+
+

थाइल्याण्डमा सैन्य शासन अस्वीकार, नयाँ दलको उदय

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १९:३५

१ जेठ । थाइल्याण्डका मतदाताले सैन्य शासनविरूद्ध आफ्नो मत जाहेर गरेका छन् । संसदीय चुनावमा मुलुकका संस्थाहरुको सुधार गर्ने प्रतिवद्धता जनाएको प्रतिपक्षी दलले धेरै सिट जितेको छ ।

५०० सिटका लागि भएको निर्वाचनमा मुभ फवार्ड दलले १५१ सिट जितेको छ । पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्राको दल फियू थाइले १४१ स्थानमा जित निकाल्दा वर्तमान प्रधानमन्त्री प्रयुथ चान नेतृत्वको गठबन्धनले जम्मा १५ प्रतिशत सिट जितेको छ ।
विश्लेषकहरूले यस नतिजालाई राजनीतिक भूकम्प भनेका छन् ।

यो नतिजाले सैन्य सरकारलाई अस्वीकार गरेको विश्लेषकहरूको मत छ । बहुमततर्फ अघि बढ्दै गर्दा मुभ फर्वाडका नेता पिटा लिमजोर्रेन्टले भनेका छन्, ‘हामीले निर्वाचनका लागि कडा परिश्रम गरेका थियौं । विगतका दशकमा जनताले धेरै सास्ती भोगे । थाइल्याण्डमा अब नयाँ बिहानीको सुरूवात भएको छ ।’

नतिजापछि फियू थाइले अब मुभ फवार्डसँगै गठबन्धन गरेर अघि बढ्ने बताएको छ । नयाँ संसदमा २ दलको मत करिब ६० प्रतिशत हुनेछ ।

नयाँ सरकार बन्ला ?

युवाहरूले तल्लो सदनको नतिजामा पकड जमाएपनि उनीहरूलाई माथिल्लो सदनको भने चुनौती हुनेछ । प्रधानमन्त्री प्रयुथले माथिल्लो सदनमा आफूनिकटको बहुमत सुनिश्चित गरेका छन् ।

उनीहरूले युवा गठबन्धनलाई अस्वीकार गर्ने सम्भावना हुन्छ । विशेष गरी सत्तारूढ दलको मानहानीको विवादास्पद कानुन संशोधन गर्ने प्रतिवद्धतामा उनीहरूलाई धक्का लाग्न सक्छ । २५० सदस्यीय माथिल्लो सदनमा सैन्य समर्थित सांसदकै बाहुल्य छ ।

सैन्य शासकले सत्ता हस्तान्तरण नगर्ने सम्भावना पनि उत्तिकै रहेको कतिपयको मत छ । सैन्य कूको सम्भावना नरहेपनि अदालतमार्फत मुभ फर्वाडको वैधताको सवालमा प्रश्न उठाउने सम्भावना भने रहन्छ । सन् २०२० मा फ्युचर फरवार्डको वैधता पनि खारेज गरिएको थियो ।

अनिश्चयकाबीच एउटा कुरा स्थापित भएको छ । थाइल्याण्डमा अब जनता जागेका छन् र उनीहरू राजनीतिक कोर्स सच्याउने अभियानमा छन् । ‘यो मतले बहुमत जनता सैनिक शासनको विरूद्धमा रहेको प्रस्ट सन्देश दिएको छ । राजनीति शास्त्रका प्राध्यापक प्रजाक कोङकिरती भन्छन्, ‘अपेक्षा गरिएभन्दा बढी जनता परिवर्तनको पक्षमा उभिएका छन् ।’

थाइल्याण्डमा सामाजिक सञ्जाल मुभ फर्वाडको विजयले रंगिएको छ । पार्टीको जीतले नयाँ बिहानीको संकेत गरेको समर्थकहरूको मत छ । मुलुकमा परिवर्तनको आँधी आएको उनीहरूको मत छ ।

पिटाले ट्वीट गरेका छन्,‘हामी सबैले थाइल्याण्डमा परिवर्तनको सपना देखेका मात्रै थिएनौँ । त्यसलाई साकार पनि पार्न सकिन्छ भन्ने आत्मविश्वास सहित कर्म गर्‍यौँ । त्यसको फल प्राप्त भएको छ । थाइल्याण्ड अब विगतको भन्दा पृथक र समृद्ध बनाउन यो एकता कायमै राख्नुपर्ने छ । ’

प्रजातन्त्रको हरण सामान्य नभएको उनको भनाइ छ । कुनै समय मुभ फरवार्ड पार्टीले मुलुकको कर्मचारीतन्त्र र अर्थतन्त्र तथा सैन्य मामिलासँगै राजतन्त्र सम्बन्धी कानुन सुधारमा काम गर्छ भन्दा कसैले पनि नपत्याएको पिटाको अनुभव छ । अब जनअपेक्षा र पार्टीको प्रतिवद्धता अनुसार काम गर्ने उनको भनाइ छ ।

राजतन्त्र सम्बन्धी कानुन संशोधनको मागसहित सन् २०२० मा थाइल्याण्डमा आन्दोलन चर्किएको थियो । त्यसको अग्रपंक्तिमा यही दलका नेताहरू उभिएको थिए । २०२० को आन्दोलनमा होमिएका युवाहरूलाई आकर्षित गरेर नै मुभ फरवार्ड सत्ता नजिक पुगेको छ ।

नयाँ राजनीतिक छालले थाइल्याण्डनै हल्लाएको छ । मुभ फरवार्ड पार्टी स्रोत साधनले प्रतिस्पर्धी भन्दा कमजोर नै थियो । एजेण्डामा अन्य भन्दा सशक्त भएकाले चुनावमा बाजी मार्‍यो । दशकदेखि मुलुकमा राज गरेको सैनिक शासनलाई नतिजाले सबैभन्दा ठूलो धक्का लागेको छ ।

नतिजाले जनतामा परिवर्तनको भोकको संकेत पनि गरेको छ । ५ करोड २० लाख मतदाता रहेको थाइल्याण्डमा १४ प्रतिशत मात्रै युवा मतदाता थिए । मुभ फर्वाडले युवा मतदातालाई पनि आकर्षित गर्‍यो ।

जनता परिवर्तनको भोको रहेपनि २ सुधारवादी दलको सरकार बन्छ वा बन्दैन भन्ने आशंका उब्जिएको छ । तर आशावादी पिटाले भनेका छन्,‘बहुमतलाई अपदस्थ गरेर जनमतको अवमूल्यन गरेर अघि बढ्न अब थाइल्याण्डमा असंभव छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?