+
+

कोरियामा अभिव्यक्ति स्वतन्त्रताको बलियो माध्यम युट्युब

सीएनएनको सहयोगमा सीएनएनको सहयोगमा
२०८० वैशाख ३१ गते १६:५२
युट्युबर किम ओ जुन ।

३१ वैशाख, काठमाडौं । दक्षिण कोरियामा युट्युबमा सर्वाधिक भ्युज भएका कार्यक्रमले धेरैलाई आश्चर्यमा पार्न सक्छ । कोरियन पप वा कोरियन नाट्य श्रृंखला वा ब्लाक पिंक गानासँग यसको कुनै सम्बन्ध छैन ।

यो भ्युजको सम्बन्ध सिधारूपमा समसामयिक विषयको उग्र कार्यक्रम ‘जियोमसन इज नोथिङ’ सँग छ । यो निकै लोकप्रिय कार्यक्रम हो । परम्परागत मिडियाले राज्य संयन्त्रप्रति सम्मानजनक व्यवहार गरेको भन्दै यसका सञ्चालक किम ओ जुनले निकै नै आक्रामक र आलोचनात्मक सामग्री पस्किन्छन् । उनको यो शैलीले दक्षिण कोरियामा तरंग नै पैदा गरेको छ ।

किमको शैलीले अमेरिकी रात्रिकालीन शो को झल्को दिलाउँछ । आफ्नो लक्ष्य रूढीवादी सरकारलाई उदारवादी शैलीमा सचेत गराउनु रहेको उनको भनाइ छ । ‘परम्परागत मिडियाले निकैनै पक्षपाती सामग्री पस्किरहेछन् । निष्पक्षताको वकालत गर्नेहरूकै आवरणमा निष्पक्षता छैन’, उनले भने।

आफूविरूद्धको आवाज र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रणका लागि दक्षिण कोरिया सरकारले मानहानीको मुद्दालाई हतियार बनाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले समेत चिन्ता व्यक्त गरेको थियो । किमको यस शैलीलाई अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोज्ने नीतिको विरोधका रूपमा पनि कतिपयले बुझेका छन् ।

गत मार्चमा प्रकाशित एक प्रतिवेदनका अनुसार राष्ट्रपति युन सुक युलले अमेरिकी विधायकका सवालमा दिएको अभिव्यक्तिलाई लिएर अमेरिकी विदेश मन्त्रालयले आपत्ति जनाएको खबर एमबीसी च्यानलले प्रशारण गरेको थियो ।

सरकारले त्यस च्यानलविरूद्ध कानुनी कारबाही अघि बढायो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले अमेरिकी विदेश मन्त्रालयको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्‍यो । त्यस प्रकरणलाई लिएर दक्षिण कोरियामा अभिव्यक्ति स्वतन्त्रतामा निकै अंकुश रहेको अमेरिकी धारणाको सरकारले खण्डन समेत गरेको थियो ।

प्रस्तोता किमलाई पनि विभिन्न प्रकरणमा मानहानीको मुद्दा लागेको छ । सरकारका त्यस्ता गतिविधिले उनलाई भने हतोत्साहित गरेको छैन । किमका आलोचकहरूले भने उनले लिबर डेमोक्र्याटिक पार्टीका सवालमा भने उनले आँखा चिम्लने आरोप लगाउँछन् ।

राजनीतिक प्रभाव

किमले अरूले हिँड्न नसकेको बाटोमा साहस देखाएको भन्दै प्रशंसा भइरहेको छ र उनको दर्शक पनि बढिरहेका छन् । हरेक बिहान ७ बजे ५ मिनेटमा आउने शोलाई न्यूनतम १ लाख ६० हजार मानिसले हेर्ने गर्छन् । समसामयिक विषयमा परम्परागत मिडियामा पनि  कार्यक्रम छन् । तर त्यहाँ भन्दा युट्युबमा बढी दर्शक झुम्मिछन् । अनलाइन माध्यममा वाक स्वतन्त्रताको दायरा पनि फराकिलो भएकाले धेरै प्रस्तोता विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन् ।

किमको कार्यक्रम न्युज फ्याक्ट्रीको पुर्नजन्म हो । सरकारसँगको विवादपछि न्युज फ्याक्ट्री कार्यक्रम बन्द भएको थियो र किमले युट्युबमा कार्यक्रम तयार गर्न थाले । दक्षिण कोरियामा युट्युबमा ४ करोड ६० लाख भन्दा बढी दर्शकछन् ।

परम्परागत मिडियाहरूले पनि हाल युट्युबमा कार्यक्रम राखिरहेका छन् । सबै राजनीतिक विचारधाराका कार्यक्रमहरू त्यहाँ छन् । वामपन्थी कार्यक्रम न्युजतपाका सब्सक्राइबर्स १० लाख बढी छन् भने दक्षिणपन्थी धारको कार्यक्रम ट्युबसिन कार्यक्रमका सब्सक्राइबर्स १० लाख ४६ हजार छन् ।

युट्युबको प्रभाव आम निर्वाचनमा पनि देखा परेको थियो । युट्युबको शोमा जानुअघि  पिपल पावर पार्टीका यून विपक्षीसँग कडा टक्करमा थिए । तर थ्री प्रो टिभीले लिएको अन्तर्वार्ता युट्युबमार्फत प्रशारण हुँदा उनप्रति असन्तुष्टी व्यक्त गर्ने जमात चर्किँदै गयो र उनी निर्वाचनमा पराजित समेत भए ।

युट्युबका कार्यक्रममा पक्षधरता प्रस्टै छुट्टाउन सकिन्छ । उदाहरणका लागि  दक्षिणपन्थी च्यानलले पूर्व राष्ट्रपित पार्की युन हे को पक्षमा भएको र्‍याली कभर गरेका थिए । जबकी उनले भ्रष्टाचार प्रकरणपछि सत्ता छोड्नुपरेको थियो । यता बामपन्थी च्यानलले पनि मोन ज इन (जो पछि भ्रष्टाचारमा मुछिए) को र्‍यालीलाई कभर गरेको थियो । हालसालै वामपन्थी च्यानलले हालका राष्ट्रपति यूनको निवाससम्म भएको प्रदर्शनको कभरेज गरेका थिए ।

गतवर्ष त राष्ट्रपति युनको पार्टीका एक प्रभावशाली नेताले युट्युबप्रतिनै रोष पोखे। यसको प्रभावलाई उनले खराब प्रभाव भनिदिए।

स्वतन्त्र अभिव्यक्तिको थलो

दक्षिण कोरियामा युट्युब च्यानलनै अभिव्यक्ति स्वतन्त्रताका लागि उपयुक्त थलो बनेका छन् । वाक स्वतन्त्रतताको माध्यम बनेका छन् । प्राध्यापक जुङ जुन हीका अनुसार परम्परागत मिडियाहरूले सरकारको आलोचना गर्नै छोडेका छन् ।

अधिकांश मिडिया दक्षिणपन्थी छन् केही भइहालेमा कानुनी फन्दामा पर्ने चिन्ताले उनीहरू निकै डराउँछन् । ‘राष्ट्रपति कार्यालयमा यून सुक योल आएसँगै मिडियामाथि धेरैनै कानुनी कारबाही भएका छन् । त्यसैले परम्परागत माध्यम निकै डराउँछन्’, प्राध्यापक जुङ भन्छन् ।

परम्पारगत मिडियाले आलोचनात्मक सामग्री पस्किन छोडेपछि उनीहरूले दर्शकको विश्वास गुमाउँदै गएका छन् । सोल विश्वविद्यालयमा आम सञ्चारका प्राध्यापक रिही जुन हुङ भन्छन्, ‘परम्परागत प्रकाशन वा प्रसारण माध्यमलाई त्यागिएको भन्न त मिल्दैन तर ती माध्यमहरूप्रतिको निराशा चुलिँदो अवस्थामा छन् । उनीहरूको पस्किने सामग्रीप्रति पाठक तथा दर्शकको रूचि घट्दै गएको छ।’

न्युज फ्याक्ट्रीमा प्रतिबन्ध

न्युज फ्याक्ट्री कार्यक्रम दक्षिण कोरियाको लोकप्रिय रेडियो कार्यक्रम थियो । सन् २०१६ बाट आएको यस कार्य्रकम सोमबारदेखि शुक्रबारसम्म प्रसारण हुन्थ्यो । त्यहाँ किमले विभिन्न न्युजमेकरका बारेमा टिप्पणी गर्थे । न्युजमेकरहरू राजनीतिज्ञ, प्राध्यापक, कलाकार, वैज्ञानिकदेखि विविध पेश व्यवसायमा संलग्न व्यक्ति हुन्थे ।

यो शोले परम्परागत कार्यक्रम शैलीलाई पनि परिवर्तन गरेको थियो । यसमा कुनै पनि समाचार विश्लेषण हुँदैनथे । कार्यक्रममको लोकप्रियता बढ्दै गएपछि राजनीतिज्ञहरूनै यसमा जान थाले । ‘बिहानै त्यसमाथि रेडियोमा जान अल्छी मान्ने राजनीतिज्ञहरूक कार्यक्रमको लोकप्रियता बढेपछि आफैँ धाउन थाले’, प्राध्याक जुङ भन्छन् ।

तर प्रतिपक्षी शैलीले पुरातन दललाई चिढ्यायो । यस कार्यक्रममा पूर्व राष्ट्रपति पार्कबारे खरो सामग्री प्रस्तुत गरिएको थियो । सन् २०२२ मा सत्ता आउनेवित्तिकै पहिलको कामनै यो कार्यक्रम बन्द गराउने भयो । विभिन्न हण्डर ठक्कर खाँदै कार्यक्रम प्रस्तुत गरिरहेका किमको बाचा छ, ‘युट्युबमार्फतनै म अब प्रेसको अवधारणा बदल्छु र राजनीतिक प्रतिशोधले सञ्चारमाध्यममाथिको आक्रमण गलत हो भन्ने सशक्त तथ्य स्थापित गरेरै छोड्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?