News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी १० वर्षमा २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने 'विद्युत् खपत वृद्धि तथा ऊर्जा निर्यात रणनीति २०८३' जारी गरेको छ।
- रणनीतिमा शतप्रतिशत घरधुरीमा विद्युतीकरण गर्ने, प्रसारण र वितरण प्रणालीमा सुधार गर्ने र विद्युत् निर्यात प्रवर्द्धन गर्ने दीर्घकालीन योजना समावेश गरिएको छ।
- सरकारले सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने, एलपी ग्यास प्रयोग घटाउने र कोइला तथा पेट्रोलियम आधारित बोयलरलाई विद्युतीय प्रणालीले प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ।
११ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत् खपत वृद्धि तथा ऊर्जा निर्यात रणनीति २०८३’ जारी गरेको छ ।
ऊर्जा मन्त्रालयले आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्य सहित रणनीति जारी गरेको हो ।
मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको रणनीति ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पारित गरेसँगै जारी भएको हो ।
१३ चैत २०८२ को मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी १ सय बुँदे कार्यसूची अन्तर्गतको बुँदा ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीति सम्बोधन गर्ने गरी ऊर्जामन्त्री श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए ।
रणनीतिमा विद्युत्को आन्तरिक खपत उल्लेख्य बढाउन जोड दिँदै खपतपछि बचत भएको विद्युत् निर्यात प्रवर्द्धन गर्ने दीर्घकालीन मार्गचित्र समेत प्रस्तुत गरिएको छ । शतप्रतिशत घरधुरीमा विद्युतीकरण गर्दै प्रसारण र वितरण प्रणालीमा व्यापक सुधार गर्नुपर्ने पनि रणनीतिमा जोड दिइएको छ ।
रणनीति अनुसार आगामी १० वर्षमा २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन लक्ष्य लिइएको छ । २०९२/९३ (सन् २०३५) सम्म १८ आयोजनाबाट २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन लक्ष्य लिएको हो । जसमा नेपाल विद्युत् प्राधिकरणबाट प्रवर्द्धित सौर्य उर्जाबाट १ हजार मेगावाटभन्दा बढी उत्पादन लक्ष्य लिइएको छ । जुन २०८५ सम्ममा सक्ने समयसीमा तोकिएको छ ।
त्यस्तै स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) द्वारा प्रवर्द्धित आयोजनाबाट करिब १४ हजार मेगावाट उत्पादन लक्ष्य लिइएको छ । जुन २०९२ सम्ममा सक्ने लक्ष्य छ ।
त्यस्तै सरकारी कम्पनी र प्राधिकरण तथा सहायक कम्पनीद्वारा प्रवर्द्धित अन्य आयोजनाबाट करिब ३ हजार ५ सय मेगावाट उत्पादन लक्ष्य लिइएको छ ।
४० मेगावाटको रघुगंगा जलविद्युत् आयोजनालाई अबको १ सय दिनभित्र सक्ने लक्ष्य छ । त्यस्तै तनहुँ जलविद्युत् आयोजना (१ सय ४० मेगावाट), माथिल्लो मोदी–ए (४२), माथिल्लो मोदी (१८.२), माथिल्लो त्रिशूली ३बी (३७), बुढीगण्डकी जलाशयुक्त आयोजना (६ सय ७०), माथिल्लो अरुण (१ हजार ६१), अरुण जलविद्युत् आयोजना (४ सय ९०), नलगाड (४ सय १७) आयोजनाबाट उत्पादन लक्ष्य सरकारले लिएको छ ।
त्यस्तै चैनपुर–सेती (२ सय १०), तामाकोशी–५ (९९), नौमुरे बहुउद्देश्यीय आयोजना (२ सय ८१), बेतन कर्णाली जलविद्युत् आयोजना (४ सय ३९), उत्तरगंगा जलविद्युत् आयोजना (८ सय २८) बाट विद्युत उत्पादन लक्ष्य लिइएको हो ।
सरकारले विद्युतीय घरायसी उपकरण प्रयोगमा थप आकर्षित गर्ने, मिटर र ट्रान्स्फर्मर क्षमतामा सुधार गरी एलपी ग्यास प्रयोग क्रमश: घटाउने लक्ष्य लिएको छ ।
हाल प्रतिव्यक्ति ऊर्जा खपत करिब ४ सय ५० किलोवाट आवर रहेकोमा आगामी १० वर्षभित्र १ हजार ५ सय किलोवाट आवर पुर्याउने रणनीति लिएको छ ।
त्यस्तै सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने, चार्जिङ स्टेसन नेटवर्क विस्तार गर्नेसमेत लक्ष्य लिइएको छ ।
उद्योगहरूमा प्रयोग हुँदै आएको कोइला तथा पेट्रोलियममा आधारित बोयलरलाई विद्युतीय प्रणाली मार्फत प्रतिस्थापन गर्ने नीति लिइएको छ ।
प्रतिक्रिया 4