+
+

आधारभूत अस्पतालमा एमडिजिपी र स्त्री रोग विशेषज्ञसहित ५ जना चिकित्सक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १८:५३

५ जेठ, काठमाडौं । सरकारले आधारभूत अस्पतालहरुमा एकजना एमडीजीपी चिकित्सकसहित एकजना महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तिमा ३ जना मेडिकल अधिकृत र आवश्यक नर्स र प्राविधिक जनशक्तिसहित आधारभूत उपचार सेवा उपलब्ध गराउने भएको छ ।

शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन् ।

त्यसका लागि आधारभूत अस्पतालमा प्रयोगशालाका लागि उपकरण तथा सामाग्री एक्सरे, अल्ट्रासाउण्ड, इको र इसिजी लगायतका डाइग्नोस्टिक उपकरण, अक्सिजन सुविधा सहितको एम्बुलेन्स उपलब्ध गराइ सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गरिने सरकारको नीति छ ।

आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिइने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।

त्यसैगरी, प्रदेशको एक अस्पतालमा मुटुको शल्यक्रिया र क्यान्सर रोगको उपचार हुनसक्ने विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न आवश्यक पूर्वाधार, प्रविधि र जनशक्तिको व्यवस्थापन गरिने घोषणा गरेको छ ।

सरकारले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको पहिचान र प्रारम्भिक उपचारलाई कार्यक्रमको रुपमा विस्तार गर्ने नीति लिएको छ ।

यस्तै, संक्रामक रोगको न्यूनीकरणका लागि विशेष अभियानको सञ्चालन गर्ने घोषणा गरेको छ ।

सरकारले औषधि व्यवस्था विभागलाई खाघ, औषधि तथा स्वास्थ्य प्रविधि विभागमा रुपान्तरण गर्ने नीति लिएको छ । आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने राष्ट्रपतिले पौडेलले बताए ।

औषधिजन्य तथा स्वास्थ्यजन्य सामग्री स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तिय र अन्य सुविधा तथा सहुलियत उपलब्ध गराइने सरकारको नीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?