+
+

शरणार्थीको नाममा ठग्ने गिरोहले कसरी पायो सरकारी गाडी ? हज समितिका अध्यक्षमाथि छानबिन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते २०:५०
गृह मन्त्रालय र मन्त्रालय अन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँ (इन्सेटमा)

१ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौं असुली गर्ने गिरोहले सरकारी गाडी प्रयोग गरेर विभिन्न ठाउँमा ‘पीडित’हरुसँग भेट गरेको खुलेको छ ।

चितवनको एक रिसोर्टमा सरकारी गाडीमा गएका गृह मन्त्रालयका कर्मचारी बताउनेहरुले पीडितको फोटो खिच्ने र शरणार्थीसम्बन्धी गणनामा छुटको फारम भराउने काम गरेको पीडितहरुको बयान छ ।

त्यसबेला सरकारी कर्मचारी बताएर जानेहरु को को थिए भन्ने खुलिसकेको छैन । यद्यपि, प्रारम्भिक जाँचमा ठगी गर्ने गिरोहका सदस्यहरु नै कर्मचारी बनेर ठगीमा संलग्न हुनसक्ने देखिएको छ ।

त्यसबेला प्रयोग भएको सरकारी गाडी चाहिं गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयको भएको खुलेको छ । हज समितिलाई अध्यक्ष र सचिवालयले प्रयोग गर्ने गरी दुई वटा गाडी मन्त्रालयले उपलब्ध गराउने गर्छ ।

‘हज समितिका अध्यक्ष शमशेर मियाँको गाडी लिएर उनीहरुले पीडितलाई भेट्ने, प्रलोभनमा पार्ने र रकम समेत उठाउने गरेको भेटिएको छ’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनीहरुलाई किन गाडी दिइएको थियो भन्ने खुलेको छैन ।’

प्रहरीले हज कमिटीका अध्यक्ष शमशेर मियाँसँग बयान लिने तयारी गरेको छ । तर, उनी एक सातादेखि फोन स्वीच अफ गरेर सम्पर्कविहीन भएका छन् ।

‘एकसातादेखि अध्यक्षज्यूसँग भेट भएको छैन, उहाँहरुको हामी कर्मचारी जस्तो अनिवार्य हाजिरी गर्नुपर्ने भन्ने पनि हुँदैन’ हज कमिटीका सदस्य सचिव डोलेन्द्र निरौला भन्छन्, ‘अरु विषयमा मलाई जानकारी भएन ।’

स्रोतका अनुसार मियाँको ठगीमा संलग्नको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल लगायतसँग पनि सम्पर्क देखिएको छ ।

‘उहाँ र टोपबहादुर रायमाझी दुवै अर्घाखाँचीको हुनुहुन्छ, त्यो हिसाबले पूर्व ऊर्जामन्त्री रायमाझीज्यूमार्फत गिरोहसँग जोडिएको जस्तो देखिन्छ’ ती अधिकृतले भने, ‘तर, उहाँसँग सोधपुछ गर्न नपाएकाले स्पष्ट भइसकेको छैन ।’

यस विषयमा प्रहरीले आइतबार राति पक्राउ परेका पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ ।

जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । योसँगै उनको बयान समेत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा सुरु भएको छ ।

सरकारी वकिलले प्रहरीलाई बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । ‘समय थोरै छ, धेरै विषयमा सोधपुछ गर्न बाँकी छ’ ती अधिकृत भन्छन्, ‘सरकारी गाडी ठगको गिरोहलाई दिनेहरुमाथि पनि अनुसन्धान भइरहेको छ ।’

भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपाय पहिल्याउन भन्दै रामबहादुर थापा बादल गृहमन्त्री भएका बेला ३० जेठ २०७६ मा पूर्व सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल गठन भएको थियो । कार्यदल गठन गर्दै आफू अनुकूल सदस्य राखेर फर्जी ‘शरणार्थी’ थप्ने गिरोहको योजना थियो ।

तर, कार्यदलले गिरोहले निवेदन दिन लगाएका नामहरु अस्वीकृत गरिदिएपछि मन्त्रालयका कर्मचारी र मन्त्रीसँगै साँठगाँठ गरेर पन्थी कार्यदलको प्रतिवेदन हेरफेर गरिएको थियो । कार्यदलको प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यदलले काम गरेका बेला ८७५ जनाको आवेदन शरणार्थी शिविरहरु मार्फत प्राप्त भएको थियो ।

ती आवेदनहरु ठगी गर्ने गिरोहमा संलग्नहरुले विभिन्न ठाउँमा गएर रकम असुली गरेर भराएको पाइएको छ । यसरी फारम भराउने क्रममा विभिन्न ठाउँ जान हज समितिको गाडी दुरुपयोग भएको भेटिएको छ ।

यो कामका लागि गिरोहले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी, रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बादलका छोरा प्रतीक थापा, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायतको सहयोग लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पाण्डेको बयानबाट तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परिसकेका छन् । उनको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा भइरहेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

यो प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पा, पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा, सल्लाहकार राईका छोरा निरज लगायत फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?