+
+

नेपाल-बंगलादेश ऊर्जा बैठक सुरु हुँदै, विद्युत व्यापारबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते ९:३३

१ जेठ, काठमाडौं । नेपाल-बंगलादेश ऊर्जा बैठक आजदेखि बंगलादेशमा सुरु हुँदैछ ।वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने तय भएको छ ।

पहिलो दिन आज संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ ।

बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले गर्दैछन् भने बंगलादेशकातर्फको नेतृत्व त्यहाँका ऊर्जा सचिव हाबिबुर रहमानले गर्नेछन् ।

बंगलादेशमा लिखु-४ जलविद्युत आयोजनाको बिजुली बेच्ने प्रस्ताव छ । उक्त प्रस्ताव भारत सरकारले स्वीकृत गरेर आफ्नो प्रसारणलाइन प्रयोगको अनुमति दिएपछि बंगलादेशसँग आगामी वर्षायामअगावै विद्युत व्यापार गर्ने योजना छ ।

बैठकका बंगलादेशले सोलार बिजुली उत्पादनको अनुभव र नेपालले जलविद्युत आयोजना विकासको अनुभव पनि साटासाट गर्ने कार्यतालिका छ ।

बैठकमा सुनकोशी–३ को आयोजना विकासका सम्बन्धमा छलफल हुनेछ । यो परियोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने सहमति भइसकेको छ र त्यसअनुसार नेपालले बंगलादेशलाई सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बंगलादेशलाई पनि उपलब्ध गराएको छ । यसबारे अध्ययन गरेर आयोजना अघि बढाउने सहमति अनुसार बैठकमा सुनकोशी–३ को निर्माणका लागि संयुक्त कम्पनी स्थापनाबारे छलफल हुनसक्ने सम्भावना छ ।

९ भदौ २०७९ मा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको थियो । सो प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी तय गर्न बंगलादेशको सहमतिअनुसार अब आयोजनाका लगानीको मोडालिटीमाथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?