+
+
अन्तर्वार्ता :

‘अरू शहरले हामीबाट सिकेका छन्’

नागेश कोइराला, मेयर, विराटनगर महानगरपालिका नागेश कोइराला, मेयर, विराटनगर महानगरपालिका
२०८० जेठ १ गते १०:५२

१ जेठ २०७९ को निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित नागेश कोइराला डा. शेखर कोइराला प्यानलमा छन् । पार्टीभित्र मेयरको टिकटका लागि तीव्र प्रतिस्पर्धामा सभापति शेरबहादुर देउवा पक्षका अमृत अर्याल, नेता कृष्ण सिटौला पक्षका भीम पराजुलीलाई पछि पार्दै शेखर कोइरालाको जोडबलमा टिकट पाएका ४८ वर्षीय नागेश कोइराला धनाढ्य परिवारका सदस्य हुन् ।

चुनावी अभियानका क्रममा ५९ बुँदे संकल्पपत्र प्रस्तुत गरेका कोइराला आफ्नो एकवर्षे कार्य सफल भएको बताउँछन् । पहिलो वर्षको अनुभवका विषयमा कोइरालासँग अनलाइनखबरका लागि हरि अधिकारीले गरेको कुराकानी :

तपाईं मेयरमा निर्वाचित भएको एक वर्ष पनि पूरा भयो, आफ्नो कार्यकालको पहिलो वर्षलाई कसरी हेर्नुहुन्छ ?

हामीले पहिलो वर्षमा धेरै काम गरेका छौं । हाम्रो पहिलो वर्षको कामलाई म सिलसिलेबर रूपमा राख्छु । हाम्रो मुख्य काम पार्किङ व्यवस्थापन हो । बजार क्षेत्रभित्र दमकल छिर्ने बाटो थिएन । जनताले तिरेको करले बनेको सडक पार्किङका लागि होइन, सहज रूपमा आवतजावतका लागि हो । त्यसका लागि हामीले वैकल्पिक पार्किङको व्यवस्थापन गरेर सडकको पार्किङ हटाएका छौं । अहिले मुख्य सडकमा पार्किङ छैन । बजारको पार्किङलाई वैकल्पिक रूपमा राखेका छौं । पार्किङलाई अझै सुविधासम्पन्न बनाउने तयारी छ ।

हामीले विराटनगरको व्यापार प्रवर्धनका लागि पनि काम गरेका छौं । दशैं-तिहारभन्दा एक महिना अघिदेखि बजारमा माइकिङ गर्‍यौं, स्थानीय बजारको प्रवर्धनका लागि । भारत नजाउन् भनेर हामीले प्रयास गर्‍यौं । भन्सारले पनि ‘टाइट’ गरेका कारण बजार प्रवर्धन भयो ।

बर्खामा डुबान नहोस् भनेर हामीले पहिले नै सडकका नाला सफा गरेका छौं । विगतमा डुबान हुँदा नाला सफा गर्ने चलन थियो । अहिले हामीले सुक्खायाममा नै नाला सफा गरेका छौं । यसले बर्खाको बाढीलाई निकासका लागि सहयोग पुग्छ ।

सडक फुटपाथको व्यापार हटाएका छौं । अब निर्धक्क रूपमा फुटपाथमा हिंड्न सक्छौं । हामीले सेटब्याकको व्यवस्थापन पनि गरेका छौं । सेटब्याक राख्ने हुँदा साढे ६ फिट छाडेर लगाउने नियम बनाएका छौं । बाटोमा हिंड्दा पहिले टाउको ठोक्किन्छ कि भन्ने हुन्थ्यो । तर अहिले त्यस्तो छैन ।

अर्काे काम विराटनगरलाई हामीले उज्यालो शहर बनाएका छौं । उज्यालो विराटगर अभियान अन्तर्गत सडकमा बत्ती बालेर उज्यालो बनाएका छौं ।

हामीले तार व्यवस्थापनको सुरु गरेका छौं । बिजुली पोलको तार व्यवस्थापन चलिरहेको छ । उज्यालो अभियान र तार व्यवस्थापन अभियान हामीले सुरु गरेका हौं । हामीले सुरु गरेपछि अन्य शहरले पनि तार व्यवस्थापनको काम सुरु गरे । काठमाडौंले पनि सुरु गरेको छ । तर हामीले गरेको कामको चर्चा धेरै भएन । अरू पालिकाको तुलनामा विराटनगर महानगरपालिकाले धेरै काम गरेको छ । उज्यालो र सरसफाइ अभियान एवं सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण रोकको अभियान विराटनगरले सुरु गरेपछि अन्य स्थानीय सरकारले सुरु गरेका छन् । काठमाडौं, भरतपुर, धनगढीले हाम्रो अभियान हेरेर आफ्नो काम सुरु गरेका छन् । अरू क्षेत्रको काम मिडियामा राम्ररी ‘कभरेज’ भयो । हामीले गरेको कामको मूल्याङ्कन कम भयो ।

हामीले प्रशासनिक सुधार पनि गरेका छौं । हिजो केही नदिइकन फाइल भेटिंदैनथ्यो । तर अहिले कर्मचारीले केही नदिइकन फाइल भेटिने वातावरण बनाएका छौं । कर्मचारीलाई पनि जवाफदेही बनाएका छौं । १९ वटै वडाहरूमा अधिकृतस्तरका सचिव पठाएर काम गरेका छौं ।

हामीले गरेको अर्काे काम हो आन्तरिक आय वृद्धि । करको दायरा बढाएर वडा र टोल-टोलमा कर संकलन अभियान सुरु गरेका छौं । वैशाख १ गतेबाट हामीले सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा प्रतिबन्ध लगाएका छौं । माछा-मासुको बिक्रीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेका छौं ।

सन् २०२५ सम्म घरघरमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको पानी खुवाउने गरी जाइकासँग कुरा गरिरहेका छौं । विकास निर्माणका काम पनि निरन्तर चलेका छन् ।

विराटनगरमा रानी पोखरी, विराट राजाको दरबार क्षेत्रको विकासका लागि बहुवर्षीय ठेक्का मार्फत काम भइरहेको छ ।
प्रधानमन्त्री पार्क निर्माणको क्रममा छ । हृदयेन्द्र पार्क स्तरोन्नतिका लागि योजना अघि बढेको छ । विराटनगर-२ को हनुमान मन्दिरमा सन्ध्याकालीन आरतीका लागि संरचना निर्माण गरिरहेका छौं ।

महानगरको आफ्नै प्रशासनिक भवन निर्माणको काम पनि भइरहेको छ । विभिन्न क्षेत्रमा सडक निर्माण भइरहेको छ । महानगर बहुप्राविधिक शिक्षालयको संरचना निर्माण भइरहेको छ ।

हामीले नेपाल-भारत साहित्य महोत्सव पनि गर्‍यौं । महानगरको आफ्नै पाठ्यक्रम बनाएर कक्षा १ देखि ५ सम्मको काम गरेका छौं । यो एक वर्षमा १६०० सामुदायिक कुकुरको बन्ध्याकरण पनि गरेका छौं ।

आगामी योजना के के छन् ?

म रोडम्याप अनुसार नै छु । मैले चुनावका क्रममा नगरवासीलाई पानी खुवाउँछु भनेको थिएँ । २०२५ सम्म पानी खुवाउने भयौं । जाइकाले यो प्रोजेक्ट दिंदैछ । उज्यालो विराटनगर बनाउँछु भनेको थिएँ, विराटनगर उज्यालो भइसकेको छ । सडक र नालाको काम त नियमित प्रक्रिया हो, यो चलिरहन्छ । अर्काे नगरबस सञ्चालन गर्ने थियो, त्यो पनि तयारी गरिरहेका छौं

विराटनगर महानगरपालिकाले आफ्नै लोगो निर्माण गर्दैछ । चाँडै विराटनगरले आफ्नो लोगो पाउनेछ । विराटनगरमा लगानी सम्मेलनको तयारी गरिरहेका छौं । राधाकृष्ण रथयात्राका लागि हामीले देशका ६ वटा महानगरपालिका प्रमुखलाई निमन्त्रणा गरेका छौं ।

अमेरिकाको न्यूयोर्कको मेयरलाई पनि हामीले निम्तो पठाएका छौं । विराटनगरको मात्रै होइन, विश्वको दोस्रो ठूलो रथयात्रा हो । भारतका विभिन्न शहरका प्रमुखलाई पनि ल्याउने तयारी गरेका छौं । विराटनगर रिङरोडको अधुरो काम पूरा गर्नका लागि संघीय सरकारलाई आग्रह गरेका छौं ।

विराटनगरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहल गरिरहेका छौं । विराटनगरका सम्भावना धेरै छन् । त्यसका लागि अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ । यहाँको पर्यटकीय स्थलमा आउनका लागि विमानस्थल राम्रो चाहिन्छ । विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि पनि पहल गरिरहेका छौं ।

पहिले विराटनगरलाई औद्योगिक नगरी, राजनीतिक नगरीको रूपमा चिनिन्थ्यो । आज हामीसँग उद्योग न्यून छन् । सात जना प्रधानमन्त्री इतिहास भयो । अबको सम्भावना विराटनगर एउटा गेट वे हो । यसलाई अब होस्ट सिटी बनाउनुपर्छ । नेपाल छिर्ने मुख्य विन्दु विराटनगर हो, यहाँ आएर मानिस बस्न सक्ने स्थान बनाउन कोसिस गरिरहेका छौं । किमाथांका-रानी सडक बनिसकेपछि विराटनगरको ठूलो सम्भावना छ । यसले रोजगारी र व्यापारको अवसर फस्टाउँछ ।

अर्काे विराटनगर शिक्षा र स्वास्थ्यको हब हो । शिक्षाको सबै सुविधा विराटनगरमा छ । सम्भावना धेरै छन् । विराटनगरको डुबानको दीर्घकालीन समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं । विराटनगर बनाउने अभियानमा निरन्तर लागिरहेका छौं । यो अभियानलाई कसैले रोक्न सक्दैन । हामी सबै विराटनगर बनाउन आएका छौं । विराटनगर बनाउँछौं । विराटनगर बनाउने अपनत्व नगरवासीले पनि लिनुपर्छ ।

यो एक वर्षको प्रगति सुनाउँदै गर्दा तपाईं आफ्नो कामबाट सन्तुष्ट हुनुहुन्छ ?

हामीले एक वर्षमा केही काम गरेका छौं । म आफ्नो कामप्रति सन्तुष्ट हुनसकेको छैन । गर्न सक्ने धेरै थियो तर थोरै मात्र भएको छ । अन्य पालिकाको जस्तो आन्तरिक स्रोत विराटनगर महानगरपालिकाको छैन । हामीसँग स्रोत न्यून छ । भएको सीमित स्रोतको मोबिलाइजबाट जति गर्नुपर्ने थियो त्योभन्दा धेरै काम गरेका छौं ।

काम गर्न कत्तिको गाह्रो रहेछ ?

धेरै गाह्रो रहेछ । हिजो सडकमा हुँदा सोच्थें, यति काम पनि गरेनन् भनेर । तर जिम्मेवारीमा बसेपछि गाह्रो हुन्छ भन्ने थाहा भयो । के कारणले काम अगाडि बढ्न सकिरहेको छैन भन्ने अब फिल हुन्छ ।

काम गर्नलाई कसले रोक्छ ?

सबैभन्दा बढी प्रक्रियाले रोक्दो रहेछ । सरकार, संविधान, नियम कानुन सबैले छिटो काम गर्नलाई रोक्छ । हाम्रो नियम-कानुन र झन्झटिलो प्रक्रियाले रोक्छ ।

कर्मचारी र नगरवासीबाट काम गर्न कति सहयोग पाउनुभएको छ ?

मलाई सुरुमा लाग्थ्यो, विराटनगरवासीका लागि महानगर जहिले पनि प्रतिपक्षको जस्तो छ । तर होइन रहेछ । पछिल्लो समय पार्किङको विषयमा व्यापारीले आन्दोलन गर्दा जनता महानगरको पक्षमा देखिए । अहिले मलाई लाग्छ, नगरको काममा नगरवासीले चासो राख्न थालेका छन् । म चाहन्छु यस्तै खालको चासो सधैंभरि होस् । नगरवासीको चासोले नगरको उन्नति र विकास हुन्छ ।

कर्मचारी संयन्त्रको सहयोग पनि राम्रो छ । संघीय सरकारका कर्मचारी आउँछन्, जान्छन् नियमित प्रक्रिया हो । एउटा घरमा बसेपछि भाँडा जुध्छ भन्थे । यत्रो ६१० जनाको परिवार छ, भाँडा त बज्छ नि ! तर जति जना आएका छन्, सबै जना विराटनगर बनाउन आएका छन् । व्यक्तिगत सम्बन्ध जस्तो भए पनि काममा कम्प्रोमाइज हुँदैन । काम निरन्तर चल्छ ।

विराटनगरको समस्याको रूपमा रहेको पार्किङ अस्थायी रूपमा व्यवस्थापन गर्नुभएको छ, दीर्घकालीन रूपमा पार्किङ व्यवस्थापन गर्ने योजना छैन ?

छ, महानगरले बजारमा २४ तले भवन बनाउँदैछ । त्यो भवन बनेपछि अण्डरग्राउण्ड पार्किङ हुनेछ । विराटनगर बी र सी प्लटमा व्यवस्थित पार्किङ स्थल बनाउने तयारी गरिरहेका छौं । यी दुई ठाउँमा पार्किङ व्यवस्थापन हुन्छ ।

चुनावी तयारीका क्रममा तपाईंले प्रस्तुत गरेको पाँच वर्षको रोडम्याप अनुसार पहिलो वर्ष बित्यो कि कमजोरी भयो ?

म रोडम्याप अनुसार नै छु । मैले चुनावका क्रममा नगरवासीलाई पानी खुवाउँछु भनेको थिएँ । २०२५ सम्म पानी खुवाउने भयौं । जाइकाले यो प्रोजेक्ट दिंदैछ । उज्यालो विराटनगर बनाउँछु भनेको थिएँ, विराटनगर उज्यालो भइसकेको छ । सडक र नालाको काम त नियमित प्रक्रिया हो, यो चलिरहन्छ । अर्काे नगरबस सञ्चालन गर्ने थियो, त्यो पनि तयारी गरिरहेका छौं ।

मेट्रो अस्पताल बनाउने योजना थियो नि !

मेट्रो अस्पताल बनाउँछौं । अहिले नेपाल सरकारले निर्माण गरेको होल्डिङ सेन्टर हामीलाई दिनुहोस् अस्पताल बनाउँछौं भनेका छौं । संघीय सरकारले महानगरभित्रको कोशी अस्पताललाई राम्रो बनाइदिनुहोस् भनेको छ । हामी महानगरको आफ्नो अस्पताल बनाउने योजनामा छौं । महानगरले १९ र १५ नम्बर वडामा अस्पतालसहित ल्याब सेवा सुरु गर्ने तयारी गरिरहेका छौं ।

तपाईंको संकल्पपत्रमा बिजुली र केबल तारलाई अण्डरग्राउण्ड गर्ने पनि छ नि !

यो काम चाहिं तत्काल ‘पोसिबल’ छ जस्तो लाग्दैन । यो योजना सञ्चालनका लागि महानगरको स्रोतले भ्याउँदैन, ठूलो स्रोत चाहिन्छ । ठूलो स्रोत जुट्यो भने सफल हुन्छ ।

हरेक सामुदायिक विद्यालयमा प्याड बैंक स्थापना गर्ने योजना कहाँ पुग्यो ?

यो कामका लागि नेपाल सरकारको कानुनले बाधा भयो । खरिद प्रक्रिया झन्झटिलो छ । हामीले प्याड बैंक बनाउने योजना बनाएका छौं । कानुनी प्रक्रियाले रोकेको छ । अहिले हामीले सामुदायिक विद्यालयमा इ-हाजिरीको व्यवस्था गरेका छौं, जसको सेन्टर महानगरपालिकामा छ । यो व्यवस्थाले शिक्षकलाई जिम्मेवार बनाएको छ । शिक्षा क्षेत्रको गुणस्तर बढेर गएको छ । महानगरका सबै विद्यालय राम्ररी चल्छन् ।

महानगरको सेवालाई घरघरमा पुर्‍याउने योजना पनि थियो नि !

यो प्रक्रियामा छ । यसका लागि प्रदेश सरकारसँग एक चरणको छलफल भएको छ । यसका लागि दाताले पनि यहयोग गर्नेछन् । इङ्गल्याण्डको एम्बेसी पनि एक पटक आएको छ । यो प्रदेशको कार्यक्रम भएका कारण समन्वय गरेर घर-घरमा सेवा पुर्‍याउँछौं ।

केशलिया र सिंघिया खोलालाई ग्रीन बेल्ट बनाएर सौन्दर्यकरण गर्ने योजना पनि थियो । केशलिया करिडोरको डीपीआर बनेको छ । अब त्यही अनुसार अघि बढ्छौं, संघीय सरकारलाई सिंघिया खोला किनारको पनि डीपीआर गर्न भनेका छौं । यो हाम्रो सामर्थ्यले भ्याउँदैन, संघ र प्रदेश सरकारसँग भर परेका छौं । हामीले आफ्नो क्षमताले भ्याएसम्म गरिरहेका छौं, भने जस्तो सबै नहुँदोरहेछ । तैपनि पुर्‍याउने कुरामा काम गरिरहेका छौं ।

कार्यपालिकामा अल्पमतमा हुनुहुन्छ, निर्णय गर्न कत्तिको सजिलो छ ?

त्यस्तो गाह्रो केही पनि छैन, सबै जना विराटनगर बनाउन आउनुभएको हो । मेरो उद्देश्य पनि विराटनगर बनाउने हो । सबैले सहयोग र समन्वय गर्नुभएको छ, मैले पनि राम्रोसँग काम गर्न पाएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?