+
+

पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते ९:३५

२८ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म यो सन्देश दिन चाहान्छु कि यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ ।’

पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता एवम् पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारमा संलग्न भएको मुद्दामा प्रहरीले अदालत परिसरबाट यही वैशाख २६ गते पक्राउ गरेको थियो । उनी पक्राउ परेको विरोधमा सुरु भएको आन्दोलनका कारण पाकिस्तान तनावग्रस्त छ ।

उनका समर्थकहरुले भौतिक संरचना र सवारी साधनहरुमा आगजनी तथा तोडफोड गरेका छन् । प्रदर्शनको क्रममा १० जनाको मृत्यु भइसकेको छ ।

यसैबीच इमरान खान पछि सत्तामा आएका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले देशवासीको नाममा सम्बोधन गर्दै हिंसामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुर्ने चेतावनी दिएका छन् ।

पूर्वविदेशमन्त्री कुरेशीले भने आफू पक्राउ पर्नुअघि भिडियो सन्देश जारी गर्दै इमरान खानको रिहा नभएसम्म आन्दोलन नरोक्न समर्थकहरुलाई आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘इमरान खान जसको नियन्त्रणमा छन्, तिनीहरुबाट ज्यानको खतरा छ । इमरान खानलाई रिहा नगरेसम्म तपाईंहरुले स्वतन्त्रताको संघर्ष जारी राख्नुहोला ।’

उनको पार्टी पीटीआईले ट्वीट गरेर कुरैशीलाई स्लामावाद प्रहरीले पक्राउ गरेर अज्ञात स्थलमा लिएको जानकारी दिएको छ । कुरैशी पीटीआईका उपाध्यक्ष हुन् ।

इमरान खान नवाज शरीफको प्रधानमन्त्री पद गुमेपछि सत्तामा आएका थिए । पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खान लगायतले अदालतमा मुद्दा हालेका थिए । सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा नवाज शरीफलाई दोषी ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो ।

त्यसपछि प्रमुख विपक्षी दलका नेता रहेका खान सन् २०१८ को अगस्ट १८ तारिखमा प्रधानमन्त्री बन्न सफल भए । त्यसको चार वर्षपछि खानविरुद्ध संसदबाट अविश्वास प्रस्ताव पास भएपछि २०२२ को अप्रिल १० मा उनको प्रधानमन्त्री पदबाट मुक्त भए । त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता रहेका शहबाज शरीफ प्रधानमन्त्री बने । शहबाज नवाज शरीफका भाइ हुन् ।

नवाजका भाइ शहबाज सत्तामा आएपछि प्रतिशोधको राजनीतिक साँधिएको आरोप खान समर्थकहरुले लगाउँदै आएका छन् ।

अल कादिर ट्रष्टमा भ्रष्टाचार गरेको, प्रधानमन्त्रीको हैसियतमा पाएका उपहार गैरकानुनी ढंगले बेचेको लगायतका आरोप इमरान खानमाथि लागेको छ । विश्वविद्यालय सम्बन्धी अल कादिर ट्रष्टमा इमरान खान र उनकी पत्नी बुशरा बीबी मात्र ट्रष्टी छन् ।  इमरान खानले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?