिक्रमण हटाउन अभियानको सुरुवात महत्वपूर्ण काम भएको बताउँदै यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने जनाए ।

‘नगरपालिकाका जनप्रतिनिधिको कार्यशैलीप्रति व्यक्तिगत रूपमा म सकारात्मक छु । मुख्य समस्याका रूपमा रहेको अतिक्रमण हटाउन थालिएको छ यो निकै महत्वपूर्ण छ’ भट्टले अनलाइनखबरसँग भने, ‘व्यवस्थित रूपमा अघि बढाउनुपर्छ । दीर्घकालीन रूपमा डुबानको समस्या समाधान गर्न सहयोग पुग्छ ।’

मेरो कामको मूल्यांकन गर्ने जिम्मा जनतामा छाडेको छु- मेयर हमाल

मेयर गोपाल हमालले भने जनचाहना अनुसार नै काम गरिरहेको बताउँदै मूल्यांकनको जिम्मा नगरवासीको भएको बताए । ‘मैले आफ्नो क्षमता र बुद्धिले भ्याएसम्म प्रयास गरेको छु । यो एक वर्ष कस्तो रह्यो भन्ने कुरा मैले मूल्यांकन गर्ने होइन । मैले काम गर्ने हो, मूल्यांकन त जनताले गर्ने हो’ हमालले भने, ‘त्यसकारण मैले के सोचें भन्ने कुरा महत्वपूर्ण हुँदैन ।’

उनले पहिलो एक वर्षको अवधिमा उपमहानगरपालिकासँग उपलब्ध स्रोत–साधनको सदुपयोग गर्दै योजना सम्पन्न गर्ने प्रयास गरिएको बताउँदै सोही अनुुसारका काम भएको जनाए । मुख्य रूपमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विशेषज्ञ वडा क्लिनिक सेवा सुरु गरिएकाले पैसा अभावमा रोग पालेर बस्नुपर्नेको निःशुल्क औषधि उपचार भइरहेको उनी बताउँछन् ।

सामुदायिक पशु व्यवस्थापनका लागि गौशाला व्यवस्थित गर्ने, खोलानाला, तालतलैया, सार्वजनिक जग्गा अतिक्रमण हटाउन अभियान सुरु गरिएको, मुख्य सडक चौडा पार्ने जस्ता महत्वपूर्ण कामको थालनी पहिलो वर्षको उपलब्धिका रूपमा लिइएको उनले बताए । आफ्नो कार्यशैलीका बारेमा पूर्व मेयर तथा प्रतिद्वन्द्वीहरूले गरेको टिप्पणीका सम्बन्धमा कुनै प्रतिक्रिया नदिने हमालको भनाइ छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?