+
+

माछाको आवाज हराएको भक्तपुरको सिद्धपोखरी

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० वैशाख २९ गते १४:२०

काठमाडौं । चारैतिर परम्परागत पर्खाल, त्यसको वरिपरि विभिन्न फूलका बोटबिरुवाले सजिएको बगैंचा । पर्खालको चार साइडमा परम्परागत शैलीका द्वार, अनि हरेक द्वारको दायाँबायाँ फल्चा अर्थात् पाटी ।

भक्तपुरको दूधपाटीस्थित सिद्धपोखरी पुग्ने जोकोहीलाई यी कुराले आकर्षित गर्छन् । भक्तपुर जिल्लाभरिकै ठूलो पोखरी सिद्धपोखरीलाई नेपाल भाषामा तः पुखु भनिन्छ । भक्तपुर सहरभित्र सानाठूला गरी ३४ पोखरी छन् । तीमध्ये सबैलाई पायक पर्ने र आकर्षक मानिन्छ सिद्धपोखरी ।

भक्तपुर घुम्न आउनेहरु यहाँ नपुगी फर्कंदैनन् । अझ यहाँ पालिएका माछाले त झन् जोकोहीलाई मोहित बनाउँछ । अझ बालबालिकाहरु माछालाई हेरेर निकै रमाउँछन् । माछालाई खानेकुरा दिंदै रमाइरहेको दृश्य साँच्चै लोभलाग्दो देखिन्थ्यो ।  तर हिजोआज यो दृश्य कताकता बिलाए झैं लाग्छ ।

‘पहिलेको तुलनामा सिद्धपोखरी घुम्न आउनेको संख्या घटेको छ । पहिले नगरभित्रका बालबालिकादेखि वृद्धवृद्धासम्म साँझपख घुम्न आउँथे,’ २४ वर्षदेखि पोखरीको हेरचाह गर्दै आएका अर्जुन कर्माचार्य भन्छन्, ‘तर आजभोलि केही युवायुवती मात्रै घुम्न आएको देखिन्छ ।’

घुम्न आउनेको संख्या किन कम भयो भन्ने त उनीसँग पनि ठ्याक्कै उत्तर छैन । ‘अरु ठाउँमा आधुनिक सुविधासहितका पोखरी बन्नु र यो पोखरीको जीर्णोद्वार पनि भइरहेकाले यहाँ घुम्न आउने घटेका हुन सक्छन् ।’

तर पोखरीको आम्दानीमा भने कमी नभएको कर्माचार्य बताउँछन् । अहिले नौका विहार (डुंगा चढ्ने) व्यवस्था भएकाले पनि आम्दानी भने पहिलेभन्दा बढेको उनको भनाइ छ । ‘अहिले दैनिक ४० देखि ५० जनाले डुंगा चढ्ने गरेका छन्,’ उनी भन्छन्, ‘शनिबारको दिन करिब ३०० जनाले डुंगा चढ्छन्,’ कर्माचार्य भन्छन् ।

सिद्धपोखरी घुम्न आएकी सम्झना ह्यौमिखा पहिलाको तुलना यहाँ घुम्दा अनुभूति कम भएको बताउँछिन् । ‘पहिला पोखरीभित्र छिर्ने बित्तिकै बाहिर सवारीसाधनको ध्वनिको आवाजबाट टाढा अर्थात् मुक्त भइने, पानीको सलल आवाज, माछाले डुबुल्की मारेको आवाज र खाइरहेको आवाजले मनै आनन्दित बनाउँथ्यो,’ उनी भन्छिन्, ‘शीतल हावा र चराचुरुङ्गीको चिरबिर आवाजले तनाव र थकान मेटिएको महसुस हुन्थ्यो । अहिले त त्यस्तो अवस्था नै छैन ।’

पोखरीको छेउमै सोयाबिन र भुजाको पसल गर्दै आएका यमबहादुर लामालाई पनि यहाँ घुम्न आउनेहरुको संख्या घटेको अनुभव हुन्छ ।

पहिला आकर्षक माछासहितको पोखरी भक्तपुरमा यही एउटा मात्रै भएको र अहिले नगरपालिकाले धेरैवटा यस्ता पोखरी निर्माण गरेकाले पनि घुम्न आउनेको संख्या घटेको हुन सक्ने उनको बुझाइ छ ।

पोखरी छेउमै माछालाई खुवाउने भुजा र सोयाबिन पसल थापेकी सावित्री कर्माचार्यको व्यापार पनि अहिले घटेको छ । डुंगा चलाउन थालेपछि माछा नै बाहिर देखिन छाडेको उनी सुनाउँछिन् । ‘पहिला डुंगा थिएन । आगन्तुकहरु पोखरीको वरिपरि लहरै बसेर माछालाई सोयाबिन वा भुजा खुवाएर आनन्द लिन्थे,’ कर्माचार्य भन्छिन् ।

घुम्न आउनेको संख्या घटेको होइन’

भक्तपुर नगरपालिकाका प्रशासन प्रमुख दामोदर सुवाल भने सिद्धपोखरी घुम्न आउनेको संख्या कम भएको कुरा स्वीकार्दैनन् । अहिले नौका विहार सुरु गरेसँगै पर्यटक आगमनमा वृद्धि भएको उनको दाबी छ । ‘अहिले पोखरीमा सञ्चालन गरिरहेको डुंगाबाट सामान्यतया दैनिक ५-६ हजार र शनिबार वा सार्वजनिक बिदाको दिन नगरपालिकालाई २०-२५ हजारसम्म आम्दानी भइरहेको छ,’ उनी भन्छन् ।

डुंगा चलाएर माछालाई गाह्रो भएको स्थानीयले गुनासो गर्ने गरेका छन् । तर सुवाल पानी केही धमिलो भएको हुन सक्ने तर डुंगा चलाएकै कारण माछालाई बेफाइदा भने नगर्ने बताउँछन् । ‘डुंगाले माछालाई केही बेफाइदा गर्दैन । बरु यसले झन् माछालाई अक्सिजनको मात्र बढाउँछ,’ उनी भन्छन् ।

डुंगा चढेको शुल्क कति ?

सिद्धपोखरीमा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको डुंगा चढ्न प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ । विद्यार्थी, बालबालिका, वृद्धवृद्धालाई ५० रुपैयाँ लिइन्छ । एउटा डुंगामा चार जनासम्म बस्न सकिन्छ । यहाँ सातवटा डुंगा सञ्चालित छन् । बिहान साढे १० बजेदेखि साँझ साढे ५ बजेसम्म डुंगा सयर गर्न सकिन्छ । बेलुका ७ बजे पोखरी बन्द हुन्छ ।

सिद्धपोखरीको इतिहास

१५ औं शताब्दीमा मल्लराजा यक्ष मल्लले यो पोखरीको निर्माण गराएका थिए । भक्तपुर सहरको पश्चिम अर्थात् दूधपाटीमा अवस्थित सिद्धपोखरीको प्रथम जीर्णोद्धार विक्रम संवत् १८२१ सालमा भीमसेन थापाले गराएका थिए । त्यस्तै १९३५ सालमा रणोद्दीप सिंहबाट उक्त तलाउको पर्खाललगायत घाँस सफा गरिएको थियो भने त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेर र २०१५ सालमा राजा महेन्द्रले पनि सो पोखरीको जीर्णोद्धार गराएको थियो । पछिल्लो पटक २०५२ सालमा यो पोखरीको जीर्णोद्धार गरिएको थियो ।

त्यसपछि पोखरी भक्तपुर नगरपालिका मातहत आएको हो । आयातकार आकारमा रहेको सिद्धपोखरी १५८ मिटर लम्बाइ, ७२ मिटर चौडाइ र चार मिटर गहिराइमा फैलिएको छ ।

सिद्धपोखरीमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट मेला लाग्छ । ‘रोपाइँ सकेर पानी पर्न पुग्यो भनेर इन्द्रलाई सन्देश पुर्‍याउने विधिका रुपमा इन्द्रायणी मेला लाग्दै आएको छ,’ संस्कृतिविद् ओम धौभडेल भन्छन् ।

अरुबेला सिद्धपोखरीमा नुहाउन, लुगाधुन, पशु चौपाया लैजान, माछा मार्न निषेध गरिएको भए पनि इन्द्रजात्राको दिन भने स्नान गर्न दिइन्छ ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?