+
+

बालकृष्ण खाँणलाई हिरासतमा राख्न आजै म्याद लिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते ११:४८
प्रहरी नियन्त्रणमा रहेका कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण (खरानी रंगको कोटमा) । फोटो : आर्यन धिमाल/अनलाइनखबर

२७ वैशाख, काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको खुलेको छ ।

अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले अनलाइनखबरलाई बतायो ।

खाँण निकट स्रोतका अनुसार बुधबार बिहानसम्म प्रहरी पक्राउ गर्न आउला भन्ने उनलाई छनक थिएन । ‘नियमित काममै हुनुहुन्थ्यो, परिस्थिति सहज भएपछि यस विषयमा बाहिर बताउने तयारी थियो’, स्रोतले भन्यो, ‘तर, एक्कासी प्रहरी बिहान आइपुग्यो ।’ त्यसपछि हडबडाएका खाँणले आश्चर्य जनाएका प्रहरी स्रोत बताउँछ । त्यसक्रममा प्रहरीले ‘केही विषयमा सोधपुछ गर्न’ भन्दै टेकु जानुपर्ने बताएको थियो ।

बुटवलमा रहेका खाँण मंगलबार मात्रै काठमाडौं आएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले सहयोग गरेका थिए ।

आर्थिक लाभ लिएर खाँणले गिरोहलाई सहयोग गरेको प्रकरणमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा भनेका छन् । खाँणलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली खटिएको थियो ।

खाँण पक्राउ गरेलगत्तै जडिबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले जरुरी पूर्जी थमाएको थियो । दुवै जनालाई बुधबार जिल्ला अदालत, काठमाडौं उपस्थित गराउने प्रहरी तयारी छ । ‘अदालत लगेर हिरासतमा राख्न अनुमति लिन्छौं’, जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकृतले भने ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए ।

यही प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?