+
+

‘जारी’पछि बक्स अफिसले गुमायो लय

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १२:२२

काठमाडौं । ‘जारी’पछि नेपाली बक्स अफिस पुनः संकटग्रस्त देखिन थालेको छ । त्यसयता रिलिज भएका स्वदेशी फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेका छैनन् । ‘गार्जियन अफ द ग्यालेक्सी’ र ‘फास्ट एक्स’ले सप्ताहन्तमा दर्शकलाई आकर्षित गरे पनि यी दुईको कमाइ पनि सोचेजस्तो छैन ।

विडम्बना के छ भने ‘जारी’पछि रिलिज भएका कुनै पनि नेपाली फिल्मले एक करोड रुपैयाँ पनि कमाउन सकेनन् । वैशाखमा रिलिज भएका आठमध्ये सातले त लगानी पनि उठाउन सकेनन् । चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार ‘प्रसाद २’को कलेक्सन ७० लाख ६१ हजार नेट कलेक्सन छ भने ‘ज्याकी : आईएम ट्वान्टी वान’को कमाइ ४३ लाख ७८ हजार रुपैयाँ नेट छ ।

‘हल्कारा’को कमाइ दुई लाख २३ हजार नेटमै समेटियो । ‘नाइँ नभन्नु ल ६’ २१ लाख रुपैयाँ नेटमै रोकियो । ‘बिहेपास’को कलेक्सन ७० लाख हाराहारी छ । बुलाकी, कैदीको पत्रजस्ता फिल्मको कमाइ केही हजारमा मात्र सीमित छ । ‘फिल्मको पछिल्लो व्यापार हेर्दा निकै तनावपूर्ण छ,’ बोर्डको बक्स अफिस विभाग संयोजक रवि अधिकारी भन्छन्, ‘जारीपछि कुनै फिल्मको कमाइ पनि सुखद छैन ।’

चलचित्र संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले ‘जारी’पछि हलहरु सुनसान हुन थालेको बताए । उनले आर्थिक मन्दी भन्दा पनि फिल्मले नै दर्शकलाई अपील गर्न नसकेको बताए । ‘आर्थिक मन्दी भन्दा पनि फिल्मको कन्टेन्टले नै दर्शकलाई तान्न सकेको छैन । अहिले विकेन्डबाहेक विकडेजमा १० प्रतिशत अकुपेन्सीमा हल चलाउनुपरेको छ,’ उनले भने, ‘जारी छैटौं सातामा पनि राम्रै चलेको छ । मुख्य कुरा फिल्म राम्रो हुनुपर्‍यो । आर्थिक मन्दीले फिल्म हेर्ने कुरालाई प्रभावित पार्छजस्तो लाग्दैन ।’

बिग मुभिजका व्यवस्थापक दीपेश शर्मा जारीपछि फिल्ममा दर्शक घटेको स्वीकार्छन् । ‘स्वदेशीले मात्र होइन आशा राखिएका विदेशी फिल्म कसैले पनि दर्शकलाई तान्न सकेको देखिएन । आर्थिक मन्दी पनि जिम्मेवार होला तर मुख्य कुरा फिल्मले नै दर्शकलाई तान्न सक्नुपर्छ ।’ फास्ट एक्सजस्ता फिल्महरु विकेण्डमा राम्रै चले पनि विकडेजमा अकुपेन्सी न्यून रहेको हल सञ्चालक बताउँछन् ।

फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरी पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीको असर दर्शकको क्रयशक्तिमा परेको विश्लेषण गर्छन् । ‘आर्थिक मन्दी पनि यसमा जिम्मेवार होला । पछिल्लो समय बजारमै चहलपहल देखिंदैन ।’ चलचित्र संघका महासचिव महर्जन भदौदेखि मात्र नेपाली बक्स अफिस चलायमान हुने बताउँछन् । ‘भदौमा शाहरुख खानको जवानदेखि दयाहाङको नांगो गाउँ र धीरज मगरको भगवत् गीताजस्ता आशा राखिएका फिल्म प्रदर्शन हुँदैछन् । जसले हलमा दर्शक तान्न सक्छन्,’ उनी भन्छन् ।

‘छक्कापञ्जा’ फेम्ड अभिनेता गिरी प्रदर्शन तयारीमा रहेका फिल्मको लाइनअप हेर्दा भदौदेखि नै हलहरु चलायमान हुने बताउँछन् । भदौको यही लाइनअपलाई देखेर गिरीले साउनदेखि नयाँ बानेश्वर चोकमा नयाँ मल्टिप्लेक्स सिनेमा घर सञ्चालनमा ल्याउँदैछन् भने भदौदेखि नै नयाँ फिल्मको छायांकन गर्ने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?