+
+

बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १७:१०

२ जेठ, बुटवल । बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ ।

२०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणासहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ ।

बुटवलको गोलपार्कदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको लुम्बिनी केबलकार जेठको १० गते सञ्चालनमा आउने लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘जेठ १० गते केबलकार अपरेसनमा ल्याउने तयारी छ’, अध्यक्ष ढकालले भने, ‘केबलकार सञ्चालनसंगै टप स्टेशनमा बनेको कामाख्या मन्दिरमा एक हप्तासम्म पुजाआजा गर्ने कार्यक्रम छ ।’

यसअघि वैशाखमा सञ्चालनमा ल्याउने भनिएपनि प्राविधिक काम सम्पन्न नभएकाले जेठको दोस्रो सातादेखि सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको आयोजना प्रमुख गोपाल साउदले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–३ बमघाटमा तल्लो र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा केबलकारको माथिल्लो तथा अन्तिम स्टेशन छ ।

केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, बाल उद्यान,जिपलाइन लगायत संरचना निर्माण हुने उनले बताए ।

मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला रहेको केबलकारले दैनिक ६ हजार यात्रु ओसारपसार गर्न सक्ने उनले बताए ।

केवलकारको तल्लो स्टेशन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेकाले १० मिनेटको यात्रामै तराई, पहाड तथा हिमालको अनुभव तथा दृश्यावलोकन गर्न सकिने भएकाले पनि केबलकार सञ्चालन पछि यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताए ।

भारतीय सीमाबाट नजिक भएकाले गर्मी मौसममा शितलताका लागि र जाडो मौसममा न्यानोका लागि भारतको गोरखपुर, लखनउसम्मका पर्यटक आकर्षित हुने विश्वास रहेको अध्यक्ष ढकालले बताए ।

सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि बसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने ६.२७ हेक्टर वन क्षेत्र प्रयोगका लागि २५ वर्षका लागि भोगाधिकार दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?