+
+

मिटरब्याजको कथावस्तुमा ‘देववाणी’ बन्ने, फिल्म खेल्न काठमाडौं आइपुगे भोजपुरी अभिनेता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १४:३३

काठमाडौं । बाबु बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘देववाणी’को शुक्रबार भद्रकालीमा शुभसाइत गरिएको छ । मधेश क्षेत्रमा पछिल्लो समय भइरहेका मिटरब्याजको घटना र त्यसले गरिब वर्गको जीवन कसरी उठिवास भइरहेको छ भन्ने कथावस्तुमा फिल्म निर्माण हुन लागेको हो ।

निर्देशक बलामीले हालै मधेशबाट हप्तौं खाली खुट्टा हिंडेर काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका मिटरब्याज पीडितको यथार्थ घटनालाई फिल्ममा चित्रण गर्न लागिएको बताए । फिल्ममा देवको भूमिकामा भोजपुरी फिल्मका अभिनेता कुन्दन भारद्वाजले अभिनय गर्दैछन् । उनको पात्रले मिटरब्याज गिरोहविरुद्ध संघर्ष गर्छ । भारद्वाजले अभिनय गरेको भोजपुरी फिल्म ‘मिसन चाइना’ अहिले पोस्ट प्रोडक्सनमा छ । उनी फिल्म खेल्न राजस्थानबाट नेपाल आएका हुन् ।

डेब्यु अभिनेत्री अनुजा लेप्चाले भारद्वाजसँग अनस्क्रिन रोमान्स गर्ने भएकी छन् । रविन्द्र झालाई पनि शीर्षमध्येको भूमिकामा देख्न पाइनेछ । ‘यो कथावस्तुलाई लिएर एकदम उत्साहित छु । मधेशको पछिल्लो मिटरब्याजको समस्याबारेको कथावस्तुसँग सहमत पनि छु,’ अभिनेता झाले भने ।

नीराजन मेहताले पटकथा लेखेका हुन् । नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्मको छायांकन आइतबारदेखि सिमरा, वीरगञ्ज, इटहरी र काठमाडौंमा हुने भएको छ । यसअघि जंगली मान्छे, बलवान, युज, सोल्जर र डाइभर दाइजस्ता एक्सन फिल्म निर्देशन गरेका बलामीले यसमा सामाजिक विषयवस्तु उठाएका छन् ।

फिल्ममा ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको पनि अभिनय रहनेछ । हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको एक्सन कोरियोग्राफी हुनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मीना खड्का र हीराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको नृत्य निर्देशन, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?