+
+

डेढ अर्ब लगानीमा ठमेलमा खुल्यो होटल ‘बाराही काठमाडौं’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १३:१३

७ जेठ, काठमाडौं । बाराही ग्रुपले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’ आइतबारबाट सञ्चालनमा आएको हो । चार तारे स्तरको यो होटलमा ८ सुइट र ७२ डिलक्स गरी ८० वटा कोठा रहेका छन् । डिलक्स रुमको अफर शुल्क १ सय डलर रहेको बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए । होटलमा कफी सप, रेष्टुरेण्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल केही हप्तामा तयार हुने बताइएको छ ।

केशरमहलको अगाडि चोकैमा रहेको होटलको सातौं तलामा ’इन्फिनिटी स्विमिङ पुल’ छ । स्विमिङ पुलको मोहोडा तर्फ नारायणहिटी दरबार रहेकाले मनमोहक दृश्य देखिन्छ । साढे चार फिट गहिरो स्विमिङ पुल करिब ११०० स्क्वायर फिटमा फैलिएको छ ।

बाराही ग्रुपले व्यावसायिक कम्प्लेक्ससहितको होटल निर्माण गरेको हो । कम्प्लेक्सको भुँइतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने छन् भने बाँकी ६ तलामा होटल रहेको छ ।

काठमाडौंको मध्यविन्दुमा रहेको होटल बाराहीबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुने होटलको भनाइ छ । घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भु तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला होटेलबाटै देख्न सकिन्छ ।

सपिङ कम्प्लेक्स सहितको होटल निर्माण गर्न करिब एक अर्ब चालिस करोड रुपैयाँ खर्च भएको थापाले बताए । पसल तथा अफिसका लागि बुकिङ पनि खुल्ला गरेको छ । सपिङ कम्प्लेक्स सहित होटल रहेको बाराही प्लाजाको आर्किटेक्टको काम ‘डिजाइन सेल’का अरुण देव पन्त र अन्जन श्रेष्ठले गरेका हुन् भने इन्टेरियर डिजाइनको काम सिद्धार्थ गोपालानले गरेका हुन् ।

नेपाली पर्यटनको ’गोल्डेन ट्र्याङ्गल’ मानिएको पोखरा, चितवन र काठमाडौं मध्ये यस अगाडि पोखरा र चितवनमा बाराही ग्रुपले सेवा सञ्चालनमा ल्याइसकेको छ । बाराही काठमाडौंको सुरुवातसँगै अब बाराहीले गोल्डन ट्र्याङ्गल भरी आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए । सोही होटलमा पछि सुविधा थप गरी होटल बाराही नामाकरण गरिएको हो ।
पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव सोही व्यवसायमा आवद्ध छन् । सामान्य स्तरबाट सुरू भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको थापाले बताए । बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा छन् ।

बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ, जहाँ १२ सय क्षमताको सभाहल समेत बन्दैछ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेड सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ)मा समेत जाने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?