+
+

बर्सेनि हुरीले भत्काउँछ रामसृष्ठको घर

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० जेठ ७ गते १९:३५

७ जेठ, जनकपुरधाम । बस्तीभन्दा झण्डै दुईसय मिटर पर चौरमा छ एउटा छाप्रो । जसको छानोको धेरैजसो भाग उजाड छ । भत्केको जस्तो देखिने यो घरमा मान्छे बस्दैनन् भन्ने धेरैलाई लाग्न सक्छ ।

तराई मधेशमा उखरमाउलो गर्मीसँगै हावाहुरी र वर्षातको मौसम सुरु भइसकेको छ । तर ६० वर्षीय रामसृष्ठ बिन र उनकी ५५ वर्षीया श्रीमती मुंगा बिनको ओत लाग्ने एकमात्र ठाउँ हो यो घर। ‘हाम्रो सम्पत्ति यति हो हजुर, १० धुर जग्गा र यो घर । यो घर पनि हुरीले तहसनहस पारिदियो’, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका-२ का रामसृष्ठ घरको छानो देखाउँदै भन्छन्।

गत १९ वैशाखको दिउँसो आएको हावाहुरीले बिन दम्पत्तिको घरको छनो उडायो । हावाहुरी आउँदा रामसृष्ठ घरमै थिए भने श्रीमती बाहिर थिइन्। हावाहुरीले छानो उडाएपछि लगत्तै असिना पानी आउन थाल्यो रामसृष्ठ खाद्यान्न र लत्ताकपडा बचाउने प्रयासमा लागे।

‘एकाएक ठूलो हुरी आयो, घरको एलिबेस्टर उडायो । यतातिरको टाट खस्यो, असिना पानी जोडजोडले पर्न थाल्यो’, रामसृष्ठ त्यस बखतको घटना सुनाउँदै भने।

उनको घर हावाहुरीले उडाएको पहिलो पटक होइन । पाँच वर्षदेखि बर्सेनि यस्तो विपत्तिको सामना गर्नु रामसृष्ठको नियती बनेको छ । अब फेरि कसरी मर्मत सम्भार गर्ने र वर्षायाममा घरमा बस्ने भन्ने चिन्ताले पिरोलेको छ उनलाई।

‘वर्षमा १-२ पटक मेरो घर हावाहुरीले उडाउँछ, भत्काउँछ । फेरि जसोतसो बनाउँछु । त्यसैले हावाहुरी आउँदा पनि भाग्दिनँ। छिमेकमा अरु घर पनि टाढै छ । कति अर्काको घरमा गएर लुक्नु, जे हुन्छ हुन्छ । यो वर्ष सरकारसँग सहयोग माग्छु । दिन्छ भने दिन्छ, नत्र मजदुरी गरेर विस्तारै बनाउँछु’ रामसृष्ठ भन्छन् ।

ज्याला मजदुरी गरेर साँझबिहानको छाक टार्ने वृद्ध दम्पत्तिका दुई छोरीको विवाह भइसक्यो । उनीहरुको पनि आर्थिक अवस्था कमजोर भएकाले बाबुआमाको हेरचाह गर्न सकेका छैनन् ।

रामसृष्ठले यो ठाउँमा १० धुर जोडेर घर बनाएको पाँच वर्ष भएको छ । त्यसयता हावाहुरी र वर्षाले ६ पटक उनको घर क्षतविक्षत पारेको छ । ‘एकवर्ष त २–३ पटक नै घर भत्कायो’ उनी भन्छन् ।

हावाहुरी र वर्षाले भत्काएको घर  मर्मतसम्भारमा ५० हजार रुपैयाँ खर्च हुने रामसृष्ठ बताउँछन् । ‘आफैंले बनाउन सक्दिनँ । मिस्त्री लगाउनुपर्छ । काठ–बाँस किन्नुपर्छ । वर्षको ४०–५० हजार रुपैयाँसम्म खर्च लाग्छ’ उनी भन्छन् । बर्सेनि हावाहुरीले उडाउने घरको सट्टा पक्की घर बनाउने उनको हैसियत छैन ।

रामसृष्ठ साविक महोत्तरीको पिपरा गाउँपालिकास्थित पर्सा पिपराका बासिन्दा हुन् । आठ दाजुभाइमा जग्गा अंशवण्डा हुँदा एक-एक धुर भागमा पर्‍यो । त्यति जग्गामा लामै समय दुःखसुख गरी बिताए । तर धेरै विवाद हुन थालेपछि त्यो एकधुर जग्गा बेचेर उनले मुखियापट्टी मुसहरनियाको उत्तरबारी टोल नजिक चौरमा पौने २ लाखमा घडेरी किने र घर बनाएर बस्न थाले ।

मुखियापट्टी मुसहरनिया देशकै गहिरो र होचो ठाउँमध्येमा पर्छ । वर्षाको बेला उनको घर जलमग्न हुन्छ । बर्सेनि हावाहुरी, वर्षा र डुवानले रामसृष्ठले पीडा झेलिरहेको स्थानीय जेष्ठ नागरिक सुवेदार यादव बताउँछन् ।

‘जनमजदुरी गरेर खान्छ । तर प्रत्येक वर्ष हावाहुरीले घर उडाउँछ, भत्काउँछ । फेरि जसोतसो बनाउँछन् । वर्षामा यो भूभाग नै डुबान हुने गर्छ’ यादव भन्छन् ‘सरकारले एउटा पक्की घर बनाइदिए उनको उद्धार हुन्थ्यो । बिचरा कहिलेसम्म यसरी दुःख झेलिरहन्छ।’

रामसृष्ठसँग खानेपानीको लागि आफ्नो हाते कल छैन । अर्काले खेतमा गाडेको कलबाट खानेपानी ल्याउँदा चोरीको आरोप लाग्ने हो कि भनेर डराउँछन् । त्यसैले करिब २ सय मिटर पर नेपाल-भारत सीमा नजिक जमुनी नदीको किनारमा गाडिएको सार्वजनिक कलबाट पानी ल्याउँछन् ।

‘पहिले छिमेककै खेतमा गाडेको कलबाट पानी ल्याएर खान्थेँ । एक वर्षअघि गाउँमा मेला लागेको थियो । कलमा जडान भएको मोटर चोरी भयो । मलाई ती छिमेकीले चार ४/५ दिन सोधे, तपाईं यहीँबाट पानी खानुहुन्छ, मोटर कसले खोल्यो, हेर्नुभएन भनेर’, रामसृष्ठ सुनाउँछन् ‘त्यसबेलादेखि म त्यहाँ परबाट पानी ल्याउन थालेँ । छिमेकको खेतमा गाडेको कलबाट पानी खान डर लाग्छ।’

सरकार स्थानीय जनप्रतिनिधिले पहुँचवालालाई मात्र खानेपानीको कल दिने गरेको उनको गुनासो छ । आफूलाई विपत्तिबाट बचाउन र खानेपानीको लागि हाते कल नै दिए हुने उनको अपेक्षा छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?