+
+

नेपाल-स्पेन कूटनीतिक सम्बन्धको ५५औं वर्षगाँठ : घोडा दौडसहित भव्यरुपमा सम्पन्न

वसन्त रानाभाट वसन्त रानाभाट
२०८० जेठ २ गते ६:४०

स्पेन र नेपालको कूटनीतिक सम्बन्धको ५५औं वार्षिकोत्सवको अवसरमा म्याड्रिडमा एक भब्य समारोहबीच घोडा दौड कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावास म्याड्रिडको आयोजनामा शनिबार हिपोड्रोमो डी ला जज्र्वेलामा घोडा दौडसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।

नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला सर्वोच्च शिखर सगरमाथासहित मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण हिमशिखरको नाममा ८ वटा घोडाहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

दौड प्रतियोगिताको उपाधि अन्नपूर्णले जितेको छ । विजेता घोडसवारलाई बुद्धको मूर्ति तथा प्रतिस्पर्धामा सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । घोडा दौडअघि ८ वटै पर्वतकोबारेमा संक्षिप्त विवरण राखिएको थियो ।

नेपालको संस्कृति र पर्यटन प्रवद्र्धन गरी सन् २०२६ सम्ममा स्पेनबाट प्रतिवर्ष कम्तिमा एक लाख पर्यटक नेपाल पठाउने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ।

‘हाम्रा हिमाल तथा हिमनदीहरूमा जलवायु परिवर्तनको असरबारे चेतना जगाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेका हौं,’ स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले भनिन्, ‘साझा मूल्यमान्यता, सांस्कृतिक आदानप्रदान तथा विभिन्न क्षेत्रमा भएका सहयोगात्मक प्रयासहरू नै दुई देशबीच रहेको दिगो साझेदारीको प्रमाण हो।’

स्पेनको परराष्ट्र मन्त्रालयअन्तर्गत उत्तर अमेरिका, पूर्वी यूरोप एसिया र प्रशान्त क्षेत्रका महानिर्देशक जेभियर सालिडोले नेपाल-स्पेन सम्बन्धको बलियो पक्षबारे प्रकाश पारे । उनले पर्यटन, संस्कृति, खानपान, हरित ऊर्जालगायतका क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने इच्छा व्यक्त गरे ।

कार्यक्रममा प्रसिद्ध पर्वतारोही एड्रियाना ब्राउनलीले मन्तव्य राख्दै हिमाल र स्थानीयहरूमा जलवायु परिवर्तनको प्रभाव रुद्ध तुरुन्त कदम चाल्न आग्रह गरिन्।

बार्सिलोना देखि म्याड्रिड पुगेर कार्यक्रममा कार्यक्रममा  सहभागी बनेका व्यवसायी दिनेश गिरीले स्पेनको इतिहासमा नै एउटा फरक कार्यक्रम सम्पन्न भएको बताए। ‘घोडा दौडसहितको कार्यक्रम सिङ्गो नेपाली डायस्पोराको लागि नै नौलो कार्यक्रम हो,’ एनआरएनए आईसीसी सदस्य समेत रहेका गिरीले भने,‘यस्ता कार्यक्रमले नेपालको संस्कृति र पर्यटन प्रवद्र्धन गर्न मदत गर्न ठुलो टेवा पुग्ने देखिन्छ।’

स्पेनको बेनिड्रम निवासी सन्तोष शर्मा अर्यालले कार्यक्रममा सहभागीले नेपालबारे चासो राखेको बताए। ‘म आँफैले कार्यक्रम संचालन गरेको हुँदा उहाँहरुको चासोलाई ध्यान राख्दै नेपालबारेका जिज्ञासालाई मेटाउने मौका पनि पाएऽ’ उनले भने।

बहुसांस्कृतिक पहिचान झल्कने कार्यक्रम

सांस्कृतिक कार्यक्रममा नेपाल र स्पेनका विविध जातजाति र परम्पराको उत्सव मनाइएको थियो । स्पेनिस समूहले नेपाली गीत ‘कुटुमा कुटु’, ‘मै छोरी सुन्दरी’ र फ्लामेन्कोमा नृत्य प्रदर्शन गरेका थिए ।

नेपाली कलाकार अजय लोप्चनले मञ्जुश्री नृत्य गरे भने नेपाली गायक रुपक डोटेल र स्पेनिस गायिका एन्ड्रियाले दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

बहुसांस्कृतिक पहिचानसहित स्पेनका नेपालीहरुले सबै वर्ग र क्षेत्रलाई प्रतिनिधित्व गर्दै सामूहिक तथा व्यक्तिगत प्रस्तुति राखेका थिए ।

कार्यक्रममा फेसन शो पनि राखिएको थियो । जसमा मोडलहरुले विभिन्न नेपाली हस्तकला तथा कपडाहरु प्रदर्शन गरेका थिए ।

गायनपछि कार्यक्रममा डीजेले विभिन्न नेपाली र स्पेनिस गीतहरू बजाएका थिए । ‘सेलरोटी’ र ‘पकौडा’लगायतका विभिन्न नेपाली परिकारहरु पनि खुवाइएको थियो ।

कार्यक्रममा स्पेनका लागि विभिन्न देशका राजदूत, कूटनीतिक निकाय, स्पेनको परराष्ट्र मन्त्रालयका अधिकारी, कलाकार, सञ्चारकर्मी, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाली डायस्पोरा,स्पेनिसलगायत तीन हजार बढीको सहभागिता रहेको थियो ।

कार्यक्रम खेलकुद, संस्कृति र जलवायु परिवर्तन जोगाउन चेतनामूलक रहेकोमा उपस्थित अतिथि तथा सहभागीहरुद्वारा व्यापक रूपमा प्रशंसा गरिएको थियो ।

कार्यक्रम सम्पन्न गर्न परराष्ट्र मन्त्रालय,नेपाल पर्यटन बोर्ड लगायत स्पेनस्थित नेपाली संघसंस्थाहरुले सहयोग गरेका थिए ।

नेपाल-स्पेन कूटनीतिक सम्बन्ध

नेपाल र स्पेनबीच मे १३, १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । स्व.राजा वीरेन्द्र र स्वर्गीय रानी ऐश्वर्याले सन् १९८३ मा स्पेनको राजकीय भ्रमण गरेका थिए।  स्पेन भ्रमणको क्रममा दुई देशबीच सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह देव र महारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहको निमन्त्रणामा स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले सन् १९८७ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।

सन् १९८४ जुलाईमा स्वर्गीय राजा वीरेन्द्रले स्पेनका राजा, स्पेनी जनता र स्पेन सरकारलाई हिमालयन रेड पाण्डाको एक जोडी उपहार दिएका थिए ।

नेपाल सरकारले २० फेब्रुअरी २०१७ मा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो ।

फोटो सौजन्य नेपाली राजदूतावास म्याड्रिड

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?