+
+
नक्कली शरणार्थी प्रकरण :

गिरोहले ८७५ जनाको नाम थप्दा किन १०६ जनाले मात्र दिए जाहेरी ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते २१:४१
पक्राउ परेका आरोपीहरु । फाइल तस्वीर

५ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असूली गरेको गिरोहले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची थपेर ८७५ जनाको नाम थपेको थियो ।

पन्थी नेतृत्वको कार्यदलले विचौलियाले रकम उठाएर आवेदन दिएकाहरुको नाम प्रतिवेदनमा नसमेटेपछि कीर्ते गरेर अनुसूची थपिएको अनुसन्धानका क्रममा खुलेको छ ।

अनुसूची ९ (क) मा विभिन्न कारणले शरणार्थी दर्ता छुट भएर तेस्रो मुलुक पुनस्र्थापनाको माग गर्दै निवेदन दिने क्याम्प बाहिर ठेगाना भएका र ९ (ख) मा क्याम्पभित्र ठेगाना भएकाहरुको नाम राखिएको थियो । उनीहरु सबैबाट कम्तिमा ५ लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म असूली गरेर अनुसूचीमा नाम राखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तर, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंमा गरेर जम्मा १०६ जना पीडितले मात्र किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार हालसम्म २३ वटा किटानी जाहेरी प्रहरी कहाँ परेको छ ।

‘एउटै जाहेरी धेरै जनाको नाम छ, त्यसअनुसार अहिलेसम्म कम्तिमा १०६ जनाको जाहेरी परेको छ’, उनले भने, ‘कसरी ठगिएको हो भन्ने बेग्लाबेग्लै रकम भएकाले रायसहितको प्रतिवेदन बुझाउने अन्तिम समयमा फाइल गर्छौं ।’

प्रहरीले परेको पछिल्लो हिसाबमा जम्मा २३ करोड रुपैयाँ उठाएको देखिएको थियो । मुद्दा दर्तासम्म पुग्दा ५० करोड रुपैयाँको हाराहारीमा पुग्न सक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । त्यसो त सुरुमा यो गिरोहले कम्तिमा एक अर्ब रुपैयाँ उठाएको हुनसक्ने अनुमान गरिएको थियो ।

तर, धेरै अघिदेखि यो प्रकरण बाहिर चर्चामा आएका कारण कतिपय पीडितलाई फिर्ता दिइएकाले जाहेरी नपरेको प्रहरी अधिकृतहरु बताउँछन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की पनि थोरै जाहेरी पर्नु पछाडि कतिपयलाई रकम फिर्ता गरिनु र कतिलाई फिर्ता दिने आश्वसन दिनु भएको हुनसक्ने बताउँछन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की पनि थोरै जाहेरी पर्नु पछाडि कतिपयलाई रकम फिर्ता गरिनु र कतिलाई फिर्ता दिने आश्वसन दिनु भएको हुनसक्ने बताउँछन् ।

‘प्रहरीले एक वर्षअघिदेखि अनुसन्धान सुरु गरेपनि यो विषय अलि अघिबाटै हल्लाखल्ला भएको कुरा थियो’, कार्कीले अनलाइनखबरसँग भने, ‘त्यसैले थुप्रैको फिर्ता भइसकेको पनि पाइएको छ । कतिपयलाई फिर्ता दिने गरी आश्वसन दिइएको देखिन्छ ।’

प्रहरी अधिकृतहरुका अनुसार प्रकरणमा जोडिएका पूर्वसभासद् आङटावा शेर्पाले रामेछापका विभिन्न व्यक्तिहरुसँग असूली गरेको रकम फिर्ता दिन्छु भन्दै पीडितहरुसँग समझदारी गरेका छन् । उनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणले लिएको रकम पनि आफूले फिर्ता दिने भन्दै हिरासतमा रहेका सानु भण्डारी र केशव दुलालसँग उनको नाम नलिन भनेको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘यस्ता थुप्रै कारणले धेरैको जाहेरी नआएको हो’, एक अधिकृत भन्छन्, ‘अर्को चाहिँ अदालतमा जाँदा झन्झटिलो हुने भयो, पैसा पनि ढिला आउने भयो । सिधै उनीहरुसँगै समझदारी गर्दा छिटो पैसा आउने भएकाले पनि जाहेरी नदिएको हुनसक्छ ।’

प्रहरीले यो प्रकरणमा १२ चैत २०७९ मा ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र पाँथचरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङको पथरीशनिश्चरेका सागर राई पक्राउ गरेका थिए ।

उनीहरुको बयानका आधारमा १९ वैशाख २०८० मा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका थिए । राईपछि पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप लगायत पनि यो प्रकरणमा पक्राउ परेका छन् ।

हालसम्म यो प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् । प्रहरीले पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध, ठगी, कीर्ते लगायतका कसूरमा मुद्दा दर्ता गर्न रायसहित अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?