+
+
Shares

तिहारको चमकमा परनिर्भरताको छाया

व्यापारीका अनुसार माटोका पाला, विद्युतीय दियो, झिलिमिली बत्ती, सयपत्री फूलका माला, लक्ष्मीपूजाका सामग्री, भाइमसला, ढाकाटोपी, भाँडाकुँडा, लत्ताकपडा र सजावटका सामान किन्ने ग्राहकको भिडले बजार चलायमान भइसकेको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ असोज ३० गते ८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहार पर्वका लागि आवश्यक अधिकांश सामग्रीहरू भारत, चीन, अमेरिका लगायत विभिन्न देशबाट आयात हुने भन्सार विभागले जनाएको छ।
  • चालु आर्थिक वर्ष २०८२/८३ को साउन–भदौ महिनामा काजु, नरिवल, किसमिस, बदाम, ओखर, सुपारी लगायतका सामग्रीमा करोडौं रुपैयाँ बराबरको आयात भएको छ।
  • झिलिमिली बत्तीको ९० प्रतिशतभन्दा बढी चीनबाट आयात हुने र चालु वर्षमा करिब २५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको विद्युत् व्यवसायी महासंघले जनाएको छ।

३० असोज, काठमाडौं । नेपाली समाजमा तिहारलाई धनकी देवी लक्ष्मीको पूजा, उज्यालो, मिठाई र फूलको पर्वका रूपमा विशेष महत्त्वसाथ मनाइन्छ ।

यस पर्वको आगमनसँगै बजारमा पूजा सामग्री, झिलिमिली बत्ती, मिठाई र विभिन्न प्रकारका फूलको माग ह्वात्तै बढ्छ । लक्ष्मीपूजाका लागि घर सिँगार्ने र धनतेरसका दिन सुनचाँदी खरिद गर्ने परम्पराले पर्वको रौनक थप बढाउँछ ।

तिहारका हरेक दिन गरिने विधिविधानमा फूलको माला अनिवार्य मानिन्छ । विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सयपत्री र मखमली फूलका माला खपत उच्च बिन्दुमा पुग्छ ।

टीका–मालासँगै दाजुभाइलाई दिइने भाइमसलाले यो पर्वलाई अझै विशेष र आत्मीय बनाउँछ । यसरी फूलमालादेखि विविध परिकारका मिठाई, रोटी, झिलिमिली बत्ती र भाइमसलासम्मका लागि ठूलो परिमाणमा सामग्री आवश्यक पर्छ ।

यतिबेला तिहारको माहोल सुरु भइसकेको छ । २ कात्तिकदेखि विधिवत् सुरु हुने यस पर्वको तयारी स्वरूप राजधानीका व्यापारिक केन्द्रहरूमा किनमेल गर्नेको चहलपहल बढ्दै गएको छ ।

न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल, थिमि लगायत उपत्यकाका प्रमुख बजारमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्ने ग्राहकको घुइँचो लाग्न थालिसकेको छ ।

व्यापारीका अनुसार माटोका पाला, विद्युतीय दियो, झिलिमिली बत्ती, सयपत्री फूलका माला, लक्ष्मीपूजाका सामग्री, भाइमसला, ढाकाटोपी, भाँडाकुँडा, लत्ताकपडा र सजावटका सामान किन्ने ग्राहकको भिडले बजार चलायमान भइसकेको छ ।

तर, पर्वको यो भव्यता र सामग्रीको मागका पछाडि एउटा रोचक पक्ष लुकेको छ– तिहारमा प्रयोग हुने अधिकांश सामग्री स्वदेशमा उत्पादन नभई विश्वका विभिन्न देशबाट आयात हुन्छन् ।

भन्सार विभागको तथ्यांकले यो आयातमाथिको ठूलो निर्भरता स्पष्ट पार्छ । तिहारमा भाइमसलामा प्रयोग हुने काजु भारत, कतार, कुवेत, भियतनाम हुँदै साउदी अरबबाट आउँछ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ) मा मात्रै १७ करोड ८० लाख ३० हजार रुपैयाँ बरारबर काजु आयात भएको छ ।

त्यस्तै नरिवल भारतबाट आयात हुन्छ । दुई महिनामा ७ करोड ६६ लाख २० हजार रुपैयाँको नरिवला आयात भएको तथ्यांक भन्सार विभागसँग छ ।

उता, चीनबाट ३७ करोड ६६ लाख ५१ हजार रुपैयाँको किसमिस आयात भएको छ । बदाम (आलमन्ड) अमेरिकाबाट पनि नेपाल भित्रिने गरेको भन्सार विभागको तथ्यांकमा छ ।

तथ्यांक अनुसार २३ करोड ७९ लाख ९० हजार रुपैयाँको बदाम आयात हुँदा २४ करोड ६४ लाख २ हजार रुपैयाँको ओखर चीनबाट आयात भएको छ । यस्तै ४ करोड ६ लाख ६१ हजार रुपैयाँ पिस्ता र ६१ लाख ७४ हजारको छोकडा आयात भएको छ ।

नेपालमा सुपारी उत्पादन भई निर्यात हुने गरे पनि तिहारमा खपत हुने सुपारीको ठूलो हिस्सा इन्डोनेसिया, मलेसिया लगायत देशबाट आयात भएको देखिन्छ । चालु आव दुई महिनामा मात्रै ४७ करोड ९ लाख ३४ हजार बराबरको सुपारी आएको छ ।

यस्तै ल्वाङ मात्रै ३ करोड ४ लाख ६ हजार रुपैयाँको आयात भएको छ भने सुकुमेल ११ करोड ३० लाख २४ हजारको आएको छ ।

अझ चाखलाग्दो त नेपालको वार्षिक व्यापार केही करोडमा सीमित हुने देशहरूबाट समेत तिहारका लागि आवश्यक सामग्री आइपुग्छन् ।

भाइमसलाका सबै सामान विदेशी

काठमाडौं नयाँ बानेश्वरमा तिहारका लागि भाइमसला लगायत सामग्री बेचिरहेका व्यापारी केशव महर्जन भाइमसलामा प्रयोग भएका शतप्रतिशत सामग्री आयातित भएको बताउँछन् ।

उनले मिस्रीसमेत भारतबाट आयात भएको बताए । भन्सार विभागको तथ्यांकले दुई महिनामा ४ करोड ३२ लाख ३२ हजार रुपैयाँको मिस्री आयात भएको देखाउँछ ।

‘भाइमसलामा प्रयोग भएका सबै वस्तु आयातित नै हुन्,’ उनले भने, ‘पहिले सामान्य ल्वाङ, सुकुमेल, सुपारी, पानजस्ता वस्तु दिइने गरिन्थ्यो, अहिले सबै आयातित काजु, बदाम, पिस्ता दिन थालियो ।’

बजारमा सबै व्यापारीले भाइमसला प्याक गरेर मूल्य तोकिसकेका छन् । त्यसको मूल्य पनि फरक छ । महर्जन भने आफूले ७ सय रुपैयाँदेखिको भाइ मसलाको प्याकेट तयार पारेको बताउँछन् ।

उनका अनुसार यस्ता प्याकेट ५ हजारसम्मको बनाउन सकिन्छ । ‘मैले चाहिँ ७ सयबाट सुरु गरेको छु,’ उनले सुनाए, ‘ग्राहकको रोजाइ अनुसार पनि बन्छ, उहाँहरूले कति मूल्यको र कस्तो डिजाइनको तयार पार्ने सोही अनुसार हुन्छ ।’

पाकिस्तानको छोकडा, भारतको मखाना

नेपाल खुद्रा व्यापार संघ महासचिव अमूलकाजी तुलाधर तिहारको चहलपहलमा किनमेल भइरहेका सुक्खा फलफूल (ड्राइफ्रुट्स) तथा अन्य सामग्रीको ठूलो हिस्सा आयातित भएको बताउँछन् ।

उनका अनुसार बदाम, काजुजस्ता सुक्खा फलफूल पहिलेदेखि नै विदेशबाट आउने गरेका हुन् । छोकडा पाकिस्तान र भारतबाट आउने गरेको छ भने मखाना पहिले भारतबाट मात्रै आउँथ्यो, तर अहिले अमेरिकाबाट पनि आउने गर्दछ । नेपालमा सुक्खा फलफूल उत्पादन नगण्य रहेको उनको भनाइ छ ।

‘नेपालमा उत्पादन हुने ओखर जुम्ला लगायत दुर्गम क्षेत्रमा मात्र सीमित छ र त्यो पनि पर्याप्त मात्रामा उत्पादन हुँदैन,’ उनले भने, ‘साथै, यहाँ पाइने हाडे ओखर खाने प्रयोजनका लागि त्यति उपयुक्त मानिँदैन, आजकल चिनियाँ ओखरको आयात बढी हुन्छ ।’

त्यसैगरी तिहारमा प्रयोग हुने फलफूल पनि स्वदेशी उत्पादनले नपुग्ने हुँदा आयात गर्नुपरेको अवस्था छ । स्याउ, आँप, सुन्तला, अंगुर लगायत फलफूल चीनबाट आयात हुन थालेका छन् ।

भन्सार विभागको तथ्यांक केलाउँदा गएको साउन र भदौसम्म २ अर्ब ३ करोड १७ लाख ५२ हजार रुपैयाँको स्याउ आयात भएको छ । यस्तै आँप ३५ करोड ९० लाख ५७ हजार, सुन्तला ३ करोड ९२ लाख ९१ हजार, अंगुर ४ करोड ४९ लाख ३८ हजार रुपैयाँको आयात भएको देखिन्छ । यस्तै कागती तथा अमिलो फलफूल १५ करोड ७१ लाख ५६ हजार रुपैयाँको आयात भएको तथ्यांकमा उल्लेख छ ।

तर, स्वदेशमा उत्पादन नहुँदा तिहारका सामग्री खरिदका लागि ठूलो परिमाण बबराबर स्वदेशी पूँजी विदेशिने गरेको छ ।

चालु आव पहिलो दुई महिनामै ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबर वस्तु नेपालले आयात गरेको छ । यो अघिल्लो आवको तुलनामा १६.२३ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा आयात २ खर्ब ६२ अर्ब ५४ करोडमा सीमित थियो ।

२५ करोडको झिलिमिली बत्ती

उज्यालोको पर्व तिहार नजिकिँदै गर्दा नेपाली बजारमा झिलिमिली बत्ती आयात पनि बढेको छ । केही वर्ष पहिले लक्ष्मीपूजाको अवसरमा घर, पसल र कार्यालय झिलिमिली पार्न परम्परागत माटोका पाला प्रयोग गरिन्थ्यो । तर, केही वर्षयता भने तिनको सट्टा पालाजस्तै देखिने विद्युतीय बत्ती प्रयोग ह्वात्तै बढेको छ । यसरी स्वदेशमै तयार हुने पाला र मैनबत्तीको स्थान विदेशी झिलिमिली बत्तीले लिँदै गएको छ ।

नेपाल विद्युत् व्यवसायी महासंघ अध्यक्ष रमेश देवकोटाले यसपालि करिब २५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको बताए ।

झिलिमिली बत्ती ९० प्रतिशतभन्दा बढी चीनबाट आउँछ । देवकोटाले भारतबाट पनि केही मात्रामा बत्ती आयात हुने गरे पनि तिनको संख्या निकै कम हुने र विशेषगरी सीमावर्ती क्षेत्रमा मात्र सीमित रहने बताए ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?