+
+

भारतबाट तेल आयात कटौती गर्दै युरोपियन युनियन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १९:०५

२ जेठ, काठमाडौं । रूस–युक्रेन युद्धमा भारतले पश्चिमा नीतिलाई समर्थन नगरेपछि युरोपियन युनियनले भारतमाथि दबाव बढाउने भएको छ ।

प्रशोधित पेट्रोलियम पदार्थको आयातमा भारी कटौती गर्दैै युरोपियन युनियन भारतमाथि आर्थिक दबाव बढाउने मनसायमा पुगेको हो ।

युरोपियन युनियनले भारतबाट प्रशोधित पेट्रोलियम पदार्थ आयात भारी मात्रामा कटौती गरेको छ । रुसबाट कच्चा तेल ल्याएर प्रशोधन गरेर बिक्री गरेको भन्दै युनियनले भारतबाट तेल आयात भारी मात्रामा कटौती गर्ने भएको हो ।

युरोपियन युनियनका विदेश मामिला प्रमुख जोसेप बोरेलले युनियनमा आवद्ध सबै राष्ट्रले भारतबाट पेट्रोलियम पदार्थ आयात भारी मात्रामा कटौती गर्ने बताएका हुन् ।

रूस–युक्रेन युद्धमा पश्चिमा नीतिको पक्षमा नउभिएकाले यस्तो कदम चाल्न लागेको हो । भारत र रूसबीचको व्यापारको युरोपियन युनियनलाई खासै चासो नरहेको बोरेलको भनाइ छ । रूसमाथिको आर्थिक प्रतिबन्धको कारण भारतको प्रशोधित पेट्रोलियम पदार्थ आयातमा कटौती गर्न लागिएको उनले बताए ।

युद्धयता रूसबाट कच्चा तेल आयात गर्ने अग्रपंक्तिमा भारतनै छ । रूसले कच्चा तेल सस्तोमा उपलब्ध गराएकाले खरिद गरेको भारतले बताउँदै आएको छ । रोयटर्स, ब्लुमबर्ग लगायतका सञ्चारमाध्यमले गत महिना भारतले रूसबाट कच्चा तेल ल्याएर प्रशोधित तेल युरोप बेच्ने गरेको खुलासा गरेका थिए ।

‘भारतले रूसबाट सस्तोमा खरिद गर्दा रूसले पनि कमै आम्दानी गरेको छ । भारतले रूसबाट तेल आयात गर्ने कुरामा हाम्रो असहमति भएन । तर सस्तोमा ल्याएर रूसी उत्पादन हामीलाई पठाउँछ भने हामीले कदम चाल्नैपर्ने हुन्छ’, बोरेलले भनेका छन् ।

यो विषय आफूले भारतीय विदेशमन्त्री एस जयशंकर समक्ष उठाउने उनले बताएका छन् । जयशंकर युरोपियन युनियनको व्यापार तथा प्रविधि परिषद्को बैठकमा सहभागी हुन ब्रसेल पुगेका छन् ।

भारतले प्रशोधित पेट्रोलियम पदार्थ सबैभन्दा बढी निर्यात गर्छ । यसमा रोकावट आएमा भारतीय अर्थतन्त्रमा समेत धक्का पुग्नेछ । युरोपियन युनियनको दबाबले घरेलु अर्थतन्त्रमा प्रभाव पर्दा रूसविरूद्ध भारतीय नीति समेत परिवर्तन हुनसक्ने युनियनको अपेक्षा छ । रूस–युक्रेन युद्धयता भारतले रूससँग व्यापारिक सम्बन्ध बलियो बनाउँदै लगेको छ ।

विगतमा उच्च ढुवानी मूल्यका कारण भारतले रूसबाट निकै कम मात्रामा कच्चा तेल आयात गर्दै आएको थियो । तर युद्ध यताको आयात हेर्दा भारतले चालु आर्थिक वर्षको अप्रिलदेखि मार्चसम्मको अवधिमा प्रतिदिन ९ लाख ७० हजार देखि ९ लाख ८१ हजार ब्यारेल तेल भित्र्याएको थियो । यो भारतको कुल तेल आयातको पाचौं ठूलो हिस्सा हो ।

रूसको सबैभन्दा ठूलो तेल उत्पादनकर्ता रोसनेफ्ट र भारतीय आयल कर्पोरेसनबीच भारतमा उच्च गुणस्तरको तेल दिने विशेष सम्झौता समेत भएको छ ।

ढुवानीको तथ्यांक हेर्दा रिलायन्स र नायरा इनर्जी नामक कम्पनीले सबैभन्दा धेरै तेल आयात गरेर प्रशोधित तेल निर्यात गरिरहेका छन् । भारतले प्रतिदिन डिजेल र हवाइ इन्धन गरी १ लाख ५४ हजार ब्यारेल प्रशोधित तेल युरोप निर्यात गर्दै आएको थियो । युद्धपछि भने २ लाख ब्यारेल तेल पठाउँदै आएको थियो ।

युरोपियन युनियनमा रूसको तेल रोक्नका लागि आवश्यक सबै कदम चालिने बोरेलले बताए । रूसको कच्चा पदार्थ प्रयोग गरी बनेका प्रशोधित पेट्रोलिय पदार्थ रोक्ने पक्षमा युरोपियन युनियन उभिएको छ ।

‘कसैले न कसैले खरिद गरेकै कारण रूसले तेल बेचेर आम्दानी गरिरहेको छ । कसले रूसको तेल खरिद गरिरहेको हामीले नियालेर निर्यात रोक्नैपर्छ’, बोरेलले भने ।

रूसी पेट्रोलियम पदार्थ युरोपियन युनियनमा प्रयोग हुन नदिनेमा आफूहरू दृढ रहेको बोरेलको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?