+
+
Shares

काठमाडौं-हाङझाउ पहिलो पटक सिधा उडान गर्दै हिमालय एयरलाइन्स

काठमाडौंबाट हाङझाउका लागि प्रत्येक आइतबार र बुधबार प्रस्थान गर्ने र उताबाट प्रत्येक सोमबार र बिहिबार फर्कने तालिका छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालय एयरलाइन्सले ३० सेप्टेम्बर २०२६ देखि काठमाडौं-हाङझाउ-काठमाडौं सिधा उडान सुरू गर्ने घोषणा गरेको छ ।
  • कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउ सियाओसान विमानस्थलमा साताको दुई नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।
  • उपाध्यक्ष विजय श्रेष्ठले चीनका १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने लक्ष्य रहेको बताए ।

८ असोज, काठमाडौं । हिमालय एयरलाइन्सले चीनको हाङझाउमा पहिलो पटक सिधा उडान गर्ने भएको छ ।

कम्पनीले काठमाडौं-हाङझाउ-काठमाडौं उडान घोषणा गरेको हो । कम्पनीको यो नयाँ रुट हुनेछ । यस रुटमा ३० सेप्टेम्बर २०२६  देखि उडान सुरु गर्ने घोषणा कम्पनीले गरेको छ ।

हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई नियमित उडान तालिका सार्वजनिक गरेको छ ।

यो उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यको पर्यटन वृद्धिमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।

यो सेक्टर जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजना रहेको हिमालयले उल्लेख गरेको छ । काठमाडौंबाट हाङझाउका लागि प्रत्येक आइतबार र बुधबार प्रस्थान गर्ने र उताबाट प्रत्येक सोमबार र बिहिबार फर्कने तालिका छ ।

प्रारम्भिक योजना अनुसार ऐतिहासिक काठमाडौं-हाङझाउ उडान त्रिभुवन विमानस्थलबाट स्थानीय समय अनुसार साँझ ५:१५ बजे उडान गरी १ अक्टोबर बिहान चीनको स्थानीय समय अनुसार १:०५ बजे हाङझाउ स्थित हाङझाउ सियाओसान विमानस्थल अवतरण गर्ने छ ।

हिमालयका उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने रहेको बताए ।

उनका अनुसार हिमालयले सधैं चीनमा नयाँ-नयाँ गन्तव्य खोज्दै नियमित उडान सञ्चालन गर्दै आएको छ । हिमालय नेपाल-चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । यसको स्थापना सन् २०१४ मा भएको थियो ।

हिमालयले काठमाडौंलाई युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया, कतार, साउदी अरब, कुवेत, बंगलादेश र चीनमा सिधा उडान मार्फत जोडिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?