
२८ वैशाख, विराटनगर । एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै एसिया कप क्रिकेटमा छनोट भएको राष्ट्रिय क्रिकेट टिमलाई कोशी प्रदेशको राजधानी विराटनगरमा सम्मान गरिएको छ ।
विराटनगरमा भएको कार्यक्रममा क्रिकेटरलाई सम्मान गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलपत्र अवस्थामा रहेको विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालाको काम आगामी आर्थिक वर्षमा सुरु गरेर ३ वर्षभित्र पूरा गर्ने प्रतिवद्धता जनाए ।
डेढ दशक अगाडिबाट निर्माण सुरु भएको रंगशाला संरक्षण अभावमा अलपत्र जस्तै छ ।
क्रिकेटका लागि विराटनगर उर्वरभूमि रहेको बताउँदै उनले तीन तहको सरकार र नीजि क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको रंगशालाको काम पूरा गर्ने बताए ।
खेलाडी सम्मान कार्यक्रममा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि सरकार तयार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय टोलीका म्यानेजर विनोद दासले खेलाडी भएर जीविकापोर्जन गर्न समस्या हुने गरेको बताए । उनले खेलाडीको पीडा सरकारले बुझ्नु पर्ने बताए । ‘खेलाडीलाई आर्थिक सहयोग गर्नुस हामी भन्दैनौ’ उनले भने, ‘तर खेललाई चलायमान बनाउन लगानी गरिदिनुस् । एउटा दरिलो संरचना र खेल खेल्ने उचित वातावरण बनाइदिनुस् ।’
एसीसी प्रिमियर कपको विजेता भएपछि क्रिकेट खेलाडीलाई पहिलोपटक विराटनगरको नगरपरिक्रमा र सम्मान कार्यक्रम आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले कार्यक्रमको आयोजना गरेको थियो ।
एकलाख ५१ हजारमा बिक्यो ब्याट
सोही कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यले हस्ताक्षर गरेको ब्याट एक लाख ५१ हजार रुपैयाँमा बिक्री भएको छ । राष्ट्रिय टोलीका फिजियो अब्दुल सतारको उपचारमा सहयोग गर्ने उद्देश्यले खेलाडीको हस्ताक्षरसहितको क्रिकेट ब्याट लिलामीमा राखिएको थियो ।
एक लाख रुपैयाँबाट सुरु भएको लिलामीमा ब्याटलाई विराटनगरका उद्योगी अमित राठीले १ लाख ५१ हजार रुपैयामा खरिद गरेका थिए ।
सोही कार्यक्रममा कार्यक्रममा राष्ट्रिय टोलीका फिजियो ट्रेनर अब्दुल सतारको उपचारका लागि तीन संस्थाले सात लाख रुपैयाँ सहयोग गरेको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4