+
+

१० महिनामा पौने ३ खर्बले घट्यो आयात, भन्सार राजस्व ९७ अर्ब कम

अच्युत पुरी अच्युत पुरी
२०८० जेठ ७ गते २०:१६

७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को १० महिना (वैशाख मसान्त)सम्म वस्तु आयातमा पौने ३ खर्बले गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको साउन–वैशाखसम्मको तथ्यांक अनुसार यस अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यो गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा १६.७८ प्रतिशतले कम हो । गत आवको यस अवधिमा १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँको वस्तु आयात भएको थियो । अर्थात अघिल्लो आवको तुलनामा यस आवमा पौने ३ खर्बले आयात संकुचन भएको छ ।

अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम गर्न सरकारले चालु आवको सुरुवाती महिनाबाटै आयातमा कडाइ गरेको थियो । जसको परिणामस्वरुप १० औं महिनासम्म समेत आयातमा संकुचन जारी छ । चैत महिनामा केही बढेको आयात वैशाखमा पुनः कम भएको छ ।

चैतमा यस आवको सर्वाधिक १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात भएकोमा वैशाखमा घटेर १ खर्ब ३४ अर्ब रुपैयाँको मात्र वस्तु आयात भएको छ । यो अघिल्लो महिनाको तुलनामा ९ अर्ब रुपैयाँले कम हो ।

सरकारले मंसिर मसान्तसम्म कायम आयात प्रतिवन्ध १ पुस २०७९ बाट लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघ २०७९ बाट हटाइएको थियो । सरकारले आयात प्रतिवन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिवन्ध हटाएको थियो । यी प्रतिवन्धका कारण कमी आएको आयात माघपछि विस्तार हुन थालेको हो ।

राजस्वमा झण्डै १ खर्बको गिरावट

आयातमा आएको संकुचनको प्रभाव सरकारले गर्ने आम्दानीमा समेत परेको छ । चालु आवको १० महिनामा भन्सार विन्दुबाट सरकारले ३ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव २०७८/७९ मा भन्सार विन्दुबाट सरकारले ४ खर्ब ५ अर्ब रुपैयाँ राजस्व उठाएको थियो ।

भन्सार विन्दुमा परेको राजस्व संकलनको यो खाडलको असर समग्र राजस्व संकलनमा समेत परेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार शनिबारसम्म सरकारले भन्सार र आन्तरिक राजस्व गरी कुल ७ खर्ब ६५ अर्ब रुपैयाँ राजस्व उठाएको छ । यो यस आवको लक्ष्यको मात्र ५४.५७ प्रतिशत हो ।

निर्यातमा झनै ठूलो संकुचन

चालु आर्थिक वर्ष २०७९/८० मा वस्तु निर्यातमा झनै ठूलो संकुचन आएको छ । १० महिनाको अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो आवको तुलनामा २४.४९ प्रतिशत कम हो । अघिल्लो आवको वैशाखसम्म १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । वस्तु आयात र निर्यात दुवैमा आएको संकुचनमा आएको कमीले कुल वैदेशिक व्यापारको आकार समेत घटेको छ ।

वैशाखसम्म नेपालको कुल वैदेशिक व्यापारको आकार १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १७.५४ प्रतिशतले कम हो । अघिल्लो आवमा यो अवधिमा वैदेशिक व्यापारको आकार १७ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो । यस आवमा व्यापार घाटा १२ खर्ब ४ अर्ब रुपैयाँ बराबरको भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १५.८५ प्रतिशतले कम हो । सो आवमा व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको थियो । यस आवको वैशाखसम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.०७ प्रतिशत र निर्यातको हिस्सा ८.९३ प्रतिशत रहेको छ । यस वर्ष निर्यातको आफ्नो हिस्सा ८.४३ प्रतिशतले गुमाएको छ ।

पेट्रोलियम पदार्थको आयातमा पौने ३ खर्ब विदेशियो

१० महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्र २ खर्ब ९१ अर्ब ७२ करोड रुपैयाँ विदेशिएको छ । यो वस्तुमा नेपालले शतप्रतिशत घाटाको व्यापार गर्छ ।

१० महिनामा आइरन र स्टीलको आयातमा १ खर्ब १४ अर्ब रुपैयाँ विदेशिएको छ । यस्तो वस्तुको निर्यात भने ८ अर्ब २९ करोड रुपैयाँ बराबरको रहेको छ । सवारी साधन र त्यसका पार्टपुर्जा आयातमा १० महिनामा ४१ अर्ब २७ करोड रुपैयाँ बराबर विदेशिएको छ । तरकारीजन्य वस्तुको आयातमा यस अवधिमा २७ अर्ब ५३ करोड रुपैयाँ विदेशिएको छ । यो अवधिमा कफी, चियाजन्य वस्तुको निर्यातबाट १२ अर्ब रुपैयाँ भित्रिएको छ । कार्पेट निर्यातबाट १० अर्ब रुपैयाँ भित्रिएको छ ।

भारतसँग सबैभन्दा ठूलो व्यापार र घाटा

नेपालले १० महिनाको अवधिमा १६६ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । १० महिनामा भारतबाट ८ खर्ब ४४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ ।

नेपालबाट भारततर्फ भने ९१ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ । जस अनुसार नेपालको भारतसँग ७ खर्ब ५३ अर्ब रुपैयाँको व्यापार घाटा देखिन्छ । चीनबाट १ खर्ब ७९ अर्बको वस्तु आयात भएको छ । निर्यात भने मात्र १ अर्ब ३५ करोड रुपैयाँको भएको छ ।

इण्डोनेसियाबाट ३५ अर्ब र अर्जेण्टिनाबाट २१ अर्बको वस्तु आयात भएको छ । अमेरिकाबाट १६ अर्ब ३० करोडको वस्तु आयात हुँदा १५ अर्ब ५८ अर्बको वस्तु निर्यात भएको छ । अमेरिकासँग तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको छ ।

चालु आवको १० महिनाको वैदेशिक व्यापार

  • आयात : १३ खर्ब ३५ अर्ब ३२ करोड
  • निर्यात : १ खर्ब ३० अर्ब ९० करोड
  • व्यापार घाटा : १२ खर्ब ४ अर्ब ४२ करोड
  • कुल वैदेशिक व्यापार : १४ खर्ब ६६ अर्ब २२ करोड
  • कुल व्यापारमा आयातको हिस्सा : ९१.०७ प्रतिशत
  • कुल व्यापारमा निर्यातको हिस्सा : ८.९३ प्रतिशत
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?