+
+

मछिन्द्रलाई लिग जित्न गाह्रो

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०८० वैशाख २७ गते १९:३८

२७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको मछिन्द्र बुधबार चर्च ब्वाइज युनाइटेडसँग २–१ ले पराजित हुँदा शीर्ष स्थानमा पुग्न असफल भएको छ ।

एन्फा कम्प्लेक्स मैदानमा यो पराजयले मछिन्द्रको ह्याट्रिक लक्ष्यमा धक्का लागेको छ । लिगमा लगातार चौथो जित निकालेको चर्च ब्वाइज ३० अंकसहित शीर्ष स्थानमा पुग्दा साविक विजेता मछिन्द्रलाई ६ अंकले पछि छोडेको छ ।

बुधबर चर्च ब्वाइजसँगको खेलमा साविक विजेता मछिन्द्रका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठ विरामी भएपछि पोष्टको जिम्मा दोस्रो रोजाइका प्रदीप भण्डारीको काँधमा आयो । टिममा अनुभवी खेलाडीको अनुपस्थितिले पार्ने असरको महसुस प्रशिक्षक किशोर केसीले टचलाइनबाट गरिरहे ।

१–१ को बराबरीमा रहेको अवस्थामा प्रदीपले ७१औं मिनेटमा आत्मघाती गोल गर्न पुगे । फुटबलमा गोलरक्षकबाट आत्मघाती गोल विरलै देख्न पाइन्छ । पोष्टको दायाँ तर्फबाट कमल श्रेष्ठले पोष्ट च्यापेर प्रहार गरेको कर्नर प्रदीपको हातमै पुगेको थियो । तर, उनले फुस्काइदिए । भुईंमा खसेको बललाई डिफेण्डर करिम ओमोलाजाले क्लियर गर्ने प्रयास गरे पनि सफल भएनन् ।

प्रशिक्षक केसी आफ्नै कमजोरीमा हार्नुपर्दाको निराशा खेलपछिको पत्रकार सम्मेलनमा पोखिरहेका थिए । ‘आजको खेलमा हाम्रै गल्ती छ । फुटबलमा गोलकिपरको आधारभूत ज्ञान भनेको निश्चित नभएको बल पञ्च गर्ने हो । आज त्यो पनि गर्न सकेको छैन,’ उनी भन्छन् ।

यही गोल चर्च ब्वाइजलाई लगातार चौथो जितसहित शीर्ष स्थानमा पुग्न पर्याप्त रह्यो । चर्च ब्वाइजले पहिलो हाफमा कमलको फ्रिकिकमा अन्जन विष्टको सुन्दर हेडर गोलबाट अग्रता बनाएको थियो । दोस्रो हाफमा मछिन्द्रले पेनाल्टीबाट बराबरी गोल फर्कायो । आन्द्रेस नियालाई चर्च ब्वाइजका डिफेण्डर फ्र्यांकलिन क्वीटेले बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा करिमले सहज गोल गरेका थिए ।

मछिन्द्रविरुद्ध गोल गरेपछि रमाउँदै चर्च ब्वाइजका खेलाडी ।

राष्ट्रिय टिमका अन्जन विष्ट, अनन्त तामाङलगायतलाई समेटेर ए डिभिजन लिगको पहिलो सहभागितालाई नै अविष्मरणीय बनाउने प्रयासमा रहेको चर्च ब्वाइजका लागि साविक विजेताविरुद्धको जित र शीर्ष स्थानको पुनरागमन बलियो आत्मविश्वासको श्रोत हुनेछ ।

‘मछिन्द्रजस्तो टिमसँगको विजयमात्र होइन पछिल्ला खेलहरुमा लगातार जितले हाम्रो खेलाडीको आत्मविश्वास बढेको छ,’ प्रदीप हुमागाईंले राजीनामा दिएपछि आठौैं चरणदेखि टिम सम्हालेका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘व्यस्त खेलतालिका र समयलाई ब्यबस्थापन नगरिदिँदा खेलाडीमा थकान छ । यसले चोटको सम्भावना बढी हुन्छ । आउने १० चरणमा चोटको समस्या नहोस भनेर कामना गरिरहेको छु ।’

किशोर केसीले पनि शीर्ष स्थानमा पुग्ने र युवा खेलाडीको आत्मविश्वास फर्काउन बुधबारको खेलमा जितको अपेक्षा गरेका थिए । टिममा लगातारको चोट समस्या र दोस्रो रोजाइका खेलाडीबाट अपेक्षाअनुसारको प्रदर्शन हुन नसक्दा मछिन्द्रलाई यसपल्ट उपाधि रक्षा गर्न कठिन छ ।

प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षक बनेपछि सातौं चरणयता मछिन्द्र टिम सम्हालेका अनुभवी प्रशिक्षक किशोर केसी आफ्नो टिमलाई विरामीले सताएकोमा दुखी छन् । ‘खेल्न नसक्ने अवस्था भएपछि खेलाडीलाई मार्ने कुरा भए । फिजियोले नै नो भनेपछि जबर्जस्ती पनि गर्न हुँदैन,’ उनले थपे, विकल्प भनेको जुनियरहरुलाई प्रयोग गर्ने हो । उनीहरुबाट गोल निस्किरहेको छैन ।’

लिग सुरु भएयता ठूलो अपेक्षासहित अनुबन्धन गरिएका भुटानी स्ट्राइकर छेन्चो ग्याल्चेनसहित विमल घर्तीमगर र देवेन्द्र तामाङ तथा भारतका दयानन्द चोटग्रस्त छन् । छेन्चो र दयानन्दले त सिजन नै गुमाउने भएपछि स्वदेश फर्किसकेका छन् ।

प्रशिक्षक केसी लिग प्रतियोगितामा लगातारको खेल तालिका नै खेलाडीलाई कमजोर बनाउन कारक रहेको दावी गर्छन् ।

किशोर केसी ।

‘खेलको सेड्युल पनि एक दिन विराएरै छ । भोलि आराम हुन्छ । पर्सी ट्रेनिङ गरेर निपर्सी नै खेल्नुपर्छ । सधैं यस्तो भएपछि खेलाडी थकित छन्, चोट बढिरहेको छ,’ उनले थपे, ‘छोटो प्रतियोगिता भए पनि कम्प्रोमाइज गरेर खेलौं भन्ने हुन्थ्यो । यसले निकै ठूलो जोखिम बढेको छ ।’

शीर्षस्थानको चर्च ब्वाइजसँग ६ अंकले पछि परेको मछिन्द्र १६ चरणको खेलपछि २४ अंकसहित चौथो स्थानमा छ । खेलाडी पलायन र चोटको समस्या भोगिरहेको मछिन्द्रलाई आगामी चरणमा दोस्रो रोजाइका खेलाडीलाई लयमा ल्याउन चुनौति छ । विदेशी खेलाडीहरु मुख्य स्ट्राइकर ओलावाले अफिज, डिफेण्डर करिम ओमोलाजा र मिडफिल्डर आन्द्रेस नियाकै प्रदर्शनमा मछिन्द्र निर्भर हुनुपरेको छ । ओलावालेले लिगमा खेलेको १२ खेलमा १० गोल गरेका छन् । उनी शीर्ष गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । चर्च ब्वाइजविरुद्ध उनले गोल गर्न सकेनन् ।

‘स्ट्राइकिङमा हाम्रो मुख्य खेलाडी ओलावाले नै हो । उनी आजको खेलमा प्रभावशाली देखिएनन् । दोस्रो रोजाइका खेलाडीहरु पनि कनेक्ट हुन संघर्ष गरिरहेका छन्,’ प्रशिक्षक केसीले थपे ।

अघिल्लो वर्षको लिग खेलेका पाँच नियमित खेलाडी अहिले मछिन्द्रसँग छैनन् । रन्जीत धिमाल र सुजल श्रेष्ठ लिगमा सुरुवाती पाँच चरणपछि अष्ट्रेलिया पलायन भए । अघिल्लो सिजन लिग जिताएका विशाल राई र अभिशेक रिजाल पनि अष्ट्रेलिया पुगिसकेका छन् । नयाँ सिजनका लागि मछिन्द्र छाडेर संकटा पुगेका सुनील बल लिगको बीचमै विदेशिए । विमल र देवेन्द्रजस्ता खेलाडी चोटका कारण टिममा नहुनु मछिन्द्रका लागि संकट हो ।

जावलाखेलसँग ३–१ को हारबाट लिगको सुरुवात गरेको मछिन्द्रले अहिलेसम्म ६ जित, ६ बराबरी र ४ हारको नतिजा आत्मसाथ गरेको छ । डवल राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको लिगमा मछिन्द्रले पहिलो चरणमा चर्च ब्वाइजसँग गोलरहित बराबरी खेलेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?